Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मारुती सिमेन्टको स्काभेटरमा अज्ञात समूहद्वारा बम विस्फोट

मारुती सिमेन्ट काराखानाको एक स्काभेटरमा अज्ञात समूहले बम विष्फोट गरेको छ ।

गएराति स्काभेटरमा प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले दिनुभएको जानकारीअनुसार मारुती सिमेन्ट फ्याक्ट्रीको एक स्काभेक्टर बमबाट पूर्णरुपमा क्षति भएको छ । अरु एक डोजर र एक टिपरमा सामान्य क्षति पुगेको छ ।

मारुती सिमन्टले सिन्धुलीको दुधौली नगरपालिका- १४ ककुरठाकुरबाट कच्चा पदार्थ लैजानका लागि सडक निर्माणका क्रममा उदयपुर र सिन्धुलीको सिमानामा पर्ने ककुर खोलामा राति रोकी राखेको स्काभेक्टरमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

उक्त घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो । स्काभेक्टरमा बम विस्फोट भएको भए पनि अहिलेसम्म कुनै समूहले पनि जिम्मा लिएको छैन । यसैबीच हिजो दुधौली नगरपालिका- १३ अरुणठाकुरमा पनि निर्माण व्यवसायी छेत्रबहादुर बम्जनको एक स्काभेटरमा आगजनी भएको थियो ।

निर्माण व्यवसायी बम्जनले केही दिनअघि विप्लव माओवादीका कार्यकर्ता भन्दै रु एक करोड ५० लाख चन्दा मागेको जानकारी दिनुभयो । उक्त घटनामा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुधौली नगरपालिका तथा निर्माण व्यवसायीलाई रातको समयमा सवारी साधन असुरक्षित हुने महसुस भएमा नजिकको प्रहरी चौकीमा राख्न आग्रह गरिएको छ ।

प्रकाशित मिति: Nov 21, 2019

प्रतिक्रिया दिनुहोस्