Logo
८ बैशाख २०८१, शनिबार
(January 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ को बिहारी रूप : प्रशासकीय अधिकृतलाई सांसद यादवबाट ज्यान मार्ने धम्की (अडियोसहित)

त्यसो त प्रदेश २ लाई नेपालको बिहार भनिन्छ । अर्थाथ भारतको बिहारमा हुने गरेका रवैयाहरु नेपालको प्रदेश २ मा हुने गरेका हुन्छन् । कहिले मन्त्रीले सचिव कुट्ने त कहिले सांसदले मन्त्री कुट्ने लगायतका कार्य उँही प्रदेश २ मा हुने गरिएको छ ।

पछिल्लो समय अब धम्काधम्कीको खेल सुरु भएको छ प्रदेश २ स्थित सर्लाही जिल्लामा । जहाँ यादव जातका सांसदले कुशवाहा (कोइरी) जातका प्रशासकीय अधिकृतलाई जातीय रुवाफ सहित ज्यान मार्नेसम्मको धम्की दिएका हुन् ।

कतिपय हिन्दी फिल्महरुमा देखिने ऐमेले आंतक झै यतिबेला प्रदेश २ को सर्लाहीमा एक जना प्रदेश सांसदले आतंक मच्चाएका छन् । सर्लाही क्षेत्र नम्बर ३ प्रदेश (ख) का प्रदेश सभा सदस्य सञ्जय यादवले कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार महतोलाई ज्यान मार्ने धम्की दिएपछि एक सातादेखि कामकाज ठप्प भएको छ।

प्रमुख प्रशासकीय अधिकृत

सदस्य यादवले आफूअनुकूलको काम नगरेकाले आफूलाई पटकपटक ज्यान मार्ने धम्की दिँदैं आएको प्रमुख प्रशासकीय अधिकृत महतोले आरोप लगाए।

आफूले स्थानीय सरकार सञ्चालान ऐन, २०७४ अनुसार नगर कार्यपालिकाले नगरसभाबाट अनुमोदन गरेको योजना कार्यान्वयन गर्न खोज्दा प्रदेशसभा सदस्य यादवले धम्काउने गरेकाले आफू त्यस ठाउँमा बसेर काम गर्न नसकेको महतोको भनाइ छ।

नगरपालिकामा बसेर काम गर्ने वातावरण नभएकाले सरुवाका लागि उनी अहिले संघीय राजधानी काठमाडौंमा छन्। सरुवाको माग गर्दै महतो राजधानी पुगेपछि नगपालिकाका सम्पूर्ण कामकाज ठप्प हुनाको साथै विकासका योजना प्रभावित भएका छन्।

उता सदस्य यादवले उक्त नगरपालिकाका प्रमुख कौशल किशोर राय र प्रमुख प्रशासकीय अधिकृत महतो मिलेर व्यापक अनियमितता र भ्रष्टाचार गरेको आरोप लगाए।

उनले भने– ‘कविलासी नगरपालिकामा भ्रष्टाचार र अनियमितताका कारण कालो सूचीमा परेको छ, मैले हाकिम र नगर प्रमुखलाई पटकपटक हिसाब देखाउनु भने, उनीहरूले देखाएनन्, हाकिमले सरुवा मागेपछि मैले हिसाब नदेखाइ जहाँ गए पनि तपाइँलाई मुन्ट्यार ल्याउछु भनेको हो, अरू कुरा हाकिम आफैंले गलत प्रचार गरेका हुन्।

सुन्नुहोस् अडियो :

अडियो सौजन्य : मिथिलाञ्चल एफएम

यस्तो छ घट्नाक्रम :

प्रदेश सांसदकै डरत्रासले गर्दा कर्मचारीले सहज रूपमा कार्यसम्पादन गर्न नसकेको र नगरपालिकाको कामकाज प्रभावित भइरहेको मेयर कौशलकिशोर यादवले बताए।

नगरपालिकामा प्रदेश सांसदकै भाउजु पर्ने राधादेवी यादव उपप्रमुख छिन्। आफ्नो निर्देशन नमानेको भन्दै २०७५ जेठमा प्रमुख प्रशासकीय अधिकृत नवीन श्रीवास्तवलाई प्रदेश सांसद यादवलगायतले नगरपालिकामै पुगेर गालीगलौज गर्नुका साथै, ज्यानमार्ने धम्की दिँदै कुटपिट गरेका थिए।

सर्लाही जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय छलफल गरी त्यो काण्ड सल्टाइएको थियो। त्यसपछि प्रमुख प्रशासकीय अधिकृतका रूपमा रहेका श्रीवास्तव यहाँ काम गर्न नसक्ने भन्दै सरुवा गराएर अन्तै गएका थिए।

