Logo
७ बैशाख २०८१, शुक्रबार
(December 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कृषि प्रवद्र्धन तथा यान्त्रीकरणका लागी किसानलाई ४ करोड बढी अनुदान

भरतपुर : चितवनको भरतपुर महानगरपालिकाले कृषि प्रवद्र्धन तथा यान्त्रीकरणका लागि किसानलाई ४ करोडभन्दा बढी अनुदान दिने भएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले कृषिलाई प्रमुख प्राथमिकता दिएर गत वर्षको भन्दा बढी अनुदान दिन लागेको बताइन् । उनले भनिन्, ‘गत वर्ष चार करोडको हाराहारीमा अनुदान दिएका थियौँ भने अहिले कृषि प्रवद्र्धन तथा यान्त्रीकरणको लागि चार करोडभन्दा बढी अनुदान दिँदै छौँ ।’

भरतपुर महानगरपालिकाले नेपाल सरकारको सशर्त अनुदानसहित समूह, सहकारी र निजी फर्महरुलाई चार करोड २० लाख ५० हजार अनुदान वितरण गर्न लागेको प्रमुख दाहालले बताइन् । ‘भरतपुर महानगरको आफ्नै बजेटबाट दुई करोड ४७ लाख ५० हजार र नेपाल सरकारबाट एक करोड ७३ लाख रूपैयाँ अनुदान वितरण गर्न लागेका छौँ’, वरिष्ठ कृषि विकास अधिकृत काशीराज हमाललेभने, ‘महानगरका समूह, सहकारी तथा निजी फर्महरुबाट प्रस्ताव माग गरेका थियौँ, प्रस्तावको समय सकिएको छ ।’

महानगरको कृषि शाखा अधिकृत विनोद लामिछानेका अनुसार ३० दिनभित्र सम्पूर्ण कागजातसहित आवेदन माग गरेका थियौँ, त्यसको समय सकिएको छ, अब अनुगमन गरी यही महिनाभित्र अनुदान वितरण गर्ने किसान, समूह र निजी फर्महरु छनौट गरिन्छ । भरतपुर महानगर कृषि शाखाका अनुसार कृषि यान्त्रीकरण र कृषि बजार प्रवद्र्धनका लागि ८५ प्रतिशतसम्म अनुदान रहेको छ । शाखाका अनुसार कम्ब्राइन्ड हार्भेस्टर धान, गहुँ काट्नेदेखि थन्क्याउनेसम्म मेसिनमा ५० प्रतिशत अनुदान रहेको छ ।

कति समूह, सहकारी तथा निजी फर्मलाई वितरण गर्ने निर्णय भएको छैन, माग कति आउँछ त्यसको अनुपातमा अनुदान वितरण गर्नेछौँ’, वरिष्ठ कृषि विकास अधिकृत हमालले भने, ‘यसपटक कृषि यान्त्रीकरणमा बढी अनुदान दिएका छौँ ।’ उनका अनुसार धान रोप्ने मेसिनमा ५० प्रतिशत अनुदान दिएका छौँ । उनले भने, ‘५० प्रतिशत अनुदान दिन्छौँ, ५० प्रतिशत कृषि फर्म, सहकारी तथा समूहको हुन्छ ।’

यसैगरी, गरा सम्याउने लेजर लेभलरमा ५० प्रतिशत, कल्टी हाइड्रोमा ५० प्रतिशत अनुदान दिइएको छ । ‘ठूलो यन्त्रमा ५० प्रतिशत र सानो यन्त्रमा ७५ प्रतिशतसम्म अनुदान दिनेछौँ’, भरतपुर महानगरपालिका कृषि विकास अधिकृत विनोद लामिछानेले भने, ‘यसपटक अनुदान रकम पनि बढेको छ, कृषिका क्षेत्र पनि बढाइएको छ ।’

संकलन केन्द्र, प्रशोधन केन्द्र, कोल्ड स्टोर निर्माणमा सबैभन्दा बढी ८५ प्रतिशतसम्म अनुदान छ । कृषि शाखाका अनुसार करार, सामूहिक खेती प्रवद्र्धन कार्यक्रममा २० लाखसम्म अनुदान छ । यस्तै, फलफूल तथा पुष्प नर्सरी स्थापनाका लागि १२ लाख ५० हजारसम्म अनुदान दिइएको छ, जुन अनुदान ८५ प्रतिशतसम्म हुन आउँछ । एक वडा एक हाटबजार व्यवस्थापन र प्रवद्र्धनका लागि पनि अनुदान दिइएको छ ।

होमस्टे प्रवद्र्धनका लागि पनि यसपटक पाँच लाखसम्म अनुदान रहेको कृषि शाखाले जनाएको छ । मेयरसँग युवा कार्यक्रमअन्तर्गत ४० जना युवालाई अनुदान दिइएको छ । महानगरका अनुसार यसको प्रस्ताव आउनेको संख्या कम भएर पुन म्याद थपिएको छ । यो अनुदान विदेशबाट फर्केका ४० वर्षमुनिका युवाले पाउने छन् । यसैगरी, भकारो सुधार कार्यक्रममा ३ लाख र कृषि बजार संकलन केन्द्र निर्माण सहयोगमा २० लाख अनुदान रहेको छ ।

प्रकाशित मिति: Dec 22, 2019

प्रतिक्रिया दिनुहोस्