Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपनिर्वाचन २०७६ : भक्तपुर र धरानले नेकपा पराजित हुनुका ११ कारणहरु केन्द्रमा पठाए

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मंसिर १४ मा भएको उपनिर्वाचनमा भक्तपुर र धरानले पार्टी पराजित हुनुका ११ कारणहरु केन्द्रमा पठाएका छन्।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा मंसिर १८ गते बसेको नेकपा सचिवालय बैठकले उपनिर्वाचन भएका ३७ जिल्ला कमिटीलाई उपनिर्वाचनको समीक्षा तीन दिनभित्र पठाउन निर्देशन दिएको थियो।

उक्त निर्देशनपछि नेकपाले भक्तपुरमा उपनिर्वाचनमा आन्तरिक कमजोरीको कारण आफुहरुले पराजय भोग्नुपरेको र धरान उपमहानगरपालिकामा स्थानीय करकै कारण पराजय भोग्नुपरेको निष्कर्षसहितको ११ बुँदा केन्द्रसमक्ष पठाएको हो।

पार्टी केन्द्रको निर्देशन बमोजिक भक्तपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ ले कांग्रेस-राप्रपा (सयुक्त)को गठबन्धन नै हारको प्रमुख कारण औँल्याएर ३ नम्बर प्रदेश कमिटी हुँदै केन्द्रलाई समीक्षा प्रतिवेदन बुझाएको हो।

केन्द्रीय सदस्य तथा भक्तपुरका सहइन्चार्ज सोम मिश्रले उम्मेदवारी चयनदेखि कांग्रेसले साना पार्टीसँग बनाएको गठबन्धन तोड्न नसक्दा पराजय भोगेको ठहरसहितको समीक्षा केन्द्रमा पठाएको बताए।

ढकाललाई उम्मेदवार बनाएपछि नेकपाको एक समूहले उनको उम्मेदवारी फिर्ता गराउन नेकपाका शीर्ष नेताहरुसँग आग्रह गर्नुका साथै पार्टी कार्यलयमा १ दिन तालाबन्दी समेत गरेका थिए। केन्द्रले ढकालले आधिकारिक उम्मेदावर भएको बताएपछि उनीहरु चुनाव प्रचारमा होमिएका थिए। तर पराजयपछि ढकालले अन्तर्घात भएको कुरालाई अस्वीकार गर्दै आएका छन्।

यसैगरी भक्तपुरका एक जिल्ला कमिटी सदस्यले उम्मेदवारी चयन, कांग्रेस-राप्रपा सयुक्त गठबन्धन, चाँगुनारायण नगरपालिकाको कामकारबाहीप्रति जनताको असन्तुष्टि लगायतका विषय समीक्षा प्रतिवेदनको ११ बुँदामा समावेश गरिएको जानकारी दिए।

भक्तपुर क्षेत्र नं. १ ‘क’ भित्र पर्ने सबै वडा कमिटीबाट प्राप्त भएको समीक्षा रिपोर्टमा भने हारको मुख्य कारण जनतासँग खासै घुलमिल नभएका नेता उम्मेदवार बनाएको कारण तटस्थ तान्न नसक्नु भन्ने रहेको बताइएको छ। भक्तपुर १ ‘क’ मा नेकपाका उम्मेदवार देवीप्रसाद ढकाल (डीपी)लाई पराजित गर्दै नेपाली कांग्रेसका कृष्ण भँडेल निर्वा्चित भएका थिए।

धरानमा कर नै पराजयका प्रमुख कारण

नेकपा सुनसरीले पनि स्थानीय तहले लगाएको कर नै धराना उपमहानगरपालिकामा हारको मुख्य कारण भएको ठहरसहितको प्रतिवेदन केन्द्रलाई पठाएको छ।

सो ११ बुँदे समीक्षाको पहिलो नम्बरमै ‘संघीय र स्थानीय कर हारको मुख्य कारण भएको उल्लेख गरिएको नेकपा सुनसरीका एक नेताले बताए।

यसैगरी उपमहानगरका निर्वा्चित जनप्रतिनिधि (विशेषगरी उपमेयर) र केही वडाध्यक्षहरुको कार्यशैली पनि पराजयको कारण रहेको औँल्याइएको छ।

यसअघि धरानको मेयरमा निर्वा्चित भएपछि तारा लिम्बुले १२ प्रतिशतसम्म कर लिने निर्णय गरेका थिए। सो निर्णय नै पछिल्लो उपनिर्वाचनमा हारको मुख्य कारण बन्न पुगेको ती नेताको दावी छ।

त्यस्तै उपमहानगरभित्र रहेका मजदूर र सुकुम्बासीलाई पार्टीमा संगठित रुपमा जोड्न नसक्नु पराजयका अर्को कारण भएको दावी गरिएको छ।

कम्युनिष्ट गढको रुपमा रहेको धरानमा २८ वर्षपछि पहिलोपटक नेपाली कांग्रेसले मेयर चुनाव जितेको थियो । उपनिर्वाचनमा नेकपाका प्रकाश राईलाई पराजित गर्दै कांग्रेसका तिलक राई निर्वा्चित भएका छन्।

धरानमा नेकपा हार्नुका अन्य कारणमा एमाले र माओवादी केन्द्रबीच भएको एकतालाई तलैसम्म राम्ररी प्रचार गर्न नसकेको, संगठनलाई व्यवस्थित ढंंगले परिचालन गर्न नसक्नु, सरकार र स्थानीय तहले अपेक्षा अनुसार काम गर्न नसक्नु रहेका छन्।

सोमबार बस्ने सचिवालय बैठकमा सोही समीक्षाबारे छलफल गरेर नयाँ रणनीति बनाउने तयारी भएको नेकपाले जनाएको छ।

प्रकाशित मिति: Dec 9, 2019

प्रतिक्रिया दिनुहोस्