Logo
८ बैशाख २०८१, शनिबार
(January 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

KU का सबै संकायमा ताला, पठनपाठन बन्द प्राध्यापक तथा कर्मचारीहरु आन्दोलनमा

आन्तरिक विवादका कारण काठमाडौं विश्वविद्यालय (KU) मा पठनपाठन बन्द भएको छ । बुधबार धुलिखेल अस्पताल परिसरमा रहेको स्कुल अफ मेडिकल साइसेन्जमा ताला लगाउने र ताला लगाउन नदिने समूहबीच विवाद भएको थियो ।

उनीहरुबीच धकेलाधकेल भएपछि प्रहरी आएर रोकेको थियो । जसका कारण डिनको कार्यालयमा ताला लागे पनि सहायक डिनको कार्यालयमा भने ताला लाग्न पाएन । आन्दोलन विगतदेखि नै हुँदै भए पनि पठनपाठन रोकिएको थिएन ।

तर मंगलबारदेखि पहिलो पटक विश्वविद्यालयमा सबै पठनपाठन बन्द भएको छ ।

‘यसअघिका आन्दोलनमा कार्यकक्षहरुमात्र बन्द हुन्थे, तर अहिले त पठनपाठन नै अवरुद्ध भएको छ,’ काठमाडौं विश्वविद्यालयका एक कर्मचारीले भने ।

काठमाडौं विश्वविद्यालयमा आन्दोलन हुनु सामान्यजस्तो भइसकेको छ ।

कहिले पेशागत हकहितको मागले, कहिले विश्वविद्यालय सभामा प्रतिनिधित्वको विवादले र कहिले पठनपाठनको वातावरण नभएको भन्दै आन्दोलन हुने गरेको छ ।

पछिल्लो कुरा गर्ने हो भने प्राध्यापक तथा कर्मचारीहरु विगतमा भएका सहमति कार्यान्वयनको माग राख्दै आन्दोलनमा छन् ।

आन्दोलनका कार्यक्रम अन्तर्गत उनीहरुले स्कुल अफ ल, स्कुल अफ साइन्स, स्कूल अफ इन्जिनियरिङ, स्कुल अफ म्यानेजमेन्ट, स्कुल अफ आर्टस्, स्कुल अफ एजुकेसन, स्कुल अफ मेडिकल साइन्सेज, परीक्षा नियन्त्रकको कार्यालय र प्रशासनिक भवनहरुमा तालाबन्दी गरेका छन् ।

२०७३ माघमा पढ्ने वातावरण नभएको भन्दै विद्यार्थीहरुले विश्वविद्यालयको मूल गेटमै एक घण्टासम्म पढेर सांकेतिक विरोध जनाएका थिए ।

यस्तै गत साउन महिनामा प्राध्यापक र कर्मचारीहरुले परीक्षा सञ्चालन बहिस्कार गरेपछि विश्वविद्यालयले विद्यार्थीहरुलाई नै गार्ड राखेर अन्डर ग्राजुयट लेभलको फाइनल परीक्षा लिएको थियो ।

डीन राजेन्द्र कोजु र सहायक डिन रमेश माकाजुलाई कारबाहीको माग

पेशागत हकहितको माग राखेर शान्तिपूर्ण रुपमा तालाबन्दी गर्न खोज्दा आफूहरुमाथि हातपात गराएको भन्दै प्राध्यापक र कर्मचारीहरुले स्कुल अफ मेडिकल साइन्सेजका डीन राजेन्द्र कोजु र सहायक डिन रमेश माकाजुलाई कारबाहीको माग गरेका छन् ।

डीन, सहायक डीन र केही अराजक व्यक्तिहरुले भिडन्त निम्त्याएको उनीहरुको आरोप छ ।

तर बुधबार नै स्कुल अफ मेडिकल साइन्सेजले विज्ञप्ति निकालेर असहज परिस्थिति सिर्जना गर्न खोज्ने समूहलाई धुलिखेल अस्पतालका बिरामीका कुरुवाहरुले लखेटेको जनाएको छ ।

काठमाडौं विश्वविद्यालय, प्राध्यापक र कर्मचारीहरुबीच गत भदौ मसान्तमा चार बुँदे सहमति भएको थियो । १०६ दिनसम्म पनि सो सहमति कार्यान्वयन नभएपछि उनीहरुले यही पुस १५ गते आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए ।

सोही कार्यक्रमअनुसार स्कुल अफ मेडिकल साइन्सेजको डिनको कार्यालयमा ताला लगाउने क्रममा विवाद भएको हो । स्कूल अफ मेडिकल साइन्सेजका डीनको कार्यालयमा चार महिनाअघि एमबीबीएसका विद्यार्थीहरुले लगाएको ताला अझै खुलेको छैन ।

सोही तालामाथि प्राध्यापक र कर्मचारीहरुले अर्को ताला थपेका छन् ।

प्रकाशित मिति: Jan 2, 2020

प्रतिक्रिया दिनुहोस्