Logo
७ बैशाख २०८१, शुक्रबार
(December 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गौरीकाको कीर्तिमानसँगै नेपाललाई स्वर्णपदक, जुडोमा पनि स्वर्ण

पौडीबाज गौरीका सिंहले तेह्रौैँ दक्षिण एशियाली खेलकूद SAG मा अर्को स्वर्णपदक हात पार्नुभएको छ । सातदोबाटोस्थित पौडी पोखरीमा आइतबार भएको खेलमा गौरीकाले ४०० मिटर फ्रिस्टाइलमा निर्धारित दुरी चार मिनेट २५.२८ सेकेन्डमा पूरा गर्दै स्वर्णपदक हासिल गर्नुभएको हो ।

उहाँले भारतकी खेलाडी शिवांगी शर्मालाई पछि पार्दै नेपाललाई स्वर्ण दिलाउनुभएको हो । यससँगै उहाँले सागको एकै संस्करणमा तीन स्वर्णपदक जित्ने नयाँ कीर्तिमानसमेत कायम गर्नभएको छ ।

यसअघि उहाँले २०० मिटर ब्याकस्ट्रोक र २०० मिटर रिलेमा नेपाललाई स्वर्ण पदक दिलाउनुभएको थियो । त्यसैगरी शिवांगीले निर्धारित दुरी चार मिनेट २६.२२ सेकेन्ड समय लगाउँदै पूरा गर्नुभयो ।

तेस्रो स्थान हासिल गरेकी श्रीलङ्काकी रामुदी नुदाराले चार मिनेट ४१.९१ सेकेन्डमा दुरी पूरा गर्नुभयो ।

जुडोमा नेपाललाई स्वर्ण
तेह्रौँँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत जुडो खेलमा नेपालकी देविका खड्काले स्वर्ण पदक जित्नुभएको छ ।

लगनखेलस्थित आर्मीको शारीरिक तालीम तथा खेलकूद केन्द्रमा आइतबार भएको खेलमा देविकाले ५२ केजी तौल समूहमा नेपाललाई स्वर्णपदक दिलाउनुभएको हो ।

खड्काले अन्तिम खेलमा बङ्गलादेशकी ताहामिदा जेरिनलाई पराजित गर्दै स्वर्णपदक हात पार्नुभएको हो । उहाँ त्यसअघि पहिलोमा श्रीलङ्कन र दोस्रोमा भारतीय खेलाडीलाई पराजित गर्दै फाइनल नजिक पुग्नुभएको थियो ।

तेह्रौ दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत आईतबार लगनखेलमा भएको जुडो प्रतियोगितामा नेपाल र भारतबीच खेल खेल्दै खेलाडी ।

प्रकाशित मिति: Dec 8, 2019

प्रतिक्रिया दिनुहोस्