Logo
७ बैशाख २०८१, शुक्रबार
(January 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भूकम्पबाट क्षतिग्रस्त ४ स्वास्थ्यचौकीको पुनःनिर्माण

सिन्धुली जिल्लामा २०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पनले क्षति पु¥याएका स्वास्थ चौकीको अझै पुनःनिर्माण हुन सकेको छैन ।

भूकम्पले क्षति पु¥याएको चार वर्ष बितिसक्दासमेत धेरै स्वास्थ्य संस्थाको पुनःनिर्माण हुने वा नहुने भन्ने अन्योल कायमै छ ।

भूकम्पको क्षतिपछि पुनःनिर्माण गर्नुपर्ने १२ स्वास्थ चौकीमध्ये हाल चारवटा मात्रको पुनःनिर्माण भइरहेको छ ।

घ्याङ्लेख गाउँपालिका-५ शान्तेश्वरीमा रहेको शान्तेश्वरी स्वास्थ चौकी, भीमस्थान स्वास्थ चौकी कोटगाउँ, आम्बोटे स्वास्थ चौकी र सुनकोशी गाउँपालिका पुरानो झागाझोली स्वास्थ चौकीको निर्माण कार्य भइरहेको छ ।

पुनःनिर्माण भइरहेको स्वास्थ चौकीमध्ये भीमस्थान हेल्थपोष्ट कोटगाउँ र पुरानो झागाझोली स्वास्थ चौकीको ४५ प्रतिशत निर्माण कार्य सकिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ भवन सिन्धुलीले जनाएको छ ।

दुई वटा स्वास्थ चौकीको यही चैतमा निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने लक्ष्य लिएको छ ।

शान्तेश्वरी र आम्बोटे स्वास्थ चौकीको ३५ प्रतिशत निर्माण कार्य भएको र २०७७ असोजसम्ममा निर्माण हुने जिल्ला आयोजना कार्यान्वयन एकाइ भवन सिन्धुलीका सवइञ्जिनीयर विदुर खतिवडाले जानकारी दिए ।

सिन्धुलीमा भूकम्पले क्षति पु¥याएका तामाजोर स्वास्थ चौकी, अमले स्वास्थ चौकी, रतनचुरा स्वास्थ चौकी, वितिजोर स्वास्थ चौकी, तीनकन्या स्वास्थ चौकी, जिनाखु स्वास्थ चौकी, खोलागाउँ स्वास्थ चौकी र हरिहरपुरगढी स्वास्थ चौकीको पुनःनिर्माण अझै अन्योल रहेको छ ।

यी स्वास्थ चौकीको निर्माण गर्ने आर्थिक स्रोत सुनिश्चित हुन नसक्दा अझै पुनःनिर्माण हुन सकेको छैन । स्वास्थ चौकीको भवन नहुँदा स्वास्थ्योपचार सेवासमेत प्रभावित भएको छ ।

यसैबीच भूकम्पका कारण क्षति पुगेका सरकारी कार्यालय र मर्मत गरी सञ्चालन गर्नसक्ने कृषि ज्ञान केन्द्र, कन्दमूल तरकारी विकास केन्द्र सिन्धुली, प्रमुख जिल्ला अधिकारीको निवास मर्मत गरी हस्तान्तरण गरिएको छ ।

यस्तै पुनःनिर्माण गर्नुपर्ने सरकारी कार्यालयमध्ये प्रमुख जिल्ला अधिकारीको निवास, भू-संरक्षण कार्यालय सिन्धुली, सिँचाइ डिभिजन र वन डिभिजन सिन्धुलीको भवन निर्माण सम्पन्न गरी सम्बन्धित कार्यालयलाई हस्तान्तरण गरिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ भवन सिन्धुलीले जनाएको छ ।

हाल निर्माण भइरहेका सरकारी वकिलको कार्यालय, शहरी विकास, हुलाक कार्यालय र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको भवन निर्माणको अन्तिम चरणमा रहेको छ ।

सिन्धुलीमा भवन निर्माण गरिए पनि भू-संरक्षण, खानेपानी डिभिजन कार्यालय भने सिन्धुलीबाट अन्यत्रै लगिएको छ ।

प्रकाशित मिति: Jan 10, 2020

प्रतिक्रिया दिनुहोस्