Logo
१३ बैशाख २०८१, बिहीबार
(December 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नियम विपरित सवारी चलाउँदा २० हजार सवारी चालक कारवाहीमा

चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा दाङमा २० हजार तीन सय सवारी चालक कारवाहीमा परेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेमप्रसाद रेग्मीका अनुसार, ट्राफिक नियम विपरित सवारी चलाउँदा कारवाहीमा परेका ती सवारी चालकबाट रु एक करोड ५५ लाख ७५ हजार राजश्व सङ्कलन भएको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा ३४ हजार ५१० सवारी चालकको कारवाहीबाट रु एक करोड १३ लाख पाँच हजार राजश्व सङ्कलन भएको थियो ।

चालू आवको साउनमा दुई हजार ४०० सवारी चालकको कारवाहीबाट रु १५ लाख सात हजार ५०० राजश्व सङ्कलन भएको छ । त्यस्तै भदौमा चार हजार ३०० चालकको कारवाहीबाट रु २६ लाख ९३ हजार ५००, असोजमा रु चार हजार ६५० सवारी चालकको कारवाहीबाट रु २८ लाख ४२ हजार ५००, कात्तिकमा चार हजार ४०० चालकको कारवाहीबाट २७ लाख २२ हजार र मङ्सिरमा चार हजार ५५० सवारी चालकको कारवाहीबाट रु २८ लाख १५ हजार राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।

सो अवधिमा दुई हजार ७३५ बस चालक, तीन हजार ६७७ ट्रक चालक, दुई हजार ६१५ जीप चालक, सात हजार ६६० मोटरसाइकल चालक, एक हजार ९२७ ट्र्याक्टर चालक, एक हजार ६८६ टेम्पो चालक गरी जम्मा २० हजार ३०० सवारीसाधन चालक कारवाहीमा परेको ट्राफिक प्रमुख रेग्मीले जानकारी दिए ।

उनले मापसे गरेर सवारी चलाएका, सिटबेल्ट नलगाएका, उछिन्ने, छतमा यात्रु राखेका, प्रयोजन विपरीत चलाएका, लेन अनुशासन मिचेकाजस्ता कारणले गर्दा उनीहरुलाई कानूनी दायरामा ल्याइएको बताए ।

प्रकाशित मिति: Dec 25, 2019

प्रतिक्रिया दिनुहोस्