Logo
२४ मङि्सर २०७६, मङ्गलबार
(November 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सत्ताको आड्मा वीरगन्जका बसरुद्दिनको बदमासी

प्रधानमन्त्री केपी ओलीले १ मंसिर ०७६ मा पार्टीनिकट युवा संघ नेपालको कार्यक्रममा एक प्रतिक्रिया दिए । मेडिकल कलेजहरूले विगतदेखि नै विद्यार्थीहरूसँग तोकिएभन्दा बढी शुल्क असुलेको तर्क गर्दै ओलीले वर्तमान सरकारमाथि औँला उठाइएकोमा आपत्ति जनाए । विद्यार्थीहरूबाट गोप्य रुपमा रकम लिई ठगी गर्ने मेडिकल कलेजहरूले रकम फिर्ता गर्नुपर्ने उनले बताए । विद्यार्थीलाई मच्छडजस्तो रगत तान्ने भाँडो नबनाउन मेडिकल कलेजहरूलाई उनले चेतावनी पनि दिए ।

प्रधानमन्त्रीले प्रतिक्रिया दिएलगत्तै सरकारले मेडिकल कलेजहरूविरुद्ध कदम चालेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले वीरगन्जको नेसनल मेडिकल कलेज, विराटनगरको नोबेल मेडिकल कलेज र चितवनको चितवन मेडिकल कलेजमा छापा मारी महत्वपूर्ण कागजातहरू बरामद गरेको छ ।

वीरगन्जमा शिक्षण अस्पतालको इतिहास

०४८ र ०५१ को निर्वाचनमा काठमाडौँमा लगातार पराजित पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ०५६ मा पर्सा रोजे । पर्सा त्यसबेला कांग्रेसको किल्ला मानिन्थ्यो । वीरगन्ज बजार र केही गाउँ पर्ने निर्वाचन क्षेत्र नं १ बाट भट्टराईले उम्मेदवारी दिएका थिए । चुनावी अभियानमा मुस्लिम समुदायलाई कांग्रेसतर्फ तान्न वीरगन्जको गन्डक बहुअरी क्षेत्रमा गरिएको एक भेलामा भट्टराईले ‘प्रधानमन्त्री बनेपछि तपाईंहरूको समुदायलाई के सहयोग गर्न सक्छु’ भनी सोधेका थिए ।

नेपाल मुस्लिम रिलिफ सोसाइटीले समुदायका लागि एउटा अस्पतालको माग राख्यो । भट्टराईले ‘अस्पताल मात्र होइन, म यहाँ शिक्षण अस्पताल नै दिन्छु’ भन्ने प्रतिबद्धता गरे । निर्वाचन क्षेत्र नं १ मा कुर्मी समुदायपछि मुस्लिमको बाहुल्य छ । पहिलोपल्ट पर्साबाट निर्वाचन जित्न सफल भट्टराई प्रधानमन्त्री बनेपछि नेपाल मुस्लिम रिलिफ सोसाइटीका अगुवा काठमाडौँ पुगे । “प्रधानमन्त्री बनेकामा बधाई दियौँ,” मुस्लिम समुदायका एक अगुवा सम्झिन्छन्, “चुनावी अभियानमा हामीसँग गरेका वाचा पनि सम्झायौँ ।”

केही महिनामै भट्टराई सरकारले वीरगन्जमा ५० प्रतिशत समुदाय र ५० प्रतिशत सरकारको लगानी रहने गरी शिक्षण अस्पताल बनाउने अनुमति दियो । सोसाइटीमा त्यसबेला डा जैनुद्दिन अन्सारी (हाल नेसनल मेडिकल तथा शिक्षण अस्पतालका सञ्चालक) एक सदस्यका रूपमा थिए भने अध्यक्ष शेख नसिम अख्तर । मेडिकल कलेज सञ्चालन गर्ने अनुमति पाएपछि मुस्लिम रिलिफ सोसाइटीमा एक जना मात्र चिकित्सक सदस्य थिए । शिक्षण अस्पताल सञ्चालनका लागि चिकित्सक आवश्यक पर्ने भन्दै डा जैनुद्दिन अन्सारीकै अध्यक्षतामा मुस्लिम रिलिफ सोसाइटीले उपसमिति बनाएको थियो ।

जैनुद्दिन बसरुद्दिन अन्सारीका जेठा दाइ हुन् । बसरुद्दिन त्यसबेला काठमाडौँ कालीमाटीमा औषधी पसल सञ्चालन गरिबसेका थिए । “समुदायबाट १ करोड उठाउनुपर्नेमा करिब ८० लाख रुपैयाँ सेयरबापत संकलन भइसकेको थियो,” एक मुस्लिम अगुवा भन्छन्, “पैसा अभावमा शिक्षण अस्पताल निर्माणमा ढिलाइ भइरहेको थियो ।”

