Logo
७ बैशाख २०८१, शुक्रबार
(November 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सीमा विवाद चर्किएपछि पोखरामा नेपाल-भारत सीमा सुरक्षा बैठक बस्दै

सीमा विवाद चर्किएको बेला नेपाल र भारत दुवै देशका अधिकारी सम्मिलित सीमा सुरक्षा बैठक मंसिर पहिलो साता बस्ने भएको छ । बैठक आउँदो मंसिर ४ गतेदेखि ६ गतेसम्म पोखरामा बस्ने तय भएको छ ।

सीमा विवाद फेरि एकपटक चर्किएको बेला बस्न लागेको सीमा सुरक्षा बैठकमा नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी) का प्रमुखसहितका अधिकारीहरु सहभागी हुनेछन् ।

बैठकमा पेस गर्ने एजेण्डा तयार पारेर सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालले गृह मन्त्रालयमा पेस गरेका छन् । सो प्रस्ताव गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयमा बुझाएको छ ।

यद्यपि सो बैठकमा भारतले हालै जारी गरेको विवादित नक्सा र भारतद्वारा अतिक्रमित नेपाली भूमिबारे छलफल गर्ने एजेण्डा भने छैन । गृहमन्त्रालय स्रोतले अनलाइनखबरसँग भन्यो, ‘सीमा अपराध, सीमामा संयुक्त गस्तीलगायतका विषयमा बैठकमा छलफल हुन्छ, सीमा विवादको विषयमा भने छलफल गर्ने एजेण्डा अहिलेसम्म बनेको छैन ।’

हरेक वर्ष आयोजना हुनुपर्ने नेपाल-भारत सीमा सुरक्षा बैठक नियमित हुन सकेको छैन । २०६९ सालयता जम्मा तीनपटक सीमा सुरक्षा बैठक बसेको छ । २०६९ सालमा भारतमा पहिलो बैठक बसेको थियो ।

त्यसपछि दोस्रो बैठक २०७२ सालमा नेपालमा बसेको थियो । २०७३ साल साउन अन्तिम साता भारतको नयाँदिल्लीमा तेस्रो बैठक बसेको थियो । चौथो बैठक आउँदो मंसिर पहिलो साता पोखमा बस्न लागेको हो ।

नेपालको दार्चुला जिल्लामा पर्ने लिपुलेक, कालापानीलगायतका भूभाग आफ्नो क्षेत्रमा पारेर भारतले हालै नयाँ नक्सा सार्वजनिक गरेपछि भारतविरुद्ध नेपालीको आक्रोश बढेको छ ।

सरकारलेसमेत कालापानी, लिपुलेकलगायत भारतले मिचेको भूभाग नेपालकै भएको भन्दै भारतको नक्सा सच्याउन कूटनीतिक पहल गर्ने बताएको छ ।

सरकारको यो कामलाई सबै राजनीतिक दलले साथ दिने आश्वासनसमेत दिएका छन् । तर, भारतले भने आफूले जारी गरेको नक्सा सही भएको दाबी गर्दै आएको छ ।

 

 

प्रकाशित मिति: Nov 15, 2019

प्रतिक्रिया दिनुहोस्