Logo
८ बैशाख २०८१, शनिबार
(December 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामूहिक आयमूलक काममा आत्मनिर्भर बन्दै थारु महिला

कुनै समय घरको चुलोचौको र खेतबारीको काममा व्यस्त रहने कञ्चनपुरको बेलौरी नगरपालिका-५ रामनगरकी नास्पाती चौधरीको दिनचर्या फेरिएसँगै आम्दानीको स्रोत पनि बढेको छ ।

स्थानीय २५ जना थारु समुदायका महिलाले सामूहिकरुपमा बाख्रापालन शुरु गरेसँगै सो क्षेत्रका महिला आयमूलक व्यवसायप्रति केन्द्रित हुन थालेका छन् । व्यावसायिकरुपमा तरकारीखेतीसमेत अँगाल्नु भएकी नास्पाती चौधरी बाख्रापालनमा पनि गाउँमा आकर्षण बढेको बताउछिन् । “७५ वटा बाख्रा खरीद गरेर सामूहिकरुपमा बाख्रपालनमा महिला अग्रसर भयौँ”, उनले भनिन, “अहिले बाख्राको सङ्ख्या १५० पुगेको छ ।”

मुनाफासँगै गाउँमा पालनपोषणमा पनि सहज हुने भएकाले महिला सगरमाथा बाख्रापालन समूह नै गठन गरेर लागेको चौधरीको भनाइ छ । “अहिले समूहमा आबद्ध सबै जनाले घरघरमा राखेर बाख्रापालन गरिरहेका छन्”, उनले भनिन, “मुनाफाले व्यसाय बढाउने सल्लाह पनि भएको छ ।”

भीमदत्तनगरमा रहेको नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए)को जीविकोपार्जन कार्यक्रमअन्तर्गत बाख्रापालनमा अनुदान र प्राविधिक सहयोग मिलेपछि व्यवसायमा लाग्न थप प्रेरणा मिलेको चौधरीको भनाइ छ । “पैसा कमाउन अध्ययन नै चाहिन्छ भन्ने रहनेछ”, चौधरीले भनिन, “कामप्रति बफादार भएर लागे सफल भइँदो रहेछ ।” रामनगरमा जीविकोपार्जनका लागि सङ्घर्षरत महिलाले सहकारीसमेत स्थापना गरेर ऋण लगानी र वचतसमेत गरिरहेका छन् ।

एक वर्षअघि गाउँका महिलाकै पहलमा स्थापना भएको श्री उत्थानशील महिला कृषि सहकारीमा हाल १९० जना महिला आबद्ध रहेको सहकारीका अध्यक्ष शान्ति चौधरीले बताईन । सहकारीअन्तर्गत गाउँमा आठ वटा कृषि समूूहसमेत रहेको बताउँदै अध्यक्ष चौधरीले सहकारीको कूल पूँजी रु आठ लाख ८८ हजार रहेको जानकारी दिईन ।

सहकारीमा आबद्ध महिला सामूहिक बाख्रापालन, तरकारीखेती, बङ्गुरपालन र च्याउखेतीमा लागेर जीविकोपार्जन गरिरहेका छन् । “रु सात लाख ३५ हजार समूहभित्र ऋण लिएर व्यवसाय थालेका छन”, उनले भनिन, “तरकारी सङ्कलन केन्द्र स्थापना र अनुदान तथा अन्य प्राविधिक सहयोग ‘एनएनएसडब्लुए’ बाट पाइएको छ ।” कञ्चनपुरको दक्षिण क्षेत्रमै सबैभन्दा बढी च्याउखेती पनि रामनगरमै रहेको किसानको भनाइ छ ।

गत वर्ष सो क्षेत्रका किसानले समूहमार्फत व्यावसायिकरुपमा प्याजखेतीसमेत गरिरहेका छन् । “यो वर्ष २० बिघामा प्याजखेती गर्न बेर्ना उत्पादन गरिसकेका छौँ”, स्थानीय मिना चौधरीले भनिन, “प्याजखेतीका लागि बन्तरीयाका ९५ घरधुरीका किसान तयारी अवस्थामा छन् ।”

