Logo
१५ चैत्र २०८०, बिहीबार
(January 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौँकै धरहराको झझल्को दिने पोखरा महोत्सव धरहरा

धरहरा भन्नासाथ प्रत्येकको मन मस्तिष्कमा काठमाडौँको सुन्धाराकै धरहराको झझल्को आउँछ । गोर्खा भूकम्पका कारण क्षतिग्रस्त त्यो धरहरा पुनःनिर्माण भइसकेको छैन । तर, पोखराको लागि भने धरहरा नौलो कुरा हो ।

भूकम्प पश्चात सबैको चासो र चर्चामा रहेको धरहराको अनुभव गराउने उद्देश्यले युनाइटेड क्लबको आयोजनामा पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा धरहरा ठड्याइएको छ ।

महोत्सवका सहभागीका लागि यतिखेर धरहरा नौलो आकर्षण जस्तै बनेको छ । त्यसैले होला पोखरा महोत्सव हेर्न पुगेका गगनगौंडाका हरिप्रसाद सुवेदीलाई धरहरा देख्दा निकै रमाइलो लाग्यो ।

भूकम्पअघि आफूलाई मन लागेर पनि काठमाडौँमा घरहरा चढ्ने मौका नमिलेको बताउँदै उनले सक्कली नभए पनि पोखरामा चढेर अनुभव लिएको सुनाए । उनले भने, “ महोत्सवमा धरहरा राखिनुले यहाँ आउने जो कोहीले यसबारे चढेर अनुभव लिन सक्नेछन् ।”

महोत्सवका सहभागीलाई काठमाडाँैकै धरहराको झझल्को दिने गरी ४० फिट अग्लो ६ तलाको धरहरा आठ लाखमा एसके साउन्डले निर्माण गरेको हो । धरहराबाट महोत्सवको मञ्च, दर्शक, गतिविधि, अमरसिंह चोक र आसपासको क्षेत्र नियाल्न सकिन्छ ।

बुधबार मात्रै सञ्चालनमा ल्याइएकोले पहिलो दिनमा एक हजार दुई सयले चढेर अनुभव लिएको एसके साउन्डका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए । धरहरा चढ्न दर्शकले प्रति टिकट ६० रुपैयाँ तिर्नुपर्छ भने ७० वर्ष माथिका र सात वर्ष मुनिकालाई प्रवेश निःशुल्क गरिएको छ ।

पोखराको काँहुमा रहेको सामान्य धरहराबाट पोखरा हिमाल र रमणीय बजारको अवलोकन गर्न सकिन्छ । यहाँको उपत्यकाभित्र अन्य ठाउँमा नरहेको र पर्यटकीय नगरीमा एउटा आवश्यक छ है भन्ने सन्देश दिन महोत्सवस्थलमा धरहरा ठड्याइएको गुरुङले बताए ।

“महोत्सवका सहभागीलाई धरहराबारे जानकारी र अनुभव गराउनु मात्र नभइ पर्यटकीय नगरीमा यसको आवश्यकता बोध गराउन सम्बद्ध सबैलाई ध्यानाकर्षण गराउन यो बनाइएको हो,” उनले भने ।

युनाइटेड क्लबले अमरसिंह चौरमा गर्दै आएको महोत्सवमा प्रत्येक वर्ष नयाँ–नयाँ किसिमका गतिविधि समेटिएको क्लबका पूर्व अध्यक्ष एवं अतिथि व्यवस्थापन समितिका संयोजक हिमालय बख्रेलले बताए ।

प्रत्येक वर्ष थपिने नयाँ गतिविधि अन्तर्गत यसवर्ष सञ्चालित दशौं संस्करणमा धरहरा चढ्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

महोत्सवकै अवसरमा प्रत्येक वर्ष कहिले बसमा निःशुल्क चिडियाखानाको अवलोकन, कहिले हात्ती तथा कहिले उँट सवार गर्ने व्यवस्था मिलाइएको छ ।

महोत्सवका माध्यमबाट क्लबले सामाजिक काममा अग्रसरता देखाउँदै अघि बढेको बताउँदै क्लबका अध्यक्ष लालकाजी गुरुङले वर्षेनी महोत्सवमा दर्शकलाई फरक–फरक शैलीबाट मनोरञ्जन प्रदान गर्दै आएको बताए ।

प्रकाशित मिति: Jan 16, 2020

प्रतिक्रिया दिनुहोस्