Logo
७ बैशाख २०८१, शुक्रबार
(November 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली नेतृत्वको सरकारबाट नबाहिरिए समाजवादीसँग एकता हुन्न : राजपा

केपि शर्मा ओली नेतृत्वको संघीय सरकारबाट बाहिरिने निर्णय समाजवादी पार्टीको बैठकले गरे मात्रै एकता हुने राजपाका नेताहरूले बताएका छन् । समाजवादीले सरकार छोड्ने निर्णय नगरे एकताका लागि आफूहरूले कुर्नुको औचित्य नहुने राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले बताए ।

सरकारबाट बहिर्गमनलाई नै राजपाले एकताको सर्त बनाएपछि समाजवादीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले पार्टीको संघीय परिषद् बैठकसम्म कुर्न आग्रह गर्दै आएका थिए । बिहीबार सुरु बैठकमा अध्यक्ष भट्टराईले पेस गरेको राजनीतिक प्रतिवेदनमा सरकारबाट पार्टी बाहिरिने प्रसंग छैन ।

समाजवादी पार्टीसँग एकताका लागि राजपाले बनाएको समितिका संयोजकसमेत रहेका महतोले भने, ‘पार्टी एकता गर्ने भनेको संविधान संशोधन गर्न सरकारलाई दबाब दिने शक्ति आर्जन गर्न हो । तर, सरकारमै बसेको पार्टीसँग एकता गरेर त्यो शक्ति आर्जन हुन सक्दैन । तसर्थ, सरकारबाट बाहिरिने निर्णय समाजवादी पार्टीले गरेन भने अहिलेका लागि पार्टी एकताको च्याप्टर बन्द हुन्छ ।’

समाजवादी पार्टीसँग एकता प्रसंग चलेपछि राजपाको महाधिवेशन प्रक्रिया पनि अघि बढेको छैन । महतोले एकताका लागि अधिकांश विषयमा सहमति जुटेको जानकारी दिए ।

‘एकताका लागि विभिन्न चरणमा भएका वार्तामा अधिकांश विषय मिलेका छन्, मुख्य विषयमा नै साथीहरूले निर्णय गर्न सक्नुभएको छैन,’ महतोले भने ।

अध्यक्षमण्डलका अर्का सदस्य शरत्सिंह भण्डारीले पनि समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय नगरे एकता प्रक्रिया बन्द गरेर पार्टी महाधिवेनमा अघि बढ्ने बताए ।

राजपाको अहिले तल्ला तहको अधिवेशन भइरहेको छ । २४ कात्तिकमा वडा समितिको तदर्थ समिति अधिवेशन गरेको राजपाले २६ कात्तिकमा पालिका समितिको अधिवेशन भ्याएको छ ।

प्रकाशित मिति: Nov 15, 2019

प्रतिक्रिया दिनुहोस्