Logo
१३ बैशाख २०८१, बिहीबार
(January 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घट्दो छ बाँकेमा लागुऔषध सेवन र कारोवारको घटना

बाँके जिल्लामा लागुऔषध सेवन र कारोवारको घटना १३ प्रतिशतले घटेको छ । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाका अनुसार, प्रभावकारी सूचना संयन्त्र, चेकजाँचमा कडाइ, प्रहरी सक्रियता र ब्यूरो कार्यालयको स्थापनाका कारण यसवर्ष ती घटनामा कमी आएको हो ।

जिल्ला खुला सिमाना भएकाले भारत र नेपाल दुबै तर्फबाट लागुऔषध प्रयोगकर्ता र कारोवारी बढ्दै जान थालेपछि यसको रोकथामका लागि प्रहरीले संरचनागत व्यवस्थासहित आफ्नो सक्रियता बढाएको हो ।

खुला सिमानाका कारण भारतबाट ब्राउनसुगर, कोरेक्स, नाइट्रोजेपाम ट्याब्लेटलगायतका लागुऔषध नेपालमा भित्रिने र नेपालबाट गाँजा र चरेस लगायतको लागुऔषध भारतमा जाने गरेको जनाइएको छ ।

विशेषतः सीमा नाकामा दुबै मुलुकका प्रहरीले कडाइ गरेपछि अहिले लागुऔषधको कारोवार घटेको उनले बताए ।

जिल्लामा अहिले ठूलो परिणामको लागुऔषधको कारोबार घटे पनि सानो परिणाममा लागुऔषध ओसारपोसार भइरहेको प्रहरी निरीक्षक थापाले बताए । चालु आर्थिक वर्षको ६ महिनामा जिल्ला प्रहरी कार्यालयले १६३ जना लागुऔषध प्रयोगर्तालाई कारवाही गरेको छ ।

बाँके जिल्ला कारागारमा मात्र अहिले करीब २०० बढी कैदी लागुऔषध मुद्दाकै रहेको जनाइएको छ ।

लागुऔषधको कुलतमा फसेकाहरुको उपचारका लागि बाँकेमा सात वटा पुनःस्थापन केन्द्र खोलिएका छन् ।

लागुऔषधको क्षेत्रमा काम गर्ने सङ्घ संस्थाका अनुसार जिल्लामा झण्डै एक हजार बढी प्रयोगकर्ता छन् ।

लागुऔषध प्रयोगकर्ताको पुनःस्थापना गरेर समस्या समाधान गर्नुपर्ने लागुऔषध विरुद्धका अभियन्ता अभिराज क्षेत्रीको सुझाव छ ।

कानूनले लागुऔषधको सेवन र कारोवारलाई अपराध मानेको छ । लागुऔषध प्रयोगकर्ता तथा ओसारपोसारकर्तालाई लागुऔषध परिणामको कसुर हेरेर जन्मकैदसम्मको सजायको व्यवस्था गरेको अधिवक्ता वसन्त गौतमले बताए ।

प्रकाशित मिति: Jan 21, 2020

प्रतिक्रिया दिनुहोस्