त्यही क्रममा मुस्लिम रिलिफ सोसाइटी मातहत सञ्चालन हुने अनुमति पाएको शिक्षण अस्पतालको स्वामित्व परिवर्तन गरियो । डा जैनुद्दिन अन्सारी सञ्चालक हुने गरी स्वामित्व परिवर्तन गरिएको जानकारी आएपछि मुस्लिम रिलिफ सोसाइटीले अदालत गुहार्‍यो । त्यसबेलासम्म भट्टराई सरकार ढलिसकेको थियो ।

“सोसाइटीको पक्षबाट अदालतमा केही तारेख तोड्न लगाइयो,” मुस्लिम समाजका अगुवा भन्छन्, “सोसाइटीका केही पदाधिकारी अचानक मौन बसिदिए ।” यसरी समुदायका नाममा सञ्चालन अनुमति पाएको मेडिकल कलेज निजी हुन पुगेकामा वीरगन्जका मुस्लिम समुदाय असन्तुष्ट त छन् तर खुलेर विरोध गर्ने अवस्थामा छैनन् ।

मेडिकल कलेजको स्वामित्व लिएपछि मुस्लिम समाजबाट सेयरबापत संकलित रकम फिर्ता गरिएको थियो । स्वामित्व लिएपछि अन्सारी दाजुभाइले वीरगन्जको नगवामा रहेको बाबा इन्टरनेसनल होटल भाडामा लिएर नेसनल मेडिकल कलेज सुरु गरे । डा जैनुद्दिनले सञ्चालन गर्दै आएको नर्सिङहोममा समेत कक्षा सुरु गरिए । विद्यार्थी भर्ना र अचल सम्पत्ति बैंकमा राखेर आएको रकमले वीरगन्ज सहरको पूर्वपट्टि रहेको भेडियाही क्षेत्रमा जग्गा खरिद गरी मेडिकल कलेजका लागि पूर्वाधार बनाउन थालियो ।

मेडिकल कलेजको औपचारिक उद्घाटन

२६ असार ०६६ मा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मेडिकल कलेजको औपचारिक उद्घाटन गरेका थिए । विगतमा जनशक्ति नहुँदा मेडिकल काउन्सिलबाट अनुगमन आउने बेला ‘खडेबाबा’ को प्रयोग गरिन्थ्यो । काउन्सिलको अनुगमन आउने बेला बिरामीको भीड देखाउन स्थानीय पत्रिका तथा एफएममा नि:शुल्क उपचारको विज्ञापन प्रसारण गरिन्थ्यो । कहिलेकाहीँ अनुगमनका लागि अचानक आउने अधिकारीलाई कलेजको मूलगेटभित्र प्रवेश दिइँदैनथ्यो । कर निर्धारणका लागि वीरगन्ज महानगरपालिकाका कर्मचारीलाई समेत कलेज परिसर प्रवेशमा निषेध गरिँदा प्राविधिकले गुगल म्यापको सहायताले घरजग्गा कर निर्धारण गरेका थिए । मेडिकल कलेजको सुरुआती चरणमा यस्तै हर्कतले कलेज व्यवस्थापन चर्चामा आइराख्यो ।

हुरीपीडितको उपचारमा असुली
१७ चैत ०७५ मा बारा–पर्सामा आएको विनासकारी हुरीबाट पीडित भएकाको उपचार नि:शुल्क गर्ने घोषणा कलेज सञ्चालक डा जैनुद्दिनले गरेका थिए ।

तर हावाहुरीमा परी घाइते भएकाको उपचार खर्चबापतको ३१ लाख ३८ हजार रुपैयाँ कलेज व्यवस्थापनले प्रदेश सरकारसँग २२ साउनमा असुलेको छ । जबकि हावाहुरी आएको दोस्रो दिन नै मेडिकल कलेजले आफ्नो परिसरमा नि:शुल्क उपचारको सूचना टाँसेको थियो । सूचनामा थियो, ‘नेसनल मेडिकल कलेजद्वारा नि:शुल्क स्वास्थ्योपचार एवं खानाको व्यवस्था छ । स्थान : रातो घर पूर्वपट्टिको अडोटोरियम ।’

प्रधानमन्त्री, उपप्रधानमन्त्री, मुख्यमन्त्रीलगायतको उच्चस्तरीय टोली अनुगमनमा आउँदा पनि मेडिकल कलेजले घाइतेलाई नि:शुल्क उपचार गराएको जनाएको थियो । प्रधानमन्त्री केपी ओली घाइतेको उपचारबारे अनुगमनमा मेडिकल कलेज पुग्दा एमडी बसरुद्दिन अन्सारीले घाइतेको नि:शुल्क उपचार र खानाको व्यवस्था गरेको बताएका थिए ।

