Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लेनदेन विवादमा आपसी मिलापत्र पछि रूप ज्योति हिरासतमुक्त

चर्चित व्यापारिक घराना ज्योति ग्रुपका सदस्य रूप ज्योति हिरासतमुक्त भएका छन्।

जाहेरवाला पक्षसँग आपसी मिलापत्र गरी महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट रूप ज्योति हिरासतमुक्त भएका हुन्।

ठगी मुद्दामा उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको थियो।

जिल्ला सरकारी वकिल कार्यालयमा दुवै पक्षबीच मिलापत्र भएपछि ज्योतिलाई थुनामुक्त गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अशोक सिंहले बताए।

उनी र व्यवसायी विजेन्द्रकृष्ण मल्लबीच लेनदेन विवाद थियो। मल्ल र ज्योतिबीच सो लेनदेनमा सरकारी वकिलको कार्यालयमा ‘सहमति’ भएपछि प्रहरीले छोडेको हो।

‘हामीबीच हाम्रो पुरानो कारोबार मिलाउने आपसी सहमति भएपछि मैले मुद्दा अघि नबढाउन सरकारी वकिलको कार्यालयमा निवेदन दिएको हुँ,’ मल्लले भने।

ज्योति र मल्लबीच घर-जग्गा कारोबारको विवाद थियो। घर निर्माण गर्ने सर्तमा एक करोड ३६ लाख रुपैयाँ पैसा लिएर लामो समय न घर न जग्गा फिर्ता भएको भन्दै मल्लले प्रहरीमा ठगी मुद्दाको जाहेरी दिएका थिए।

त्यही जाहेरीका आधारमा सर्वोच्च अदालतले पक्रन अनुमति दिएपछि प्रहरीले कात्तिक २१ गते ज्योति र उनकी छोरी सुरुचिलाई त्रिभुवन विमानलस्थलबाट पक्राउ गरेको थियो।

सोही प्रकरणमा ज्योतिका दाइ पद्मज्योतिलाई समेत काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको थियो। यसबीचमा दुवै पक्षबीच ‘विन-विन’ समझदारी भएको ज्योतिनिकट स्रोत बताउँछ।

जग्गा बैनाबापतको पैसा ज्योतिले फिर्ता दिने सहमति भएको भनिए पनि दुवै पक्षले यसलाई ‘गोप्य’ राखेका छन्। ‘हामीबीच समझदारी भएको हो, यसमा के भयो भन्ने कुरा उल्लेख गर्दिनँ,’ मल्लले भने।

 

प्रकाशित मिति: Nov 15, 2019

प्रतिक्रिया दिनुहोस्