Logo
७ बैशाख २०८१, शुक्रबार
(December 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपाबाट ४ युवा राष्ट्रिय सभाका आकाक्षी : राष्ट्रिय पार्टीको स्वरुपमा प्रदेश १ लाई समेटिनु पर्ने माग

राष्ट्रियजनता पार्टी नेपालमा ४ युवा राष्ट्रिय सभाका आकाक्षी देखिएका छन् भने राष्ट्रिय पार्टीको स्वरुपमा प्रदेश १ लाई समेटिनु पर्ने माग पनि उठेको छ ।

राष्ट्रिय सभामा दुई सिटका लागि नेकपा सँग सहकार्य गर्ने निर्णय गरेपछि अहिले राजपाको सामुने अब कसलाई राष्ट्रिय सभामा पठाउने विषयमा अडकलबाजी सुरु भएको हो ।

राजपा नेपालले प्रदेश २ बाट दुई जना राष्ट्रिय सभाका सदस्यहरुको दुई बर्षे कार्यकाल समाप्तीसँगै पार्टी भित्र थुप्रै आकांक्षीहरु देखा परेका छन् ।

राजपा नेपालका शिर्ष नेतृत्व अझै पनि यो बिषयमा मुख खोल्न मानेका छैनन भने यता आकांक्षीहरु आन्तरिक रुपमा नेताहरुको घरआङ्गन पुगेर आफुलाई राष्ट्रिय सभामा पठाउनु पर्ने अनौपचारिक रुपमा नेतृत्वमाथि दवाव पनि दिन थालेका छन् ।

पार्टी भित्र अहिले राष्ट्रिय सभामा रहनु भएका दुई जनालाई नै निरन्तरता दिने कि नयाँ व्यक्ति चयन गरी पठाउने विषयमा अनौपचारिक छलफल समेत सुरु भएको छ ।

उता पत्रकार वीरेन्द्र केएम राजपालाई साच्चिकैको राष्ट्रिय पार्टी बन्न सुझाव दिएका छन् । स्पष्ट वक्ताका रुपमा परिचित पत्रकार केएमले बुदागत तर्क सहित राजपालाई राष्ट्रिय पार्टी बन्न सुझाव दिएका हुन् ।

उनले भनेका छन् यसकारण राजपाले राष्ट्रिय सभा सदस्यको उम्मेदवार प्रदेश न. १ बाट बनाओस !

१. किनकि राजपा केवल प्रदेश २ मा सिमित भएको गम्भीर आक्षेपबाट मुक्ति पाउनेछ। 

२. किनकि यस्ले थोरै भएपनि स्थानीय तहको निर्वाचन बहिष्कार गर्न लगाएकोमा भएको क्षतिको पूर्ति हुनेछ ।

३. किनकि राजपाको आधार क्षेत्र रहेको प्रदेश न. २, ५ र ७ बाट कुनै न कुनै राजनैतिक पदमा प्रतिनिधित्व भए पनि केवल प्रदेश न. १ बाट हुन नसकेकोले पार्टीले सो अवसरको सदुपयोग हुनेछ ।

४. किनकि प्रदेश न. १ का नेता-कार्यकर्ता र समर्थकको गुमेको हौसला पुनर्जीवन हुनेछ ।

५. किनकि अरु प्रदेशबाट बनाउदा कुनै ब्यक्तिको मात्र ब्यवस्थापन होला तर प्रदेश न. १ बाट बनाउदा पुरै प्रदेशको ब्यवस्थापन हुनेछ ।

राजपामा ६ जना अध्यक्ष मण्डलले विगतमा भागबण्डाको आधारमा पदहरु बाँडफाँड गर्दै आएका छन् । यसपालि पनि राष्ट्रिय सभाका २ सिट कुन अध्यक्षको भागमा पर्ने अहिले निश्चित भएको छैन ।

यता, पार्टीमा विगत लामो समय देखि मधेश आन्दोलनमा लागेका युवाहरुले पनि राष्ट्रिय सभामा युवाहरुलाई पठाउनु पर्ने माग गरेका छन् ।

राजपामा रहेका विगत दुई दशक देखि मधेश र मधेशी मुद्दाका लागि वकालत गर्दै आएका चर्चित युवाहरुले पार्टीलाई राष्ट्रिय सभामा पठाउनका लागि दवाव दिन थालेका छन् ।

आन्दोलन र सडक संघर्षका बेला युवाहरुले बढी योगदान दिनु पर्ने तर अवसर, नेतृत्व र जिम्मेवारी पाउने बेलामा युवाहरु मुकदर्शक बन्नु पर्ने अवस्था पार्टी भित्र अन्त्य हुनु पर्ने युवाहरुको माग रहेको छ ।

राजपाका युवा नेताहरु सन्तोष मेहता, राजिव झा, केशव झा र कृष्णा सिंह लगायतका युवा नेताहरु पार्टी नेतृत्वले विचार गरेर यस पटक युवा नेताहरुलाई राष्ट्रिय सभा अवसर दिनु पर्ने माग गरेका छन् ।