उनले गत वर्ष भएको प्याज बिक्रीको मुनाफा रु चार हजारका दरले किसानले बाँडेको बताईन । “पहिले यहाँका किसान मजदूरी गर्न सीमावर्ती भारतीय बजारसम्म पुग्थे”, उनले भनिन, “अहिले सबै आआफ्नो व्यवसाय थालेका छन् ।” आयमूलक काममा लागेका किसानलाई बेलौरी नगरपालिका र कृषि ज्ञान केन्द्र कञ्चनपुरले पनि सहयोग गरेको छ । महिला किसानले आयमूलक कामलाई आत्मसात गर्दा अरुको भरमा पर्नु नपरेको बताउँछन् । कृषि व्यवसायमा लागेका महिलाले आम्दानीबाट घर खर्च र छोराछोरीको अध्ययन खर्च चलिरहेको प्रतिक्रिया दिएका छन् ।

रामनगरका तरकारी किसानले उत्पादन गरेको तरकारी खपतमा समस्या रहेको दुखेसो पोख्छन् । “गत वर्ष लगाएको काउलीले बजार नपाउँदा खेतमै ट्र्याक्टर लगाएर नष्ट गर्नुपर्ने अवस्था आयो”, तरकारी किसान निर्मला चौधरीले भनिन, “तरकारी ढुवानीको साधन र बजार टाढा हुँदा उत्पादन खपत नहुने समस्या छ ।” उनले कैलालीको अत्तरीयामा दैनिक चार वटा साइकलमा समेत तरकारी निर्यात गरिरहेको बताईन । “आम्दानीबाट मासिक रु १०० सहकारीमा समेत बचत गर्छौं, चौधरीले भने, “सहकारीबाट कामलाई धेरै सहजता मिलेको छ ।”

नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए)का कार्यकारी निर्देशक अशोकविक्रम जैरुले जीविकोपार्जन कार्यक्रमले ग्रामीण भेगमा महिलालाई आयमूलक काममा लाग्न प्रेरणा मिल्नुका साथै सामूहिक काम गर्ने भावनाको विकास भएको बताईन । “महिलालाई समाजमा माथि उकास्न हामीले दक्षिण क्षेत्रका किसान महिलालाई सहयोग गरेर दुई वटा महिला सहकारीसमेत सञ्चालनमा ल्यायौँ”, निर्देशक जैरुले भने, “आयमूलक कामले यहाँका महिला आत्मनिर्भर बन्दै गएका छन् ।”

त्यसैगरी बेलौरी नगरपालिकाका नगरप्रमुख पोतीलाल चौधरीले बेलौरी बजार र कलकत्तामा हाटबजार सञ्चालनमा ल्याउन नगरपालिका लागेको बताए । “किसानले पर्याप्त उत्पादन गरे नगरपालिकाले ढुवानीका लागि सवारीसाधन उपलब्ध गराउँछ”, नगरप्रमुख चौधरीले भने, “हाटबजार सञ्चालनमा आए यहाँको बजारको समस्या केहीहदसम्म समाधान हुन्छ ।” उहाँले नगरपालिका क्षेत्रमा २४० वटा कृषि समूहसमेत गठन गरिएको बताए ।

नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) जीविकोपार्जन कार्यक्रमका संयोजक राजकुमार सुनार सहकारी गठनमा सहयोग र अनुदानस्वरुप रु पाँच लाख प्रदान गरिएको बताए । “सहकारी सञ्चालनका लागि हामीले कम्प्युटरलगायत कार्यालय सामग्री पनि उपलब्ध गराएका छौँ”, उनले भने, “किसानको सहजताका लागि दुई वर्षअघि गाउँमै तरकारी सङ्कलन केन्द्र पनि निर्माण ग¥यौँ ।”

प्रकाशित मिति: Dec 25, 2019

प्रतिक्रिया दिनुहोस्