श्रीवास्तव गएपछि कार्यालयकै नायव सुब्बा गोपालसिंह घलेले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाए। प्रदेश सांसद यादवले उनलाई पनि पटकपटक आफ्नो निर्देशनमा काम गर्न धम्क्याए।

त्यस क्रममा सांसद यादवले निमित्त प्रशासकीय अधिकृत घलेलाई नगरपालिकामै गएर गालीगलौज गर्दै हातखुट्टा काटिदिने धम्की दिए। त्यसपछि डरले उनी २ महिना बिदा बसे।

त्यसपछि प्रमुख प्रशासकीय अधिकृतका रूपमा रामप्रसाद सापकोटा गए। तर उनी पनि प्रदेश सांसद यादवकै त्रासले यहाँ काम गर्न नसक्ने भन्दै गएको २ दिनमै सरुवा गराएर अन्त गए।

नगरपालिकामा २०७५ माघ २३ मा प्रमुख प्रशासकीय अधिकृतका रूपमा हाजिर भएका रामकुमार महतोलाई पनि प्रदेश सांसद यादवले पटकपटक ज्यानमार्नेसम्मको धम्की दिएको खुलेको छ।

सांसद यादवले आफूले भनेअनुसार काम गर्न र कमिसन दिन पटकपटक ज्यानमार्नेसम्मको धम्की दिएको भन्दै प्रशासकीय अधिकृत महतोले प्रशासन गुहारेका छन्। शान्ति सुरक्षा र न्याय माग गर्दै उनले गत पुस ८ गते जिल्ला प्रशासन कार्यालयमा सर्लाहीमा उजुरी दिएका हुन्।

‘म कार्यालयमा हाजिर भएपछि माननीय सञ्जय यादवले मलाई फोन गरी तपाईं कविलासी आउनुभएको छ, मेरो निर्देशनमा काम गर्नू। यसभन्दा अघि मेरो कुरा नमान्ने अधिकृतको नाकको हड्डी भाँचेको छु।

सिडियोको दाँत भाँचेको छु। एसपीलाई छाडेको छैन।’ जस्ता कुरा गरी सुरुमै मलाई धम्की दिए,’ प्रमुख प्रशासकीय अधिकत महतोले भने।

गएको जेठमा पनि नगरपालिकाको नगरसभा गर्ने तयारीमा रहेका बेला प्रदेश सांसद यादवले आफूलाई फोन गरेर ‘तेरो शरीर चाहिँदैन, सभामा आइज’ भन्दै ज्यानमार्ने धम्की दिएपछि आफूले सीडीओ गुहारकोे उनले सुनाए।

उक्त धम्कीको अंश आफूसँग सुरक्षित रहेको महतोले प्रशासनमा दिएको निवेदनमा खुलाएका छन्। कार्यालयमा लेखापाल कर्मचारी हेरफेर प्रदेश सांसद यादवले नै गराएका कारण लेखापरीक्षण हुन नसकेको कार्यालयले जनाएको छ।

प्रदेश सांसद यादवले हरहिसाब माग्दा नगरपालिकाले बैंकको स्टेटमेन्टसमेत उपलब्ध गराएको थियो भने कार्यालयकमै पुगेर उनले सबै श्रेस्ता पल्टाएर हेरेको निवेदनमा उल्लेख छ।

‘पुस ७ गते राति ९८५११६३२१० नम्बरबाट फेरि फोन गरेर माननीय सञ्जय यादवजीले कडा रवाफमा खोई हरहिसाब, आर्थिक वर्ष बितेको कति महिना भइसक्यो भनेपछि मैले माननीय ज्यूलाई भनें, ‘हजुरले कर्मचारी परिवर्तन गरदिनुभयो, त्यसैले हरहिसाबका विवरणहरू तयार भएको छैन। यति भेनेपछि उहाँ आक्रोशित हुँदै धम्काउनुभयो– तलाई कागजको हिसाब भनेको हुँ मैले।

मैले विनम्र भएर जवाफ फर्काएँ-माननीय ज्यू, हिसाब कागजमै हुन्छ। गलत काम गरेर, पैसा उठाएर हजुरलाई दिन असमर्थ छु, कृपया यस्ता अपेक्षा नगर्नुहोस्। यति भनेपछि फेरि माननीयज्यूले कडा स्वरमा ‘साला तँ अहिले नै यहाँबाट गइहाल्। नत्र तलाई भोलि अफिसमै दुर्दशा गर्छु भन्दै नानाथरी धम्की दिनुभयो’ प्रशासकीय अधिकृत महतोले गुनासो गरे।

नगरपालिकाकी उपप्रमुख राधादेवीका पति तथा प्रदेश सांसद सञ्जय यादवका दाइ श्रीनारायण यादवले समेत सधैं कार्यालयमा गएर कर्मचारीलाई धम्क्याएकाले नगरपालिकामा काम गर्न निकै गाह्रो भएको र आफू प्रदेश सांसदको दादागिरीले असुरक्षित भएकाले सरुवा गराएर अन्तै जाने मनस्थितिमा रहेको प्रशासकीय अधिकृत महतोको भनाइ छ।