उनीहरुले युवालाई केवल आन्दोलनमा प्रयोगको नीति होइन, नेतृत्व गर्ने अवसर पनि दिनु पर्ने जोडदार माग गरेका छन् । हाल चर्चामा रहेका यि ४ युवाहरुको २०६४ पछिको मधेश आन्दोलनमा प्रत्यक्ष रुपमा योगदान रहेको मधेश जानकारहरुको भनाई छ ।

मधेशको राजनीतिलाई विगत १५ बर्ष देखि नजिकबाट पत्रकारिताको माध्यमबाट नियालेका चर्चित टिभी पत्रकार अनन्त अनुराग भन्छन्, ‘राजपाले पार्टीका युवा नेतालाई अवसर दिए, मधेशमा राजपा प्रति युवाहरुको क्रेज बढ्ने निश्चित छ, राजपाले बारम्बार पद तथा अवसरहरु भागबण्डा गर्दा युवाहरुमाथि अन्याय हुदैं आएको छ, राष्ट्रिय सभामा युवा नेताहरुलाई पठाउने राजपाको सामुने अवसर आएको छ, राजपाका नेताहरुले गम्भीर विचार गर्नु जरुरी छ ।’

सन्तोष मेहताः सुनसरी निवासी सन्तोष मेहता विगत देखि नै सद्भावाना पार्टीका वफादार कार्यकर्ताका रुपमा जोडिएका एक नेता हुन ।

अध्ययन र तार्किक बहस गर्न रुचाउने युवा नेता मेहता अहिले सम्म अवसरबाट बन्चित भएको छ ।

उनको राजपाका नेता राजेन्द्र महतो सँग सामिप्यता रहेको छ । मधेश आन्दोलनको समयमा सुनसरीमा मोर्चा सम्हालेका युवा नेता सयौं पटक प्रहरी दमन र गिरफ्तारीमा परेका थिए । हाल उनी राजपा नेपालको प्रवक्ता हुन ।

राजिव झाः राजिव झा मधेशको मुद्दा प्रति प्रतिबद्ध एक बौद्धिक नेता हुन । जनकपुर निवासी युवा नेता झा विभिन्न सामाजिक कार्यमा समेत संलग्न रहेका छन् ।

तत्कालिन अवस्थामा मधेशको माग पुरा गर्न सशस्त्र आन्दोलन मार्फत मधेशको माग पुरा गर्ने हेतुले सशस्त्र आन्दोलनमा होमिएका नेता झा, राज्यको पहलमा मुलधारको राजनीतिमा अवतरण गरी तत्कालिन अनिल झाको नेतृत्वमा रहेको सद्भावाना पार्टीमा आबद्ध थिए ।

राजपामा एकिकरण पछि राजेन्द्र महतो निकत भएका नेता झा, धनुषा ३ मा राजेन्द्र महतोलाई जिताउन अहम भूमिका निर्वाह गरेका थिए । उनी राजेन्द्र महतोको विश्वासिलो पात्र समेत हुन ।

केशव झाः मेधशका जुझारु नेताहरु मध्ये केशव झा पनि एक हुन । सप्तरी निवासी केवश झा तत्कालिन मधेशी जनअधिकार फोरमबाट मधेश आन्दोलनमा जोडिएका युवा नेता हुन ।

हाल राजपाका महासचिव समेत रहेका केशव झा मधेशको मुद्दा बुझेका युवा हुन । उनले पनि विभिन्न समयमा मधेशको माग पुरा गराउनका लागि युवालाई परिचालन गरी आन्दोलनको नेतृत्व गरी सकेका छन् ।

युवा नेता झा, तत्कालिन रामसपा हुदैं राजपामा नेपालमा आबद्ध भएका हुन । तत्कालिन शरत सिंह भण्डारीका विश्वाशिलो पात्र रहेका झा, हाल राजेन्द्र महतोको समेत विश्वासिलो पात्र हुन ।

कृष्णा सिंहः राजपा युवा नेता कृष्णा सिंह विगत १५ बर्ष देखि मधेश राजनीतिमा युवा मोर्चा सम्हालि रहेका छन् ।

उनले पहिलो मधेश आन्दोलन देखि अहिले सम्म अविचलित रुपमा मधेशको मुद्दा र माग प्रति प्रतिबद्ध रही मधेश राजनीति प्रति सर्मपित रहेका छन् ।

तत्कालिन तमलोपा गठन हुने बेला महन्थ ठाकुरको नेतृत्वमा पार्टी गठन हुँदा तमलोपा युवा फ्रन्टको नेतृत्व गरी युवा परिचालनमा महत्वपूर्ण योगदान दिएका थिए ।

युवा नेता सिंह राजपका बयोबृद्ध नेता महन्थ ठाकुरका विश्वाशिलो पात्र समेत हुन । हाल उनी राजपा नेपालको प्रवक्ता समेत हुन ।

 

 

 

प्रकाशित मिति: Dec 30, 2019

प्रतिक्रिया दिनुहोस्