Logo
१३ बैशाख २०८१, बिहीबार
(December 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैतडी डोजर प्रकरण : महिला हुत्याउने चालक थुनामुक्त

बैतडी : डोजरले महिला हुत्याउने डोजर चालक किशोर बोहरा थुनामुक्त भएका छन्। बैतडीको दशरथचन्द नगरपालिका(९ ग्वाल्लेकमा गत कात्तिक ४ गते सडक निर्माणका क्रममा डोजरले महिला हुत्याएको भिडियो सार्वजनिक भएको थियो।

ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेपछि बोहरालाई पुर्पक्षका लागि जिल्ला अदालतले मंसिर १ गते कारागार चलान गरेको थियो। जिल्लाको अदालतको आदेशलाई उल्ट्याउँदै उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासले बोहरालाई थुनामुक्त गरी धरौटीमा रिहा गरी अनुसन्धान गर्न आदेश दिएको छ।

उच्च अदालतको पौष ३ गतेको आदेशअनुसार बोहरालाई ५० हजार धरौटीमा रिहा गरिएको जिल्ला कारागार बैतडीका जेलर अनिल तिवारीले जानकारी दिए।

बोहरामाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको र सो मुद्दाको टुंगो नलागेकाले उच्च अदालतको आदेशअनुसार धरौटीमा रिहा गरिएको उनले बताए। यसअघि डोजर चलाउन उक्साउने आरोपमा पक्राउ परेका स्थानीय भोजराज जोशी र धर्मानन्द जोशी तथा डोजर मालिका भानीदत्त जोशी पनि जनही ५० हजार धरौटी बुझाएर रिहा भएका थिए।

सडक खन्ने क्रममा डोजरले स्थानीय गौरी जोशीलाई हुत्याएपछि सो घटनाको सर्वत्र आलोचना गरिएको थियो। डोजरकाण्ड पछि अहिले सो क्षेत्रमा सडक निर्माण कार्य भने पूर्णरूपमा रोकिएको छ।

प्रकाशित मिति: Dec 24, 2019

प्रतिक्रिया दिनुहोस्