Logo
८ बैशाख २०८१, शनिबार
(November 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपनिर्वाचन परिणाम काँग्रेसको पक्षमा हुने जिकिर

पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका नेता यज्ञबहादुर थापाले आउँदो उपनिर्वाचनको परिणाम काँग्रेसका पक्षमा हुने बताएका छन् ।

कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसारअन्तर्गत आज पोखरा महानगरपालिका वडा नं ४ मा घरदैलोमा सहभागी बन्दै उनले जनता सरकारका गतिविधिप्रति निराश भएका कारण काँग्रेसप्रति आकर्षण बढिरहेको जिकिर गरे ।

पार्टीका नेता कार्यकर्ता एकताबद्ध भएको चर्चा गर्दै उनले व्यापारी, उद्योगपति, पेशाकर्मी, कर्मचारी सबैको साथ र सहयोग यसपटक काँग्रेसलाई हुने विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले काँग्रेससँग जनताले धेरै भरोसा गरेको बताए । कर वृद्धि, महङ्गी, भ्रष्टाचारबाट जनताले उन्मुक्ति चाहेको उनले धारणा राखे ।

कास्की क्षेत्र नं २ मा काँग्रेसले चुनाव प्रचारप्रसारका कार्यक्रमअन्तर्गत आजदेखि दोस्रो चरणको कार्यक्रम सक्दैछ । गत कात्तिक २१ गतेदेखि शुरु भएको अभियानअन्तर्गत आज पोखरा महानगरपालिका वडा नं १६ अर्मलामा घरदैलो गरी दोस्रो चरण सक्ने र भोलिदेखि तेस्रो चरणको कार्यक्रम थाल्ने प्रचारप्रसार मूल समितिका संयोजक एवं कास्की काँग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए ।

पहिलो र दोस्रो चरणमा अधिकांश मतदातासँगको भेटघाट सकिएको जानकारी दिँदै उनले तेस्रो चरणको कार्यक्रम चुनावीसभामा केन्द्रित हुने बताए ।

पार्टीका उच्च तहका नेता सहभागी बन्ने चुनावी सभामार्फत जनताका समस्या, वर्तमान राजनीतिक परिवेशबारे पार्टीको धारणा प्रस्तुत गर्दै उम्मेदवारमार्फत यहाँको समृद्धि र विकास प्रतिबद्धता प्रस्तुत गरिने पार्टीले जनाएको छ ।

प्रकाशित मिति: Nov 21, 2019

प्रतिक्रिया दिनुहोस्