Logo
४ बैशाख २०८१, मंगलबार
(November 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीको निर्देशन-“राज्यमन्त्रीलाई पनि साथमा लिएर परिणाममुखी काम गर्नुहोस्”

प्रधानमन्त्री केपी ओलीले प्रतिफल निस्कने गरी काम गर्न सबै मन्त्रीलाई निर्देशन दिएका छन्। काम गरे नसकिने होइन भन्दै उनले जनताले प्रत्यक्ष अनुभूति हुने गरी काम गर्न निर्देशन दिएका हुन्।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बिहीबार साझ बसेको पुर्नगठित मन्त्रिपरिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मन्त्रालयको चौमासिक समीक्षा बैठकमा आउँदा आफ्ना कार्ययोजना ल्याउन ओलीले निर्देशन दिए।

‘चार दिनपछि चौमासिक समीक्षा बैठक हुन्छ, बैठकमा प्रष्ट कार्यायोजना लिएर आउनुहोला। त्यस अनुसारको काम भए नभएको हेरेर फागनुसम्ममा सबैको मूल्यांकन हुन्छ,’ प्रधानमन्त्री ओलीले भने। सरकारको चौमासिक समीक्षा बैठक चार महिनामा बस्दै आएको छ।

ओलीले चिनियाँ राष्ट्रपति नेपाल आउँदा रातारात काम गर्न सक्ने अरु बेला नसक्ने भन्ने कुरा अब आफूलाई सहिय नहुने भन्दै प्रतिफल निकाल्ने गरी काम गर्न मन्त्रीलाई निर्देशन दिएका हुन्।

‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला काठमाडौंका सडक ७ दिनभित्र सफाचट र टिलिक्क हुन सक्ने अरु बेला किन हुन नसक्ने भन्दै जनताले प्रश्न गरेका छन, अब दायाँबायाँ, यताउता केही छैन, सडक त्यस्तै बनाउनुहोस सडकको काम असरल्ल बनाउने होइन, आइन्द यस्तो हुनु हुँदैन,’ प्रधानमन्त्रीले मन्त्रीलाई निर्देशन सुनाउँदै एक मन्त्रीले भने।

सरकारको नेतृत्व गरेको २१ महिनापछि मौजुदा मन्त्रिपरिषदका ६ मन्त्री र ३ राज्यमन्त्रीलाई पदमुक्त गरी नयाँ मन्त्री नियुक्त गरेपछि ओलीले पहिलो पटक मन्त्रीहरुलाई निर्देशन दिएका हुन्।

अन्तर मन्त्रालय समन्वयमा जोड
मन्त्रिपरिषद् पुनर्गठन लगत्तै प्रधानमन्त्रीले अन्तर मन्त्रालय समन्वयमा जोड दिन मन्त्रीहरुलाई निर्देशन दिएका छन् । अन्तर मन्त्रालय समन्वय नहुँदा सोचेजस्तो काम हुन नसकेको प्रधानमन्त्रीको स्वीकारोक्ति छ ।

सबै मन्त्री र सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले विगतको अनुभवबाट पाठ सिकेर अन्तर मन्त्रालय समन्वय गरेर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिए। ‘अन्तर मन्त्रालयमा जोड दिनु होला। हिजो यस्तो नहुँदा सरकारले सोचेजस्तो काम गर्न सकेन।’ प्रधानमन्त्री ओलीको भनाइ थियोे ।

प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षको प्रथम चौमासिकमा अपेक्षाकृत बजेट खर्च हुन नसकेकोमा समेत असन्तुष्टि व्यक्त गरेका छन्। पहिलो चौमासिकमा अपेक्षा गरेजस्तो पुँजीगत खर्च भएन। अब त्यस्तो हुन दिनुहुँदैन।’ प्रधानमन्त्रीको भनाइ थियो।

प्रधानमन्त्रीले भ्रष्टाचारमा सरकारले शून्य सहनशीलताको नीति लिएको भन्दै मन्त्रीहरुलाई भ्रष्टाचार नगर्न निर्देशन दिए। ‘भ्रष्टाचार नियन्त्रण सरकारको उच्च प्राथामितामा छ। तपाईहरु नयाँ पुराना कोही पनि भ्रष्टाचारमा नपर्नुहोला,’ प्रधानमन्त्रीको भनाइ रहेको छ ।

प्रधानमन्त्री ओलीले भारतसँगको सीमा विवाद कूटनीतिक माध्यमबाट हल गरिने बताए। ‘सीमा समस्या हल्ला गरेर हुँदैन। सरकार कूटनीतिक माध्यमबाट यसलाई हल गर्ने प्रयासमा छ।’ प्रधानमन्त्रीले भनेका छन् ।

‘दोस्रो चौमासिक समीक्षा गर्दा परिणाम देखाउनुपर्छ। हामी काम गरेपछि परिणाम निकाल्न सक्छौं। अन्तर मन्त्रालयबीच समन्वय बढाउनु होला। सम्पूर्ण लोकतन्त्रका लागि हाम्रा सबै प्रयत्न केन्द्रित गर्नुपर्छ। त्यही अनुसार काम गर्नुहोला।’ प्रधानमन्त्रीको भनाइ थियोे ।

प्रकाशित मिति: Nov 21, 2019

प्रतिक्रिया दिनुहोस्