Logo
७ बैशाख २०८१, शुक्रबार
(November 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारको असहिष्णु व्यवहार, आलमलाई भएको कारबाही स्वीकार्य : नेपाली कांग्रेस

प्रतिपक्षी नेपाली कांग्रेसले आफ्ना सांसद महोम्मद आफ्तफ अलामलाई कानुन बमोजिम भएको कारबाही स्वीकार्य हुने बताएको छ। रौतहटबाट प्रतिनिधिसभामा कांग्रेसका तर्फबाट निर्वाचत सांसद आलमलाई जिल्ला अदालतले १२ वर्षअघि मानिसलाई जिउँदै इँट्टाभट्टामा जलाएको आरोपमा पुर्पक्ष थुनामा पठाएको छ।

मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले कानुन बमोजिम हुने कारबाहीलाई कांग्रेसले सकारात्मक रुपमा लिने बताएका हुन्।

‘कानुन बमोजिम हुने कारबाहीमा कुरामा हाम्रो समर्थन र सहयोग रहन्छ। हामीले सुरुमै पनि भनेका थियौँ, कांग्रेस कानुनी शासनमा विश्वास गर्छ’, शर्माले भने।

सुरुमा आलम पक्राउको विरोध गरेको कांग्रेसले चौतर्फी विरोध भएपछि कानुन बमोजिम हुने कारबाहीलाई समर्थन गर्ने बताएको थियो।

यस्तै कांग्रेसले नेकपा नेतृत्वको सरकारले २१ महिनामा गरेको कामको गम्भीरतापूर्वक समिक्षा गर्न आम जनतालाई अपिल गरेको छ।

मंसिर १४ गते हुन लागको उपचुनावमा कसलाई मत दिने भन्नेबारे सरकारले यो अवधिमा गरेको कामलाई समीक्षा गर्न शर्माले मतदातालाई आग्रह गरेका हुन्।

‘चुनावको बेला गरिएको अपेक्षाभन्दा आज कम्युनिष्ट कसरी चलेको छ हेर्नुहोस्। जनताले समिक्षा गर्ने बेला भयो। ‘के लामबद्ध भएर चुनावमा मतदान गरिरहँदा यस्तै अपेक्षा गर्नुभएको थियो?’, शर्माले प्रश्न गरे।

कांग्रेसले सरकार २१ महिनाको अवधिमा २१ वटै विषयमा असफल भएको आरोप लगाएको छ। राष्ट्रियताको नारा दिएर केपी शर्मा ओलीले सरकार गठन गरे पनि त्यो मुद्दालाई सरकारले छाडेको कांग्रेसको आरोप छ।

लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे अझै पनि सरकारले भूमि फिर्ताका लागि ठोस पहल नगरेको शर्माले बताए। ‘नक्साबारे अझै पनि सरकारले ठोस पहल कदमी लिएको छैन। भारतीय सेना फिर्ता गरेर नेपाली भूमिलाई फिर्ता ल्याउन ठोस रुपमा काम भएको पाइँदैन।

यत्तिका दिनसम्म अहिलेसम्म केही भएन, मिडिया खपतका लागि मात्र बोलिएको छ’, उनले भने। प्रवक्ता शर्माले सरकारको असहिष्णु व्यवहार प्रर्दशन गरेको समेत उल्लेख गरे।

प्रकाशित मिति: Nov 19, 2019

प्रतिक्रिया दिनुहोस्