प्रदेश सांसद यादव लाइसेन्सवाला गुण्डा : नगरप्रमुख
मेयर कौशलकिशोर यादवले प्रदेश सांसद सञ्जय यादवको डरत्रासले कर्मचारीहरू सहज रूपमा काम गर्न नसक्दा सुरुदेखि नै नगरपालिकाको कामकाज प्रभावित भइरहेको पुष्टि गरे।

‘एकजना मात्र होइन, सबै प्रशासकीयसँग प्रदेश सांसद यादव यस्तै गुण्डागर्दी व्यवहार गर्छन्। प्रशासकीय अधिकृत रामकुमारजीसँग भएको यो तेस्रोपटक घटना हो,’ मेयर यादवले भने, ‘ प्रदेश सांसद सञ्जयलाई लाइसेन्सप्राप्त गुण्डाभन्दा कुनै फरक पर्दैन।

सिडिओ साहेबको अगाडि बसेर सांसदसँग कुरा भएको थियो। केही कुनै समस्या छ भने म मेयर छु, मलाई भन्नुस् न भनेको थिएँ, तर उनी त्यसो गर्दैनन्, कर्मचारीलाई कुटपिट गर्ने र धम्की दिने गर्छन्,’ उनले सुनाए।

कानुनी राज्यमा विधि र प्रकृयाअनुसार चल्नुपर्नेमा नीति निर्माता प्रदेश सांसद भएर पनि गुण्डागर्दी शैलीमा प्रस्तुत हुने गरेको सुनाउँदै उनले भने, ‘अरू पनि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभा सांसद छन्, तर सञ्जय मात्र यस्ता प्रदेश सांसद हुन्, जसले विधि प्रक्रिया बुझ्दैनन्। गुण्डागर्दी शैलीमा प्रस्तुत हुन्छन्। हाम्रो नगरपालिकाको काम उनैका कारण सुरुदेखि नै प्रभावित भइरहेको छ।’

शान्ति-सुरक्षाकाे व्यवस्था गरदिएको छु : सीडीओ
प्रदेश सांसद यादवको धम्कीले असुरक्षित भएको भन्दै सर्लाहीको कविलासी नगरपालिाकका प्रमुख प्रशासकीय अधिकृत रामकुमार महतोले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपछि प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले शान्ति सुरक्षाको व्यवस्था गरिएको दाबी गरेका छन्।

‘प्रशासकीय अधिकृतले हामीसँग शान्ति सुरक्षा माग गर्नुभएको छ। हामीले शान्ति–सुरक्षा व्यवस्था गरिदिएका छौं,’ प्रमुख जिल्ला अधिकारी जिसीले भने।

गल्हत्याएर हिसाब लिन्छु : प्रदेश सांसद यदव
प्रदेश सांसद यादवले भने आफू यसै क्षेत्रबाट निर्वाचित भएकाले नगरपालिकाको हालत खराब बनाउनेहरूलाई त्यसै नछाड्ने चेतावनी दिएका छन्।

‘नगरपालिकाको फर्निचर खरिदलगायत सुरुदेखिकै हरहिसाब अहिलेसम्म दिएको छैन। केही कुराभन्दा प्रमुख प्रशासकीय अधिकृत भन्छन्– ‘मेयरमार्फत आउनुस्।

त्यसपछि मैले भनें- म पनि यहींबाट निर्वाचित प्रतिनिधि हुँ। जनताको पैसाको हरहिसाब दिँदैनौं भने जनताको बीचमा गलहत्याएर हिसाब लिन्छु,’ प्रदेश सांसद यादवको भनाइ छ।

यसअघिका प्रमुख प्रशासकीय अधिकृतले हरहिसाब नदिँदा, उपमेयरको अधिकार हनन गर्दा, नगरपालिकाको बहुमत नमान्दा कारबाही गरिएको प्रदेश सांसद यादवको दाबी छ।

कविलासी नगरपालिकामा मेयर राजपा नेपालबाट निर्वाचित छन् भने उपमेयरसहित ४ जना वडाअध्यक्ष फोरमबाट निर्वाचित छन्। ‘नगरपालिकामा हाम्रो फोरमको बहुमतछ।

म पनि यहाँको निर्वाचित प्रतिनिधि। बहुमतलाई पेलेर मनपरी गरेका छन्। बल्याक लिस्टेड गरेका छन्, म चुप लागेर बस्दिनँ,’ प्रदेश सांसद यादवले भने।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार महतोको निवेदन : 

प्रकाशित मिति: Jan 5, 2020

प्रतिक्रिया दिनुहोस्