Logo
७ बैशाख २०८१, शुक्रबार
(December 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब स्थानीय तहले सोझै भारतीय सहयोग लिन पाउने, भारतीय सहयोगका साना योजना संघीय सरकारबाट स्वीकृत

स्थानीयस्तरमा सञ्चालन हुने भारतीय सहयोगका साना योजनालाई अब संघले स्वीकृति दिने भएको छ ।

साविकको जिविसको सिफारिसका भरमा भारतीय सहयोगबाट विद्यालय र स्वास्थ्य चौकीका भवन, खानेपानी आयोजना, गुम्बा निर्माण, एम्बुलेन्स खरिदजस्ता कामहरू हुँदै आएको थियो ।

हालको स्थानीय तह कार्यान्वयन हुने क्रममा जिविस खारेज भए पछि भारतीय सहयोगका साना आयोजनाहरू सञ्चालन हुन सकेको थिएन ।

यसअघि जिविसको सिफारिसमा भारतीय दूतावासले आयोजना छनोट गर्दै आएको थियो । अब संघीय सरकारले बजेट प्रणालीमा समावेश गरेर विनियोजन गरिनेछ ।

संघीय सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले योजनाको ढाँचा र कार्यान्वयन गर्ने निकाय तोकेको जानकारी दिए ।

संघीय सरकारको नियमित पत्रकार सम्मेलनमा बाँस्कोटाले संघले योजनाको सम्झौता गर्ने र कार्यान्वयन स्थानीय तहले गर्ने बताए ।
अधुरा योजनाहरू जिल्ला समन्वय समिति र सम्बन्धित स्थानीय तहबीचको सहकार्यमा सम्पन्न गर्ने पनि जानकारी दिए ।

जिविस खारेज भएपछि भारतीय दूतावासबाट प्राप्त हुने साना योजनाले विद्यालय, स्वास्थ्य चौकी र सामुदायिक भवनहरू रोकिएको थियोे ।

तर विवादास्पद विगत
भारतीय दूतावासको आर्थिक सहयोगमा निर्माण हुने स्थानीय पूर्वाधार योजनाहरू बजेट प्रक्रिया र सुशासनका हिसाबले सुरूदेखि नै विवादमा परेको देखिन्छ ।

२०६० सालमा तत्कालिन सरकारले जिविसको सिफारिसका आधारमा दूतावासले बजेट दिन मिल्ने गरि सम्झौता गरेको थियो ।

सम्झौता अनुसार बजेट विनियोजन गर्न थाले पछि महालेखापरीक्षकको कार्यालयले पटक पटक बार्षिक प्रतिवेदनहरूमा त्रुटी औँल्याउँदै आएको थियो ।

संसदले अनुमोदन गर्ने बजेटमा भारतीय सहयोग समावेश नभएकै कारण महालेखा असन्तुष्ट हुँदै आएको थियो ।

महालेखापरीक्षको कार्यालयका तत्कालिन प्रवक्ता मोहदत्त तिमल्सिनाले भनेका थिए, “संसदले अनुमोदन गरेको बजेट बाहिरबाट खर्च हुनुलाई स्वभाविक मान्न सकिँदैन । यसले संसदबाट अनुमोदन भएको बजेट र खर्च भएको रकमबीच अन्तर ल्याएको छ । बिनियोजन गरिएको बजेटभन्दा धेरै खर्च भएको देखिए पछि संसदजस्तो सार्वभौम निकायबाट अनुमोदित बजेटको विश्वसनीयतामा प्रश्न उठाएको छ ।”

बाँस्कोटाले अब बजेटरी सिस्टमबाटै खर्च हुने बताए । “भारतीय योजनाहरू बजेटमा समावेश हुनेछन् । जायज गुनासोहरू संबोधन गर्न सरकार तत्पर छ,” बाँस्कोटाले भने ।

नीतिगत विवादसँगै कार्यान्वयनको तहमा पनि प्रशस्तै समस्या देखिएको थियो । तत्कालिन जिविसको सिफारिसको भरमा भारतीय दूतावासले बजेट विनियोजन गर्ने र फितलो अनुगमन हुन हुँदा अनियमितता पनि बढेको थियो ।

२०६० साल पछि राजनीतिक अन्योलसँगै स्थानीय जनप्रतिनिधी नभएको मौकामा पहुँचका भरमा योजना लैजाने र अनियमितता गर्ने प्रवृत्ति मौलाएको थियो ।

जसले गर्दा अहिले पनि खारेज भइसकेका जिविसहरूको नाममा अहिले पनि करोडौं रुपैयाँ बेरुजु छ । उक्त बेरुजु कुन निकायले फछ्र्योट गर्ने भन्नेमा अन्योल छ ।

प्रकाशित मिति: Dec 26, 2019

प्रतिक्रिया दिनुहोस्