Logo
७ बैशाख २०८१, शुक्रबार
(November 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शतबीज छर्न पशुपतिलमा लाखौँ भक्तजनको भीड (हेर्नुस् तस्विरहरु)

मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानैदेखि पशुपतिलगायत देशभरका शिवालयमा शतबीज छर्न लाखौँ भक्तजनको लर्को छ ।

हेमाद्रिलगायत धर्मशास्त्रका पुस्तकमा वर्णन गरिएअनुसार धानको १०० गेडा छर्ने विधि भएपनि हाल कतिपयले व्यवहारमा मकै, गहुँ, हलेदो, जौ, कागुनोलगायत अन्न शतबीजका रूपमा छर्ने गरेका छन् ।

हिजो बिहानैदेखि पशुपतिलगायत शिवालयमा महादीपदान गरी बसेका भक्तजनले आज बिहानै नदीमा स्नान गरी शतबीज छर्न शुरु गरेका हुन् ।

बालाचतुर्दशीसमेत भनिने मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान स्नान गरी शिवालय क्षेत्र विशेषगरी पशुपति क्षेत्रको मृगस्थलीमा धानका सय गेडा छरे दिवङ्गत पितृले मोक्ष पाउने शास्त्रीय मान्यता छ ।

मार्गशीर्ष कृष्ण त्रयोदशीको राति दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीपदान गरेपछि खानका लागि अन्न छरिएको हो भन्ने मान्यतासमेत छ । शतबीज छरेमा दिवङ्गत पितृले मोक्ष पाउने जनविश्वास छ ।

यसै विश्वासका आधारमा पशुपति क्षेत्रको विशेषगरी मृगस्थली, विश्वरूप, सूर्यघाट, कैलाशडाँडा, उमाकुण्ड, गौरीघाटलगायत क्षेत्रमा बिहानैदेखि शतबीज छर्ने भक्तजनको भीड लागेको छ ।

गत वर्षदेखि बालाचतुर्दशीको मेला भर्न पशुपति क्षेत्रमा आएका भक्तजनलाई चिसो नहोस् भनी पशुपति क्षेत्र विकास कोषले त्रिपालको व्यवस्था गरेको थियो ।

यस वर्ष त्रिपालमुनि बसेर महादीपदान गर्ने भक्तजनसँग शुल्क लिन नपाउने व्यवस्था गरिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए ।

कसैले शुल्क उठाएको पाइएमा कारवाही गर्ने उहाँले बताउनुभयो । यसका लागि पशुपति क्षेत्रको सुरक्षा कडा बनाइएको छ । चारवटै सुरक्षा निकायको समन्वयमा पशुपति क्षेत्रको सुरक्षा कडा बनाइएको हो ।

यस वर्षदेखि यो नयाँ व्यवस्था गर्दा रातभर दीपदान गरेर बस्नेलाई सुविधा पुगेको छ । विसं २०७४ सम्म त्रिपालको समेत व्यवस्था नहुँदा श्रद्धालु चिसोले कठ्याङ्ग्रिने गरेका थिए ।

प्रकाशित मिति: Nov 25, 2019

प्रतिक्रिया दिनुहोस्