Logo
८ बैशाख २०८१, शनिबार
(December 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेयर मेहता २० वर्ष पुरानो गाडीमा चढ्दै, नयाँ गाडी किन्ने बजेटबाट २ शववाहन किनिने

प्रदेश १ स्थित सुनसरीको इनरुवा नगरपालिकाको एउटा छुट्टै इतिहास छ । नेपालको निकै पुराना मध्ये एउटा नगपालिका इनरुवा हुन् । २०५५–५६ साल ताका इनरुवा नगरपालिकाका तात्कालिन मेयर खेमराज पोखरेलले टाटा सुमो गाडी इनरुवा नगरपालिकामा भित्र्याउँदा ठुलो चर्चाको विषय वन्यो ।

चर्चा मात्रै हैन त्यसवेला निकै आलोचना पनि भएको कुरा सो समयका जनप्रतिनिधीहरु नै वताउँछन । आलोचना यस मानेमा कि वारुणयन्त्र नभएर इनरुवा वजारको एक घरमा आगलागी भई ठूलो नोक्सानि भएकै समय आसपासमा उक्त गाडी खरीद गरीनु त्यस समयका प्रतिपक्षीहरुको लागी समेत दमदार मसला भएको थियो । लगत्तै वारुणयन्त्र समेत नगरपालिकाले खरीद गरेपछी सो चर्चा विस्तारै इतिहास वन्न पुग्यो ।

ठिक त्यहि समयलाई फेरी एकाएक सम्झाइदिएका छन् इनरुवा नगरपालिकाका बर्तमान मेयर राजन मेहताले । टाटा सुमो गाडी भर्खरै भित्रिएको त्यस समयमा सो गाडीलाई नगरपालिकाको गाडी नामले भन्दा पनि दुइसय चौतिस अथवा दुइ, तीन, चार भनेर वढी जानिन्थ्यो । हो, त्यहि दुई सय चौँतिस भनौँ वा दुई,तीन,चार उक्त को.१.झ २३४ नम्वरको सेतो नम्वर प्लेट भएको सोहि गाडी जुन करीव २० बर्ष भन्दा पहिले पूर्व मेयर खेमराज पोखरेलले चढ्ने साधन थियो, हाल इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताको सवारी बन्न पुगेको छ ।

स्थानिय निर्वाचन नभएको दुइ दशकको अवधी सम्म थन्कीएको सो दुई सय चौँतिसलाई मेयर मेहताको पहलमा मर्मत गरी ल्याइएको छ । हाल इनरुवा नगरपालिका परीसरमा आउने अधिकांश नगरबासिहरु उक्त गाडीलाई देखेर मुखामुख गर्ने गर्छन । देशभरीका स्थानिय तहहरुमा गत निर्वाचन पश्चात जनप्रतिनिधीहरुले महँगा गाडी खरीद गरेको समाचारले चर्चा पाइरहँदा इनरुवा नगरपालिकामा भने विल्कुलै फरक दृष्य देख्न पाईन्छ ।

यस विषयमा नगरप्रमुखसँग जिज्ञासा राख्दा नगरप्रमुखको सवारी खरीदको लागी वजेट विनियोजन गरीएको भएपनि सो रकम बाट कम्तीमा २ वटा शववाहन खरीद गर्न लागेको जानकारी अनलाईन इनरुवालाई प्रमुख मेहताले दिनुभयो ।

आफुलाई गाडि चढ्ने कुनै रहर नभएको तर समय व्यवस्थापनका लागी भएपनि चढ्नै पर्ने वाध्यता भएकाले पुरानो गाडि मर्मत गरेर चढ्दा पनि आफुलाई सहज हुने हुँदा सो स्रोतलाई शव वाहन खरीद गर्नको लागी प्रक्रियामा लैजान लागिएको समेत नगर प्रमुखले वताउनु भयो ।

अधिकांश स्थानिय पालिकाहरुमा नयाँ र महँगा गाडी चढ्का लागि तँछाड मँछाड गरीरेका जनप्रतिनिधीहरुले इनरुवा नगरपालिकाका प्रमुख राजन मेहतावाट केहि पाठ सिक्ने हो कि ?

प्रकाशित मिति: Dec 7, 2019

प्रतिक्रिया दिनुहोस्