पर्सा र बारामा १७ चैत ०७५ मा आएको हावाहुरीले घाइते भएका २ सय ३२ जनाको उपचार गरेको भन्दै प्रदेश सरकारबाट नेसनल मेडिकल कलेजका निर्देशक आविद हुसैनले उपचार खर्च लिएका हुन् । निर्देशक हुसैनले सुरुमा नि:शुल्क भनिए पनि प्रदेशका मुख्यमन्त्रीले उपचारको खर्च प्रदेश सरकारले दिने भनेपछि लिएको प्रतिक्रिया दिएका थिए ।

यो पनि पढ्नुस्ः मेडिकल कलेजका बेथिति : निर्लज्ज सञ्चालक, मूकदर्शक सरकार
स्रोतका अनुसार मेडिकल कलेजले दोहोरो बिल पेस गरेर उपचार खर्च बढी देखाएको छ । २७ चैत ०७५ मा कलेज व्यवस्थापनले प्रदेश सरकारलाई उपचार खर्चको बिल भर्पाइ पठाउँदा २ सय ३२ जना बिरामीको उपचार गर्दा औषधीसहितको २० लाख ६९ हजार रुपैयाँ खर्च भएको जनाएको थियो ।

त्यसबेला एक बिरामी उपचारकै क्रममा रहेको अस्पतालको पत्रमा उल्लेख छ । तर ४ असारमा पठाएको पत्रमा बाँकी बिरामीको उपचारमा थप १० लाख ६९ हजार रुपैयाँ खर्च भएको भन्दै रकम मागिएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामार्फत भएको पत्राचारमा प्रशासनले पनि छानिबनबिनै पेस भएको बिल प्रदेश सरकारलाई पठाएको थियो ।

कलेजको दादागिरी
पछिल्लो समय एमबीबीएसका विद्यार्थीले मेडिकल कलेजले लिएको अतिरिक्त रकम फिर्ताको माग राख्दै ७ कात्तिकमा गरेको आन्दोलनमा कलेज व्यवस्थापनले बाहिरबाट गुन्डा बोलाएर कुटपिट गराएको विषयले चर्चा पाएको छ । कुटपिटमा कलेजका एमडी बसरुद्दिन अन्सारीसमेत संलग्न रहेको विद्यार्थीले आरोप लगाउँदै आएका छन् । विरोध गर्ने विद्यार्थीलाई बाहिरी गुन्डा बोलाएर रातभरि बन्धक बनाएका थिए ।

१० कात्तिकमा सुरक्षाको माग राख्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको कार्यकक्षमै पुगे, विद्यार्थी । प्रहरी उपरीक्षक सोमन्द्रसिंह राठौरसमेतको उपस्थितिमा विद्यार्थीले कलेज परिसरमा आफूमाथि भइरहेको दमनबारे सुनाएका थिए । जिल्लाको प्रशासन प्रमुखबाटै आन्दोलनका क्रममा सुरक्षा ग्यारेन्टी नपाएपछि विद्यार्थी निराश भएर कलेज फर्किएका थिए । त्यस दिनदेखि उनीहरूको आन्दोलनले गति लिन सकेको छैन ।

गुन्डागर्दी गर्ने ५ जनाको नाम विद्यार्थीले दिएको बताए पनि हालसम्म ती पक्राउ परेका छैनन् । प्रजिअ भट्टराईले फेरि कुटपिट वा दुव्र्यवहार भए तत्काल खबर गर्न विद्यार्थीलाई सल्लाह दिएर फर्काएका थिए । काठमाडौँ उपत्यकाबाहिर राज्यले निर्धारण गरेको ४२ लाख ५० हजार रुपैयाँ शुल्कभन्दा बढी

रकम नेसनल मेडिकल कलेजले लिएको छ । विभिन्न बहानामा प्रतिविद्यार्थी १२ लाखदेखि १५ लाख रुपैयाँसम्म बढी शुल्क असुलेको विद्यार्थीले बताए ।

शान्तिपूर्ण तबरले कलेज व्यवस्थापनसँग आफ्ना माग राख्दा कलेजका एमडी बसरुद्दिन अन्सारीले कलेजभित्रै कुटपिट गराएको संघर्ष समितिका सदस्य प्रकाश चन्दले बताएका थिए । एमबीबीएस प्रथम वर्षमा अध्ययनरत एक विद्यार्थीका अनुसार कलेज व्यवस्थापनले लाइब्रेरी चार्जको नाममा ३५ हजार, खेलकुदबापत ४० हजार, सीडीपी चार्ज ५० हजार, होस्टेल र मेस चार्ज १५ हजार, इन्टरनेटबापत १ हजार ४ सयलगायत विभिन्न शीर्षकमा १२ लाख रुपैयाँ बढी असुल्ने गरेको छ ।

