Logo
१५ चैत्र २०८०, बिहीबार
(January 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भिजिट नेपाल २०२० मा सुन्दरनगरी चितवनको मनमोहक दृश्यसँगै रमाऔँ

सबिन घिमिरे

नेपाल विश्वकै सुन्दर देश हो । हिमाल, पहाड र तराई मिलेर बनेको यो सुन्दर भुमि विविध हावापानी ,जैविक विविधताले सम्पन छ । सामाजिक, सांस्कृतिक र प्राकृतिक विविधताताको गन्तव्य नेपाल स्वदेशी र विदेशीका लागि आकर्षक छ ।

नेपालकै भुभाग हो चितवन । चितवनलाई नेपालकै प्रमुख पर्यटकीय गन्तब्यका रुपमा लिने गरिन्छ । राजधानी काठमाडौंसँग पोखराभन्दा पनि छोटो दूरीमा छ चितवन ।

हवाई यात्राका माध्यमबाट २० मिनेट र सडक यातायातको माध्यमबाट चार घण्टामा नै चितवन पुग्न सकिन्छ । चितवन राष्ट्रिय निकुञ्जको प्रमुख प्रवेशद्वारका रुपमा परिचित सौराहा आन्तरिक तथा बाह्य पर्यटक भ्रमण गर्ने प्रमुख गन्तव्यको रूपमा प्रख्यात छ । जहाँ सौराहा, मेघौली, जस्ता क्षेत्रमा प्रकृतिसँग मज्जा गर्न पाइन्छ । देवघाट, वाल्मीकि आश्रम, सीतामाई थान जस्ता तीर्थस्थलमा घुमेर मनलाई शान्त पार्न सकिन्छ ।

परदाङगढी, सोमेश्वर गढी जस्ता प्राचीन ऐतिहासिक क्षेत्र घुम्दा पुर्खाहरुप्रति सम्मान गर्न सकिन्छ । सौराहामा पर्यटकले हात्ती सफारी, डुंगा सफारी, थारु संस्कृति र बिसहजारी तालको अवलोकन मात्रै हैन अब नयाँ पर्यटकीय गन्तव्यका रुपमा सौराहामा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषको अखेटोपहार, थारु सांस्कृतिक संग्रहालय, चित्रसारीमा रहेको चित्रसेन बाबा मन्दिर, कृष्ण प्रणामी मन्दिर जिरौना, भरतपुरको तीनखोले गुम्बा, देवघाटधाममा रहेको गलेश्वर आश्रम र नारायणी नदीकिनारसँग मितेरी गाँस्न सकिनेछ ।

चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिंगे गैंडा, हात्ती, पाटे बाघ, विभिन्न चराचुरुङ्गी हेर्न तथा जंगल सफारीको आनन्द लिन सकिन्छ । चितवनबाट तराईका जिल्लामा बसेर पनि हिमाल देख्न पाइन्छ । सयौं मिटर अग्ला डाँडामा अति सिमान्तकृत चेपाङ समुदायदेखि नदी तटीय क्षेत्रमा बस्ने बोटे, थारु, मुसहर जातिसम्मको संस्कृति र मौंलिक रहनसहनसँग घुलमिल हुने अवसर पनि पाईन्छ । लालीगुँरास फूल्ने र काफल फल्ने विकट पहाडदेखि तोरी फूल्ने र नरिवल फल्ने समथर भूभाग हो चितवन ।

भौगोलिक विविधतासहित अग्ला पहाड, घना जंगल, नदी, ताल, फराकिला फाँट, सिमसार क्षेत्र, दुर्लभ वन्यजन्तु, वनस्पति, चराचुरुङ्गी एवम् जैविक विविधता चितवनको मानक हो । राप्ती नदी र चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सौराहाबाट निकुञ्ज र सामुदायिक वनमा हात्ती सयर, राप्ती नदीमा डुङ्गा सयर गर्न सकिन्छ ।

हात्तीसँगै नुहाएर हात्ती प्रजनन केन्द्रसम्म पुग्न सकिन्छ । जैविक सूचना केन्द्र, थारु सांस्कृतिक संग्रहालय अवलोकन, चरा अवलोकन, सांस्कृतिक गाउँ भ्रमण, जिप सफारी, बोटिङ, डेक तथा पब साइड स्टे आदि पर्यटकीय क्रियाकलापबाट अविस्मणीय मनोरञ्जन प्राप्त गर्न सकिन्छ ।

सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज र दुई ठूला नदी राप्ती तथा नारायणी दुईतिरबाट घेरिएको छ मेघौली । जसलाई टाइगर टप्स जंगल लजको प्रवेशद्वार मानिन्छ । दुर्लभ बाघ, गैँडा तथा चराचुरुङ्गी, असहाय वन्यजन्तु केन्द्र, थारु सांस्कृतिक संग्रहालय, राजम्पिङ्ग,पहाडी तथा आदिबासी संस्कृति, निकुञ्जमा हात्ती सयर, डुङ्गासयर, मचान स्टे, जंगलवाक, जिप सफारी आदि चितवनको विशेषता हो ।

त्यस्तै कमलपोखरीमा तैरिएका विभिन्न प्रजातिका मनमोहक कमलका फूलहरुले पर्यटकलाई भरपूर आनन्द प्रदान गर्दछ । गोही प्रजनन केन्द्र कसरा, विक्रमबाबा, निकुञ्ज, सामुदायिक वनहरु नजिकै रहेका आकर्षण हुन् ।

हिल स्टेशनको रूपमा विकास गर्न सकिने शितल क्षेत्र चौकीडाँडाबाट मनमोहक पहाडी श्रृङ्खला, नागबेली, नारायणी नदीको चाल, चितवनको समथर भाग अवलोकन गर्न सकिन्छ ।

चेपाङ तथा गुरुङ संस्कृतिमा पर्यटकले मनोरञ्जन लिन सक्ने यस क्षेत्रबाट प्याराग्लाइडिङ्ग समेत गर्न सकिन्छ । त्यस्तै दुर्लभ वन्यजन्तु, बाघ, गैँडा, मृग, गोही र घुमन्ते चराहरु अवलोकनको गन्तव्य बनेको छ बीसहजारीताल । विभिन्न प्रजातिका वनस्पती, पुतली, माछा, मगर गोही, घडियाल गोही, चराचुरुङ्गी आदि यहाँका आकर्षण हुन् ।

दियालो बंगलामा मनमोहक तटीय क्षेत्र, जलपर्यटनका क्रियाक्रलापहरु, साल, जामुन, यमुना, सिन्दुर, सिसौ जस्ता रुखहरुको हरियाली, वनस्पति, र चराचुरुङ्गी यस्को आकर्षण हुन् । सिन्ती झरनाझरना एकान्त स्थलबाट निरन्तर प्रफुलित भई आफ्नै गतिमा झरिरहेको छ । सोमेश्वरगढी नेपाल सरकारले छनौट गरेका १०० पर्यटकीय गन्तव्यहरुमा सूचीकृत छ ।

त्यस्तै चितवन जिल्लाको सबैभन्दा अग्लो डाँडो सिराइचुलीबाट सूर्योदयको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । बसन्त ऋतुमा लालीगँरास फूलेर वातावरणलाई रङ्गिन बनाइदिन्छ । चेपाङ्गबस्तीहरु, सुन्दर हरियाली पर्वत श्रृङ्खला तथा हिमालहरूको अवलोकन गर्न सकिन्छ । निरन्तर प्रफुल्लित भएर हाँसिरहेको जलबीरे लामो झरनाले अलग्गै पहिचान बोकेको छ । जुन भीर पहरा, छाँगा र छहराको संयोग प्राकृतिक छटाले भरिपूर्ण छ ।

चीतवन राष्ट्रिय निकुञ्ज भित्र पाइने, पाटेबाघ, लगुना, गौरी गाई, मृग, भालु लगायतका जंगली जनावर, निकुञ्ज भित्र रहेको घडियाल गोही प्रजनन केन्द्र, र विभिन्न किसीमका किराफटेगंरा, चराचुरुगीं हेर्न सकिन्छ । विश्व सम्पदा सुचीमा समेत सुचिकृत यस निकुञ्ज भित्र रहेका ठुला घांसे मैदान, सिमसारक्षेत्र, ताल र चराहरुको चिरविर आवाजले पर्यटकको मन लोभ्याउन सक्दछ । हात्तीमाथी चढेर जंगल घुम्न पाइने हुनाले निकुञ्ज भित्रका जंगली जनावर हेर्न झनै सजिलो भएको छ ।

विभिन्न जातजाति र भाषा भाषीका मानिसहरुको बसोबास रहेको चितवनमा जातिय भेषभुषा झल्कने नाच र झांकीहरुको प्रदर्शन पनि हुने गरेको छ । थारु जतिका लठ्ठी नाच,कौडा नाच, सवै किसीमका नाचले चितवनलाई थप आकर्षक बनाएको छ । अनेकौं जंगली जनावर, जलचर, चरा र वनस्पतिहरूसँग सजिलै साक्षात्कार हुन सकिन्छ ।

(लेखक घिमिरे पेशाले प्रशिक्षक हुनुहुन्छ ।)

प्रकाशित मिति: Jan 2, 2020

प्रतिक्रिया दिनुहोस्