Logo
११ बैशाख २०८१, मंगलबार
(December 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकी मेडिकल कलेजबाट एमबीबीएसको प्रश्नपत्र आउट, दुई विद्यार्थी पक्राउ

काठमाडौं : आजबाट सुरु भएको एमबीबीएस परीक्षाको प्रश्नपत्र आउट भएको छ ।

प्रश्नपत्र पोखराको गण्डकी मेडिकल कलेजबाट आउट भएको हो । प्रश्नपत्र आउट भएको भन्दै विरोध गर्ने दुई जना विद्यार्थी पक्राउ परेका छन् ।

बिहान १० बजेदेखि परीक्षा भएपनि बिहान नै प्रश्न पत्र आउट भएको खुलेको छ । एमबीबीएसका विद्यार्थीहरुले शुल्कको विषयलाई लिएर परीक्षा नै नदिने घोषणा गरेपछि कलेज सञ्चालकका छोराछोरीले मात्र परीक्षा दिएको विद्यार्थीहरुको आरोप छ ।

प्रिन्सिपल रविन्द्र प्रसाद श्रेष्ठको छोरा र कलेजका सिईओ कृष्ण घिमिरेकी छोरीले मात्र परीक्षा दिएको विद्यार्थीहरुले बताएका छन् । प्रश्नपत्र आउट भएपछि परीक्षा बहिष्कार गरेर आन्दोलनमा उत्रिएका विद्यार्र्थी र प्रहरीबीच झडप भएको थियो ।

युनिभर्सल मेडिकल कलेज, चितवन मेडिकल कलेज, नेसनल मेडिकल कलेज र जानकी मेडिकल कलेजका विद्यार्थीले परीक्षा बहिस्कार गरेका छन् । आन्दोलनरत विद्यार्थीमध्ये चितवन मेडिकल कलेजका विद्यार्थीले परीक्षा बहिस्कार गरेको जनाउँदै बुधबार प्रवेश पत्र जलाएका थिए ।

चिकित्सा शिक्षा संघर्ष समितिको अगुवाइमा चितवनमा विद्यार्थीले प्रवेश पत्र जलाएका हुन् । एमबिबिएस पहिलो र दोस्रो वर्षमा उठाइएको गैरकानुनी शुल्क फिर्ता गर्ने सहमति मंसिर १० गते भएको थियो । शिक्षा मन्त्रालय र मेडिकल कलेज सञ्चालकबीच भएको उक्त सहमति ‘अमूर्त’ रहेको भन्दै विद्यार्थीले त्यसलाई अस्वीकार गरेका छन् ।

शुल्क समायोजन गरिने भनिए पनि एमबिबिएस तेस्रो र चौथो वर्षमा उठाइएको गैरकानुनी शुल्कबारे केही नबोलिएको, कुन शीर्षकमा उठाइएको कति शुल्क फिर्ता गर्ने सहमति भएको उल्लेख नभएको भन्दै विद्यार्थीले अस्वीकार गरिरहेका छन् ।

चिकित्सा शिक्षाका आठै संकायमा उठाइएको शुल्क फिर्ता गर्नुपर्ने माग विद्यार्थीको छ ।

प्रकाशित मिति: Dec 5, 2019

प्रतिक्रिया दिनुहोस्