Logo
७ बैशाख २०८१, शुक्रबार
(November 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपालाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीको ‘अफर’

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनाता पार्टी नेपालका नेताहरुलाई पटक–पटक सरकारमा आउन आग्रह गरेको खुलेको छ ।

आफू निकटस्त नेताहरुलाई पठाएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले राजपाका नेताहरुलाई ‘सरकारमा आउन तयार भए समाजवादी पार्टीलाई सरकारबाट ‘आउट’ गर्ने भन्दै राजपा नेपाललाई ‘अफर’ गरेको बुझिएको छ ।

त्यतिमात्र होइन, प्रदेश २ को सरकारबाट पनि समाजवादी पार्टीलाई हटाएर राजपा र नेकपा गठबन्धनमा सरकार बनाउने प्रस्ताव पनि गरेको बुझिएको छ ।

प्रधानमन्त्री ओलीका दूत बनेर पुगेका एक नेताका अनुसार तर यो कुरा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको कानसम्म पुग्यो । त्यही भएर यादवले तत्काल सरकार नछाड्ने निर्णय लिए ।

प्रधानमन्त्री अ‍ोलीले राजपा नेपाललाई सरकारमा ल्याउन चाहेको कुरा उपेन्द्र यादवले मात्र होइन यो कुरा पार्टीका अन्य नेताहरुले समेत बैठकमा समेत उठाएका थिए ।

समाजवादी पार्टी संघीय परिषद र केन्द्रीय समितिको बैठकमा बोल्ने केही नेताहरुले सरकारबाट बाहिरिने विषयमा राजपा नेपालमाथि आशंका व्यक्त गरेका थिए ।

राजपा नेपालले समाजवादी पार्टीलाई सरकारबाट निकालेर आफू जाने तयारीमा रहेका जस्ता कुरा बैठकमा उठेको थियो । त्यसले गर्दा पार्टीका अध्यक्ष उपेन्द्र यादव थप झस्किएका कुरा बैठकमा खुलाइएको थियो ।

पार्टीका केन्द्रीय सदस्य जयराम यादव भन्छन्, ‘प्रधानमन्त्रीजीले राजपा नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेको नगरेको कुरा मलाई केही थाहा छैन तर समाजवादी पार्टीले सरकार छाडेपछि राजपा नेपाल सरकारमा सहभागी हुने आशंका चारैतिर छ ।’

यता, राजपा नेपालका प्रवक्ता एवम् महासचिव केशव झाले भने, ‘हो प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुनका लागि राजपा नेपाललाई पटक–पटक आग्रह गर्नुभएको छ । तर राजपा नेपाल तयार भएको छैन ।’

दुई महिना अगाडि समेत प्रधानमन्त्री ओलीका मान्छेहरुले विभिन्न स्रोतबाट नेताहरुसँग सम्पर्क गरि सरकारमा सहभागिताका लागि आग्रह गरेको तर आफूहरुले सिधै इन्कार गरेको उनले बताए ।

उनले प्रधानमन्त्री ओलीले राजपा नेपाललाई सरकारमा आउन गरेको आग्रहबारे आफूले नै उपेन्द्र यादवलाई समेत जानकारी दिएको बताए । उनले प्रधानमन्त्री ओलीको तर्फबाट सरकारमा सहभागी हुन आग्रह भइरहेको तर राजपा नेपाल सरकारमा नजाने भन्दै ढुक्क रहन आग्रह गरेको थिए ।

केन्द्रीय समितिको बैठकमा भएका छलफलबारे निर्णय सुनाउने जिम्मेवारी पदाधिकारीलाई दिएको थियो तर पदाधिकारी बैठक बस्ने कुनै छाँटकाँट छैन ।

अध्यक्ष यादव दिल्लीबाट नफर्केसम्म पार्टीको पदाधिकारी बैठक बस्ने सम्भावना छैन । अब उपचुनावपछि मात्र सरकारको बारेमा निर्णय लिने समाजवादी पार्टीका एक नेताले बताए ।

प्रकाशित मिति: Nov 19, 2019

प्रतिक्रिया दिनुहोस्