Logo
१३ बैशाख २०८१, बिहीबार
(December 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेलौली नगरपालिकाका ९ वटै वडामा सचिवविहीन, सेवाग्राही समस्यामा

सिंहदरबारको सेवा गाउँघरमै भनेर मुलुक सङ्घीय संरचनामा गइसकेपछि सबै सेवा गाउँमै पाइन्छ भनेर उत्साहित नागरिक निराश हुन थालेका छन् ।

गाउँमै पाइने सेवासमेत घण्टौँ हिँडेर पालिका मुकाम पुगेर लिनुपर्ने भएको छ । यो बाध्यता बैतडीको तल्लोस्वराडमा रहेको मेलौली नगरपालिकाको हो । मेलौली नगरपालिकाका नौवटै वडामा सचिव छैनन् । सचिव नहुँदा सेवाग्राहीलाई समस्या भएको छ ।

वडा कार्यालयमा सचिव नहुँदा समस्या भएको मेलौली-७ का केशवसिंह भाटको गुनासो रहेको छ । “वडामा हुने कामका लागि नगरपालिका धाउनुपर्ने बाध्यता छ”, उनले भने, “गाउँमा कर्मचारी नहुँदा समस्या भएको छ ।” कर्मचारी समायोजनपश्चात नगरपालिका र वडामा कर्मचारी अभाव रहेको हो ।

वडामा सचिव नहुँदा प्राविधिक सहायकलाई खटाएर कामकाज गर्ने गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए ।

“पञ्जीकरणका विभिन्न काममा सचिवलाई मात्रै हस्ताक्षर गर्ने अधिकार छ”, उनले भने, एकजनाले नगरपालिकामै बसेर नौवटै वडाको काम गर्नुपर्ने बाध्यता रहिआएको छ ।”

वडामात्रै नभएर नगरपालिकामा पनि दरबन्दीअनुसारका कर्मचारी नहुँदा दैनिक कामकाजमा समस्या भएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेको भनाइ छ ।

स्थानीय तह स्थापना भएदेखि नै नगरपालिकाले सचिवको अभाव झेलिरहेको नगरप्रमुख कृष्णसिंह नायकले बताए ।

उनले भने, “कर्मचारीको अभावमा नगरपालिकाका सेवा प्रभावित भएका छन् ।” कर्मचारी अभावमा नागरिकले चाहेजस्तो सेवा दिन कठिनाइ भएको नगरप्रमुख नायकको भनाइ छ ।

प्रकाशित मिति: Dec 30, 2019

प्रतिक्रिया दिनुहोस्