Logo
७ बैशाख २०८१, शुक्रबार
(December 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्र यादवको संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदमा अस्विकार

उपप्रधानमन्त्री तथा कानूनमन्त्री उपेन्द्र यादवको संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्रीले अस्विकार गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘स्टप इट’ भनेपछि संविधान संशोधन गर्ने उपप्रधानमन्त्री यादवको प्रस्ताव मन्त्रिपरिषद बैठकमा प्रवेश हुनबाट रोकिएको अनलाइन खबरले समाचार सार्वजनिक गरेको हो ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकको अन्त्यमा कानूनमन्त्री समेत रहेका यादवले संविधान संशोधनको लिखित प्रस्ताव पेश गर्न खोजेको थिए ।

मन्त्रिपरिषद स्रोतका अनुसार नियमित एजेण्डामा छलफलपछि बैठक सकिने बेला उपप्रधानमन्त्री तथा कानुनमन्त्री यादवले ‘प्रधानमन्त्रीज्यू, मेरो एउटा प्रस्ताव छ’ भन्दै बन्द खाम टेबुलमा राखेका थिए । प्रधानमन्त्रीले के प्रस्ताव हो ? भनेपछि उनले संविधान संशोधनबारे भएको बताए ।

समाचारमा भनिए अनुसार यादवले त्यति भन्नासाथ प्रधानमन्त्री ओली ‘स्टप इट’ भन्दै धाराप्रवाह बोल्न थाले । देशको नेतृत्व गरेको सत्ता सञ्चालक पार्टीसँग छलफल नगरेको र मन्त्रिपरिषदमा प्रस्ताव ल्याउने प्रक्रिया समेत नपुर्‍याई प्रस्ताव ल्याउन खोजिएको भन्दै प्रधानमन्त्रीले त्यसमाथि छलफल होइन बैठकमा प्रवेश नै नहुने बताए ।

प्रधानमन्त्रीको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘मादल बजेपछि नाच्न आउने जो पनि हुन्छन् भन्ने कुरा विचार गर्नुपर्छ । यो संविधान संशोधनको मादल बजाउने बेला होइन । एकपटक संशोधन गरेर देश विदेश सबैतिरबाट स्वीकार्य बनाइएको हो । बारम्बार क्याबिनेटले गर्ने विषय होइन, यो प्रक्रिया पनि मिलेन, स्टप इट ।’

प्रधानमन्त्री यतिमा रोकिएनन् । उनले संविधान संशोधनका लागि राजनीतिक दलहरुबीच सहमति हुनुपर्ने भन्दै एउटा मन्त्रीले प्रस्ताव ल्याउने विषय नभएको प्रष्ट पारेका थिए । राजनीतिक स्टन्ट र बजारी खपतका लागि यस्ता प्रस्ताव नल्याउन समेत प्रधानमन्त्रीले उपप्रधानमन्त्री यादवलाई सुझाएको एक मन्त्रीले बताए ।

प्रधानमन्त्रीको भनाइ थियो-संविधान संशोधनको कुरा यसरी क्याबिनेटमा ल्याउन मिल्दैन । एउटा मन्त्रीले ल्याउने प्रस्ताव होइन । कि प्रमले ले भन्नुपर्‍यो कि त प्रमुख राजनीतिक शक्तिहरुबीच सहमति हुनुपर्‍यो । जुन पार्टीले यो देशमा नेतृत्व गरेको छ, त्यो पार्टीमा यसबारे छलफल नै भएको छैन ।’

प्रधानमन्त्री संविधान संशोधनप्रति कठोर देखिएको बैठकमा सहभागी एक मन्त्रीले बताए । संविधान संशोधन हुनै नसक्ने होइन तर यसरी ल्याउने प्रक्रिया मिलेन भनेको एक मन्त्रीले बताए ।

प्रधानमन्त्री संविधान संशोधनको प्रस्तावनै अश्वीकार गरेपछि उपेन्द्र एक शब्द पनि बोेलेनन् । उनले संविधानको कुनकुन धारामा संशोधन गर्ने भन्ने प्रस्ताव लगेका थिए भन्ने चाहिँ खाम नै नखोलिएकाले कसैले थाहा पाएनन् ।

स्रोतकाअनुसार मन्त्रालयबाट सो प्रस्ताव उठेको होइन । उनले राजनीतिक एजेण्डाका रुपमा ठाडो प्रस्ताव लगेको बताइएको छ ।

स्वास्थ्य मन्त्रालय र एक राज्यमन्त्री खोसिएपछि पनि सरकार नछाडेका समाजवादी पार्टीका अध्यक्ष समेत रहेका यादवमाथि राजपासँग नेकपाले राष्ट्रियसभा निर्वाचनको गठबन्धन गरेपछि थप दबाब परेको छ ।

त्यसबोला उनले संविधान संशोधनका लागि प्रस्ताव लैजाने र त्यसमा प्रधानमन्त्रीको रवैया हेरेर मात्र निर्णय गर्ने जवाफ पार्टीमा दिएका थिए ।

प्रधानमन्त्रीले उनको प्रस्ताव नै खारेज गरिदिएपछि अब समाजवादी पार्टी क गर्छ ? यो प्रश्न उठेको छ । यद्यपि प्रधानमन्त्री निकट स्रोतले भने समाजवादी सरकारबाट बाहिरिएमा राजपा भित्रिने बताएको छ ।

यसअघि सरकारका प्रवक्ता गोकुल बास्कोटाले राजपा संघीय सरकारमा सामेल हुन सक्ने संकेत गरेका थिए ।

प्रकाशित मिति: Dec 23, 2019

प्रतिक्रिया दिनुहोस्