“कलेजको होस्टलमा नबसे पनि त्यसको शुल्क दाखिला गर्नुपर्छ,” ती विद्यार्थी भन्छन्, “जबकि होस्टल बस्नुपर्ने अनिवार्य छैन ।” अतिरिक्त शुल्क नदिँदा कलेज व्यवस्थापनले परीक्षामा सामेल नगराउने धम्की दिएको विद्यार्थीको गुनासो छ । अतिरिक्त शुल्कबारे अभिभावक बुझ्न आउँदा कलेज व्यवस्थापनले दुव्र्यवहार गरेको विद्यार्थीले बताउँदै आएका छन् ।

उनीहरूका अनुसार १८ औँ ब्याचमा एक सय विद्यार्थी अध्ययनरत छन् । “विगत एक महिनादेखि हामीले बढी शुल्क फिर्ताको माग राखेका छौँ,” एक विद्यार्थी भन्छन्, “हाम्रो कुनै सुनुवाइ भएको छैन बरु कलेज व्यवस्थापनले बाहिरबाट गुन्डा झिकाएर धम्क्याउने गरेको छ ।”

राजनीतिक उदय
०५४ को स्थानीय निकायको निर्वाचनमा बसरुद्दिनका कान्छा भाइ ताजुद्दिन अन्सारी आफ्नै गाउँ परसौनीबिर्ताको वडा–४ को अध्यक्षमा कांग्रेसबाट चुनाव लडेका थिए । एमालेका इस्लामोद्दिन अन्सारीसँग उनी पराजित भएका थिए । गाउँलेका अनुसार बसरुद्दिनको परिवार पहिले कांग्रेसी पृष्ठभूमिको हो । नेपाल मुस्लिम रिलिफ सोसाइटी मातहत सञ्चालन अनुमति पाएको शिक्षण अस्पतालको स्वामित्व परिवर्तनमा कांग्रेसका नेताहरूले अन्सारी परिवारलाई सहयोग गरेका थिए ।

०६३/६४ को मधेस आन्दोलनपछि राजनीतिमा उदाएका उपेन्द्र यादवको मधेसी जनअधिकार फोरमसँग पनि केही वर्ष बसरुद्दिन अन्सारीको निकटता थियो । फोरमका नेताहरूलाई सिमरा एयरपोर्टमा ल्याउन–पुर्‍याउन उनी आफँै पुग्थे । वीरगन्जमा भएको फोरमको पहिलो महाधिवेशनमा उपेन्द्रलगायतका नेता बसरुद्दिनसँगै महाधिवेशनस्थल पुगेका थिए ।

०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा बसरुद्दिन माओवादीको टिकटमा पर्सा क्षेत्र नं २ बाट निर्वाचनमा होमिए । तेस्रो चरणको स्थानीय तहको निर्वाचनको ठीक अगाडि बसरुद्दिन तत्कालीन एमालेमा प्रवेश गरे । एमालेको टिकट लिएर वीरगन्ज महानगरपालिकाको मेयरको चुनाव लडे । गाउँको वडामा पनि चुनाव जित्न नसकेको अन्सारी परिवार अहिले जिल्ला मात्र नभई प्रदेश २ मै नेकपाको शक्तिकेन्द्रका रूपमा उदाएको छ ।

२६ असार ०६६ मा नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको नयाँ भवनको उद्घाटनका लागि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आउँदा स्थानीय एमाले नेताले विरोध गरेका थिए । “अब विरोध गर्ने अवस्था छैन,” नेकपा पर्साका एक नेता भन्छन्, “जिल्ला, प्रदेश संयोजक, पार्टी अध्यक्ष, प्रधानमन्त्रीसँग उही निकट छ, उसको विरोध गर्‍यो भने पार्टीमै बस्न गाह्रो हुन्छ ।” शिक्षण अस्पताल परिसरमै रहेको सुविधाजनक अतिथिगृहमा जिल्ला भ्रमणका बेला पार्टीका उच्च नेताको बास हुने गरेको छ । प्रहरी प्रशासनका उच्च अधिकारी पनि उक्त गृहमा बस्ने गरेका छन् ।

नेपाल म्यागजिन

प्रकाशित मिति: ३ मंसिर २०७६, मंगलवार १७:५३

प्रतिक्रिया दिनुहोस्