Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

व्यवसायीलाई नवनियुक्त श्रममन्त्रीको आह्वान : ‘विगत बिर्सनुस्, आउनुस्, नयाँ शुरुवात गरौं’

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले विगतका कमी कमजोरी सच्याउँदै वैदेशिक रोजगार क्षेत्रलाई सहजरुपमा अघि बढाउन आफु प्रतिबद्ध रहेको दोहोर्‍याएका छन् । उनले भने, ‘म विगतमा भएका कमी कमजोर र निवर्तमान मन्त्रीको कार्यकालमा पारिएको गाँठो फुकाउन आएको छु । कामदार र व्यवसायीहरुको हितमा सहकार्य गरौं ।’

नवनियूक्त मन्त्री यादवलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिन छुट्टाछुट्टै टोली बनाएर आइतबार मन्त्रालय पुगेका नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल तथा वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चमा आवद्ध व्यवसायीहरुलाई मन्त्रालयमा संबोधन गर्दै नवनियुक्त श्रम मन्त्री यादवले उक्त धारणा राखेका हुन् ।

गत बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा नियुक्त मन्त्री यादवलाई संघले दिउँसो १ बजे र त्यस लगत्तै मञ्चद्वयले मन्त्री यादवलाई बधाई तथा कार्यकाल सफलताका लागि शुभकामना दिएका थिए । दुवै समूहका व्यवसायीलाई छुट्टा छुट्टै संबोधन गर्दै मन्त्री यादवले एउटै प्रकारको सन्देश दिए ।

उनले थपे, ‘रेमिट्यान्स देशको अर्थतन्त्रको महत्वपूर्ण आधार हो, नेपालीले रोजगारी पाउने र त्यस मार्फत रेमिट्यान्स आउने व्यवस्थाका लागि म व्यवसायीहरुसँग सहकार्य गर्न तयार छु, तर व्यवसायीहरुले गरिबी र विपन्न अवस्थामा रहेका कामदारहरुलाई छलछाम गरेर अनुचित तरीकाले विदेश पठाउन रोक्नुपर्छ । नेपाली विदेशमा श्रम बेच्न जाँदा ऊ र परिवारले भोगेको पीडा व्यवसायीहरुले अन्तरहृदयबाट बुझेर व्यवहार गर्नुपर्छ ।’

मन्त्री यादवले आफु ग्रामिण परिवेशबाट आएको र वैदेशिक रोजगारीमा जाने कामदार पनि अधिकांश गाउँका नै हुने गरेको दृष्तान्ट राख्दै भने, ‘वैदेशिक रोजगारीमा जानेको त्यागको हामीले सम्मान गर्नुपर्छ, कानूनी दाउपेचामा पार्नु भएन, प्राविधक पक्षमा कमजोर छ भने उसलाई वैदेशिक रोजगारीमा नपाठाऔं ।’

संघको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्रीले ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नारा अघि सारेको स्मरण गर्दै मन्त्री यादवले भने, ‘प्रधानमन्त्रीज्यूले अघि सारेको यो नारा उत्पादन र रोजगारी बढाएर युवाहरुलाई देश भित्रै रोजगारी दिने हो । त्यो अवस्था नबन्दा सम्म वैदेशिक रोजगारीलाई अगाडि बढाउनुपर्छ, त्यसका लागि समन्वय, सदासयता र सद्भाव हुनुपर्छ ।

त्यसका लागि म तयार छु, हिजो के के भए त्यो बिर्सेर व्यवसायी र मन्त्रालय एक अर्काका परिपुरक जस्तो हुन सक्नुपर्छ । बिगतमा के भयो बिर्सनु होस् , संगै आउनु होस्, नयाँ शुरुवात गरौं ।’

मन्त्री यादवले मञ्चद्वयका तर्फबाट उपस्थित व्यवसायीलाई संबोधन गर्दा पनि सोही कुरा दोहर्‍याए । तर भाषा केही फरक थियो । उनले भने, ‘वैदेशिक रोजगारीमा जने असाहयलाई कसरी सघाउने भन्ने विषयमा हामीले सोच्नुपर्छ । हामी कसैका केही प्रतिस्पर्धी छैनौं । मन्त्रालय र व्यवसायी प्रतिश्पर्धी होइनन् । प्रेमपूर्ण तरीकाले समन्वय र सद्भावका माध्यमबाट अघि बढौं ।’

उनले थपे, ‘मन्त्रालय म्यानपावर व्यवसायीहरुले चलाउँछन् भन्ने एउटा प्रचार छ भने सबै म्यानपावर व्यवसायी ठग हुन्न भन्ने अर्को पनि प्रचार छ । ती दुबै प्रचार हटाउनुपर्छ ।’

संघका अध्यक्ष विष्णुप्रसाद गैरेले व्यवसायीहरु वैदेशिक रोजगारीमा जाने कामदारको हितका विरोधी नरहेको भन्दै मन्त्रालयले अगाडि बढाएको शुन्य लागतको नीतिलाई कार्यान्वयन गर्न आफुहरु तयार रहेको बताए । तर उनले नेपाल सरकारले अगाडि बढाएको शुन्य लागत र सेवा शुल्क रोजगारदाताहरुले व्यहोर्ने विषयमा कामदार लिने सम्बन्धित मुलुकले कसरी लिन्छ भन्ने विषयलाई पनि नेपाल सरकारले हेक्का राख्नुपर्ने माग गरे ।

संघका प्रथम उपाध्यक्ष कमल तामाङले बढीभन्दा बढी कामदारलाई विदेशमा रोजगारी उपलब्ध गराई सोही परिणाममा रेमिट्यान्स भित्र्याउन व्यवसायीहरु तयार रहेको भएपनि निवर्तमान मन्त्रीले छलफल र भेटघाटका लागि समय समेत नदिएका कारण केही भ्रमहरु रहेको भन्दै त्यसलाई चिर्न नवनियुक्त मन्त्रीले भूमिका खेल्नुपर्ने माग गरे ।

संघको इतिहास र वर्तमानबारे परिचय गराउँदै महासचिव सुजित कुमार श्रेष्ठले व्यवसायीहरु संवाद, सहकार्य र सहमतिका लागि तयार रहेको भन्दै नवनियुक्त मन्त्रीबाट वैदेशिक रोजगारका विभिन्न पक्षहरुमा सघन छलफल र अन्तरक्रिया गरी अघि बढ्न तयार रहेको बताए ।

मञ्चद्वयका तर्फबाट शुभकामना मन्तव्य राख्दै मञ्चका अध्यक्ष चित्रगुप्त साँवा लिम्बुले वैदेशिक रोजगार गन्जागोल अवस्थामा रहेको भन्दै नवनियुक्त मन्त्रीबाट देश र वैदेशिक रोजगारीमा जाने कामदारको हित हुनुपर्ने माग गरे । उनले भने, ‘कामदार र देशले जित्ने अवस्था हुनुपर्छ व्यवसायी बरु हार व्यहोर्न तयार छौं ।’

शुभकामनाका लागि संघका पदाधिकारी, सल्लाहकार र कार्यसमिति सदस्य उपस्थित थिए भने मञ्चका तर्फबाट सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को वैदेशिक रोजगार फाँटका ईन्चार्ज श्रीप्रसाद साह सहित दुबै कार्यसमितिका पदाधिकारी, सल्लाहकार , सदस्य तथा केही वरिष्ठ व्यवसायीहरु उपस्थित रहेका थिए ।

प्रकाशित मिति: Nov 25, 2019

प्रतिक्रिया दिनुहोस्