Logo
८ बैशाख २०८१, शनिबार
(January 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सम्वादहीनता तोड्दै ओली प्रचण्डबीचको वान टु वान वार्ता – सभामुखको टुंगो आज लाग्ने

सत्तारुढ दल नेकपाका दुई अध्यक्ष सभामुख चयनको आन्तरिक छलफलमा फेरि जुटेका छन्। गत आइतबार यताको सम्वादहीनता तोड्दै बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षले सकारात्मक छलफल गरेको दाहालको निजी सचिवालयले जनाएको छ।

प्रधानमन्त्री निवासमै दुई अध्यक्ष, महासचिव र सचिवालय सदस्य समेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आइतबार उपसभामुख डा।शिवमाया तुम्बाहाङफेसँग राजीनामाका विषयमा छलफल गरेयता दाहाल बालुवाटार गएका थिएनन्।

 

शनिबार नेकपा सचिवालय बैठकले तुम्बाहाङफेलाई उपसभामुख पदबाट राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको थियो। तर तुम्बाहाङफेले सभामुख उम्मेदवार चयन नगरेसम्म आफूले पदबाट राजीनामा नदिने अडान लिएपछि दुई अध्यक्ष बिहीबार सभामुख उम्मेदवार चयनकै विषयमा केन्द्रित रहेर छलफलमा बसेका थिए।

दुई अध्यक्ष छलफलमा बस्नु अगाडि प्रधानमन्त्री ओलीले बालुवाटारमै पार्टी महासचिव विष्णु पौडेल, सचिवालय सदस्य पोखरेल र नेता सुवास नेम्बाङसँग आन्तरिक छलफल गरेका थिए। उता दाहालले पनि खुमलटार निवासमै गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा, नेताहरू अग्नि सापकोटा, हरिबोल गजुरेल, जर्नादन शर्मालगायतसँग छलफल गरेका थिए।

 

नेकपाभित्र सभामुख पार्टी एकतापूर्वको भागबन्डाका आधारमा पूर्वमाओवादी तर्फकालाई नै दिने÷नदिनेमा विवाद थियो। ओली सकभर नेम्बाङ नभएर अहिलेकै उपसभामुख तुम्बाहाङफेलाई सभामुख बनाउन चाहिरहेका थिए। तर दाहाल पार्टीको एकता महाधिवेशनसम्म विगतको भागबन्डा कायम रहेको भन्दै सभामुख छाड्न नसक्ने अडानमा थिए। यसैका कारण नेकपाभित्र सभामुख चयन दुई अध्यक्षबीचमै पेचिलो बन्दै आएको थियो।

‘बिहीबारको छलफल सकारात्मक रहेको रिपोर्टिङ हामीलाई गर्नुभएको छ, अरु छलफल कसरी भएका छन् वन अन वन छलफल भएकाले थाहा हुन सकेन,’ दाहालका प्रेस संयोजक विष्णु सापकोटा ९जुगल०ले बताए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि दुई अध्यक्षबीच छलफल भएको तर विषय भने आफूहरूलाई जानकारी हुन नसकेको बताए।

बिहीबार सकारात्मक छलफल गरेका दुई अध्यक्षले शुक्रबार पनि थप छलफल गर्ने तयारी गरेका छन्। त्यसपछि सचिवालय बैठक बोलाइ ६ माघ अगाडि नै पार्टीका तर्फबाट सभामुखको उम्मेदवार चयन गरिसक्ने तयारीमा दुवै अध्यक्ष गम्भिरतापूर्वक लागेको बालुवाटार स्रोतले बतायो।

संसद्मा झन्डै दुई तिहाइनजिक रहेको नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसक्दा संसद् बैठक एक महिनादेखि बन्धक बन्दै आएको छ। संसद् बैठक अब ६ माघका लागि डाकिएको छ। पार्टीले उम्मेदवार चयन गरे उपसभामुख तुम्बाहाङफेले सोही दिन पदबाट राजीनामा दिने बताइरहेकी छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकाशित मिति: Jan 17, 2020

प्रतिक्रिया दिनुहोस्