Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वकै विकसित मुलुक फिनल्यान्डले छान्यो संसारकै कान्छी प्रधानमन्त्री

विश्वकै विकसित मुलुक फिनल्यान्डले संसारकै कान्छी प्रधानमन्त्री छानेको छ। सरकार चलाइरहेको पाँच दलीय गठबन्धनको नेतृत्व ३४ वर्षीया सन्ना मरिनले गर्दै्छिन्। उनले केही दिनमैं शपथ लिएर पदबहाली गर्ने कार्यक्रम छ।

शपथ लिएपछि उनी हाल पदमा रहेकामध्ये विश्वकै कम उमेरकी प्रधानमन्त्री मात्र होइन, फिनल्यान्डको सबैभन्दा कम उमेरकी प्रधानमन्त्री र संसारकै सबैभन्दा कम उमेरकी महिला प्रधानमन्त्री पनि बन्नेछिन्।

त्यहाँ अहिले चर्केको आन्दोलनलाई राम्रोसँग सम्हाल्न नसकेका प्रधानमन्त्री आन्ती रिनेले विश्वासको मत गुमाएपछि मरिन प्रधानमन्त्रीका लागि छानिएकी हुन्। रिनेकै मन्त्रिपरिषदमा उनी यातायात मन्त्री थिइन्।तीन महिनाअघि युक्रेनका प्रधानमन्त्री बनेका ३५ वर्षीय ओलेक्सेइ होन्चारुकलाई उछिन्दै मरिन विश्वकै कम उमेरकी प्रधानमन्त्री बनेकी हुन्।

न्यूजिल्याण्डकी ३९ वर्षीया जासिन्दा आर्डेर्न, ४२ वर्षीय इम्मानुयल म्याक्रोँलगायत अन्य देशमा पनि उदीयमान युवानेताले कार्यकारी प्रमुखको रुपमा सरकार हाँकिरहेका बेला ५५ लाख जनसंख्या रहेको नर्डिक मुलुक फिनल्याण्डको नेतृत्व ३४ वर्षीया मरिनको काँधमा आइपरेको हो। उत्तर कोरियाली नेता किम जोङ उन पनि ३६ कै हाराहारीको उमेरमा छन्।

संसारको ध्यान आफूतिर तानिएपनि मरिन आफैँ चाहिँ उमेरसम्बन्धी जिज्ञासालाई त्यति महत्व दिन चाहन्नन्।‘मैले आफ्नो उमेर र लैंगिकताबारे कहिल्यै धेरै ध्यान दिइनँ,’ उनले भनेकी छन्, ‘म त आफू राजनीतिमा आउनुको कारणबारे नै सोच्ने गर्छु,र त्यसैले नै हामीले आमनागरिकको विश्वास जितेका छौँ।’

नर्डिक मुलुक फिनल्यान्डकी उनी तेस्रो महिला प्रधानमन्त्री हुन्। उनको सोसल डेमोक्रेटिक पार्टी गत अप्रिलमा सबैभन्दा ठूलो दल बनेर गठबन्धन सरकारको नेतृत्व गरेको हो।

अन्तर्रा्ष्ट्रिय संचारमाध्यमका अनुसार, उनकी आमा एकल महिला हुन्। उनैले मरिनलाई हुर्काएकी थिइन्। विश्वविद्यालयमा अध्ययन गर्ने उनी परिवारकै पहिलो सदस्य पनि हुन्।

द गार्डियनका अनुसार २७ वर्षको उमेरमै औद्योगिक सहर ट्याम्पेरको सिटी काउन्सिलको प्रमुख बनेपछि मरिन राजनीतिमा उदाएकी थिइन्।

प्रकाशित मिति: Dec 9, 2019

प्रतिक्रिया दिनुहोस्