Logo
७ बैशाख २०८१, शुक्रबार
(January 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै रुपा गाउँपालिका

‘विकास र समृद्धि’को नारा बोकेको कास्कीको रुपा गाउँपालिकाले स्थानीयवासीको जीवनस्तर परिवर्तन केन्द्रित कार्यक्रमलाई जोड दिँदै आएको छ ।

गाउँपालिकाले स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गरी स्थानीय श्रमलाई आर्थिक रुपान्तरणमा जोड दिने उद्देश्य गाउँपालिकाको रहेको गाउँपालिका प्रमुख नवराज ओझाले बताउनुभयो । केही समयअघि बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई स्थानीय उत्पादन ‘ठेकी’ उपहार दिएर चर्चामा आएको रुपा गाउँपालिकाले विशेषगरी स्थानीयवासीको जीवनस्तरमा गुणात्मक विकासका लागि कृषिलाई विशेष जोड दिएर कार्यक्रम गर्दै आएको छ ।

‘एक गाउँ एक उत्पादन’ भन्दै पकेट क्षेत्र बनाएर काम गरेको प्रमुख ओझाले बताउनुभयो । “हाम्रो एक मात्र उद्देश्य स्थानीयवासीको जीवनस्तरमा गुणात्मक परिवर्तनका लागि आत्मनिर्भर बनाउने हो । हामी सफल हुँदै गएका छाँै ।” शिक्षा स्वास्थ्य खानेपानीलगायतका आधारभूत कुरालाई गाउँपालिकाले कार्यक्रम सञ्चालन गरेर स्थानीयवासीलाई लाभान्वित तुल्याएको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०७६/७७ कूल रु ३७ करोड बजेटमा विकास बजेट रु १३ करोड रहेको छ भने कृषिका लागि रु एक करोड ५० लाख रकम छुट्याएको छ । विशेषगरी तरकारी, फलफूल, गहँु, धानलगायतका बालीलाई प्राथमिकता दिएको ओझाको भनाइ छ । व्यवसायी तरकारी खेतीका लागि शीतभण्डारको समेत व्यवस्था गाउँपालिकाले गरेको र कार्यक्रमलाई प्रभावकारी बनाउन प्रदेश र सङ्घ सरकारसँग समेत समन्वय गरेर योजना बनाइरहको उहाँले बताउनुभयो ।

“हामीले कृषिमैत्री वातावरण तयार गरी उत्पादन बढाउने र त्यसलाई बजारसँग जोड्नसमेत व्यवस्था गरेका छौँ ।” स्थलगत निरीक्षण कृषकको चाहना र उपयुक्त वातावरणको अध्ययनबाट अनुदान दिँदै आएकाले यसले कृषकलाई थप ऊर्जा मिलेको उहाँको भनाइ छ ।
गाउँपालिकाको कुनै पनि कार्यक्रममा स्थानीय उत्पादनलाई नै प्रयोग गर्ने र उपहारस्वरुप स्थानीय उत्पादन नै दिने नीति बनाएर त्यसलाई अवलम्बन गर्दै आएको छ ।

यसले स्थानीयवासीले उत्पादनको मूल्य पनि पाउने र थप व्यावसायिक हुन प्रोत्साहन गर्ने उहाँको भनाइ छ । गाउँपालिकाले कार्यपालिकाको बैठकबाट स्थानीय उत्पादन र वस्तुमात्र कोशेलीका रूपमा दिने निर्णय गरेको थियो । यहाँका कृषक राजेन्द्र न्यौपाने पनि गाउँपालिको स्थानीय उत्पादन प्रोत्साहन नीतिबाट लाभान्वित भएको बताउनुहुन्छ । “अहिले १०० घार मौरी पालेको छु । मह उत्पादनको बजारीकरणका लागि गाउँपालिकाले निकै सहयोग गरेको छ ।”

हरेक कार्यक्रममा गाउँपालिकाले मह, घ्यू, अनदीको चामल उपहारस्वरुप दिने गर्दा कृषकलाई प्रत्यक्ष फाइदा पुगेको उहाँको भनाइ छ । कृषक न्यौपानेले मह एक मानाको रु ८०० मा बिक्री भएको र उत्पादनले राम्रो बजार पाएको बताउनुभयो । यसका साथसाथै विदेशमा भएका युवालाई स्वदेश फर्काउने र स्वदेशमा भएकालाई प्राविधिक शिक्षा एवं तालीम प्रदान गरेर स्वदेशमै रोजगारी बनाउने लक्ष्य गाउँपालिकाको रहेको ओझाले बताउनुभयो ।

यसका लागि गाउँपालिकाले तीन विद्यालय ‘गाउँ फर्क मावि,’ ‘विश्व शान्ति मावि’, ‘रामकोट मावि’मा सिभिल इन्जिनीयरिङ, भेटेरेनरी र कृषिको पढाइ हुँदै आएको छ । भौतिक पूर्वाधारतर्फ पनि गाउँपालिकाले प्राथमिकता दिएको छ । पचासी किलोमिटरको काम भइरहेकामा अहिले १३ किलोमिटर कालोपत्र भइसकेको र बाँकी काम भइरहेको प्रमख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले बताउनुभयो ।

त्यसैगरी चार हजार ५०० घरधुरीमा हाल तीन हजार ८०० को घरमा खानेपानी पुगिसकेको छ भने बाँकीको घरमा पनि खानेपानी पु¥याउने योजनालाई तीव्र पारिएको छ । गाउँपालिका पर्यटनको दृष्टिकोणले निकै उत्कृष्ट मानिन्छ । बेलायतका राजकुमार चाल्स र पूर्व राजकुमार दीपेन्द्रले पदयात्रा गरेका पदमार्गको ‘रोयल ट्र्याक’ संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने योजनासमेत अघि बढाएको छ । गाउँपालिकाको २३ डाँडा जोडेर अन्तरराष्ट्रिय उद्यान बनाउने वृहत् योजना पनि रुपा गाउँपालिकाले लिएको छ ।

हिमशृङ्खलाका मनोरम दृश्यसँगै पोखरा शहरलगायत लमजुङ र तनहुँका मनोरम दृश्य र सात ताल देखिने भएकाले पनि यस क्षेत्रको पर्यटकीय महत्व रहेको पोखरेलको भनाइ छ । रुपाकोट रिसोर्टले पनि यस क्षेत्रको परिचयलाई थप उजागार गरेको उहाँ बताउनुहुन्छ । करीब २२ हजार जनसङ्ख्या रहेको यस क्षेत्रमा ४१ जातजातिको बसोबासले सांस्कृतिक विविधताको पनि उत्कृष्टता नमूना रहेको उहाँ बताउनुहुन्छ ।

प्रकाशित मिति: Jan 3, 2020

प्रतिक्रिया दिनुहोस्