Logo
६ बैशाख २०८१, बिहीबार
(January 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

योजनाबद्ध रूपमा टिपरबाट किचेर हत्या गराएको आरोपमा क्रसर उद्योगी विपिन महतो पक्राउ

प्रदेश २ स्थित अवैध बालुवा गिट्टी उत्खनन विरुद्धका अभियानी युवा धनुषा जिल्ला मिथिला नगरपालिका ५ श्रीपुर निवासी २४ वर्षीय ओमप्रकाश महतो (दिलिप)लाई टिपरबाट किचेर हत्या गराएको आरोपमा क्रसर उद्योगी विपिन महतोलाई प्रहरीले पक्राउ गरेको छ ।

विगत २ वर्षदेखि समाजमा रहेका बेथिति बिरुद्ध आवाज उठाउने अभियानीको रुपमा परिचित थिए । मृतकका आफन्तजन र स्थानीयको आरोपमा धनुषा प्रहरीले फरार रहेका ढल्केवर स्थित चुरियामाई बालुवा गिट्टी प्रशोधन केन्द्रका संचालक विपिन महतोलाई शनिवार करीब बिहान १० बजे जनकपुरधाम १ भानु चौकबाट पक्राउ गरेको हो ।

दिलिप कुमार महतो

विपिनलाई जनकपुरमा आफन्तको घरमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुनषाका एसपी रमेशकुमार बस्नेतले पुष्टि गरे। एसपी बस्नेतले भने, ‘अब अनुसन्धान प्रकृया अगाडि बढाउन सजिलो हुन्छ।’

शुक्रबार एकाबिहानै ४ बजेको समयमा औरही खोलामा बालुवा गिट्टीको अवैध उत्खनन गर्न पुगेका ओमप्रकाशको ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर हत्या गराइएको थियो ।

घटना लगतै प्रहरीले टिपर नियन्त्रणमा लिएको थियो भने दिउंसो करीब १ बजेतिर नै टिपर चालक मुनिन्द्र महतोलाई पक्राउ गरिसकेको छ ।

छोरालाई ईन्जिनीयर बनाउने सपना देखेका ओमप्रकाशकी आमा चन्द्रकला देवी घटना पश्चात अहिलेसम्म बेहोसी अवस्थामै छिन । बुवा दिलिप पनि स्तब्ध छन । परिवारका कुनैपनि सदस्य बोल्न सक्ने अवस्थामा छैन ।

ओमप्रकाश बालुवा गिट्टीको अवैध उत्खनन विरुद्ध अभियान चलाएको हुँदा क्रसर उद्योगीहरुका लागि आँखाको कसिंगर बनेपछि आफ्नो सहजताका लागि हत्या गरिएको ओमप्रकाशकी बहिनी लक्ष्मी कुमारी महतोले नेपाल लाइभसँग कुरा गर्दै भनिन ।

क्रसर उद्योगी विपिन महतोले दाईलाइ पटक पटक फोन गर्दै धम्की दिंदै आएको थियो मेरो काममा अवरुद्ध नगर भनेर, तर दाई आफ्नो अभियान विरुद्ध पछि हटेनन् । त्यसको परिणाम आज उहाँलाई ज्यान गुमाउनु परेको छ ।

लक्ष्मीले भनिन्, ‘उद्योगी विपिनले दिदै आएको धाक धम्की बारे स्थानीय प्रशासनलाई जानकारी गराउंदा समेत कुनै चासो लिएनन्, जनप्रतिनिधिहरुसँग समेत अवैध उत्खनन रोक्न दाईले दबाव दिदै आएको थियो ।

तर जनप्रतिनिधिहरु त्यसतर्फ सजग नभई अनाहकको काम नलाग्न सुझाव दिदै आएको थियो ।’ उनले आफ्नो दाईको हत्या उद्योगी विपिन, स्थानीय प्रशासन, स्थानीय जनप्रतिनिधि, नगर प्रमुखको मिलिभगत रहेको आरोप लगाएकी छिन ।

यता ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रमुख रामकुमार यादवका अनुसार पिडीत परिवारले हालसम्म जाहेरी नदिएको कारण पोष्टमार्टम हुन नसकेको बताए ।

उनलाइ मुचुल्का बिना नै किन शव उठाइयो भनि जिज्ञासा राख्दा यादवले भने , ‘घटनाको अवस्था स्थानीयमा आक्रोशको रहेको हुँदा लासको राजनीति हुन सक्ने र विवाद बढन जान्छ कि भनेर शव उठाइएको हो ।’

प्रकाशित मिति: Jan 11, 2020

प्रतिक्रिया दिनुहोस्