Logo
८ बैशाख २०८१, शनिबार
(January 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शुल्क वृद्धिको विरोधमा मकवानपुर क्याम्पसका स्ववियु रिले अनशनमा

मकवानपुर बहुमुखी क्याम्पसमा ३ दिनअघि विद्यार्थी सङ्गठनहरूले लगाएको ताला अझैसम्म खोलिएको छैन ।

क्याम्पस सञ्चालक समितिको बैठकले एकै पटक सतप्रतिशत शुल्क वृद्धि गरेपछि विरोध गर्दै विद्यार्थी सङ्गठनहरूले क्याम्पसमा ताला लगाएका थिए ।

समितिले वृद्धि गरेको शुल्क फिर्ता गर्न माग गर्दै क्याम्पसको प्रशासन शाखा, सहायक क्याम्पस प्रमुखको कार्यकक्ष र स्टाफ कक्षमा गत मङ्गलबार ताला लगाएका हुन् ।

क्याम्पसमा ताला लागेपछि पठनपाठन आंशिक रूपमा प्रभावित भएको छ । माग सम्बोधनका लागि दबाब दिन विद्यार्थी नेताहरू रिले अनशनमा छन् ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मकवानपुर बहुमुखी क्याम्पसका सभापति कुमार केसी, अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष एम.बी. बस्नेत र अनेरास्ववियु क्रान्तिकारी क्याम्पस कमिटी अध्यक्ष रामकृष्ण शिवाकोटी रिले अनशनमा बसेका हुन् ।

उनीहरूले समितिले वृद्धि गरेको शुल्क फिर्ता नभएसम्म अनशन जारी रहने बताएका छन् । पुस २० गते बसेको क्याम्पस सञ्चालक समितिको बैठकले शुल्क वृद्धिको निर्णय गरेको थियो ।

बैठकले मासिक तथा भर्ना शुल्कमा ६५ प्रतिशत शुल्क, प्रत्येक वर्ष शुल्कमा ५ प्रतिशत स्वतः वृद्धि हुने र क्याम्पस प्रवेश शुल्कमा सतप्रतिशत वृद्धि निर्णय गरेको थियो ।

विभिन्न शुल्क वृद्धि गर्नुको कारण क्याम्पस घाटामा गएको क्याम्पस प्रशासनले जनाएको छ ।

यद्यपि, क्याम्पस सञ्चालक समितिले शुल्क वृद्धि गरेर प्राध्यापकहरूको मासिक तलब वृद्धि गरिएकोले समितिको निर्णय मान्य नहुने क्याम्पसका स्ववियु सभापति केसी बताए ।

क्याम्पस सञ्चालक समिति अध्यक्ष अनन्त पौडेलले आन्दोलनरत विद्यार्थीहरूसँग छिट्टै वार्ता गरेर समस्या समाधान गरिने बताए ।

‘पठनपाठन आंशिक रूपमा अवरुद्ध भएको छ ।विद्यार्थीको मागप्रति हामी सचेत छौं,’ अध्यक्ष पौडेलले भने, ‘हाम्रो बाध्यता पनि बुझ्नु र्पयो ।’

विगत ९ वर्ष यता क्याम्पसमा विद्यार्थी भर्ना शुल्कमा वृद्धि नभएको तर सरकारले तोकेको सेवा सुविधा प्राध्यापक र कर्मचारीलाई दिनु पर्ने हुँदा क्याम्पस झण्डै साढे चार करोड रूपैयाँ घाटामा गएकोले शुल्क वृद्धि गर्नुपर्ने अवस्था आएको अध्यक्ष पौडेलले बताए ।

क्याम्पसमा करिब साढे चार हजार विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति: Jan 9, 2020

प्रतिक्रिया दिनुहोस्