Logo
८ बैशाख २०८१, शनिबार
(November 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मंसिर १४ उपनिर्वाचन : देशभर उत्साहपूर्ण उम्मेदवारी दर्ता

स्थानीय तहमा रिक्त पदका लागि मंसिर १४ गते हुने उपनिर्वाचनअन्तर्गत बुधबार उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ। मंसिर १४ मा ५२ पदका लागि निर्वाचन हुँदैछ। तीमध्ये ४८ पदका लागि बुधबार मनोनयन दर्ता भएको हो।

यसअघि नै प्रतिनिधिसभा सदस्य एक र प्रदेशसभा सदस्य तीन पदका लागि मनोनयन दर्ता भइसकेको छ।

बुधबार उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक, गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष ४३ पदका लागि मनोनयन दर्ता भएको छ।

कुल ४८ पदका लागि सत्तारूढ दल नेकपा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, समाजवादी पार्टी, राजपा, राप्रपा संयुक्त, राप्रपालगायतका दलका तर्फबाट र स्वतन्त्र गरी २ सय ८१ जनाको उम्मेदवारी परेको छ।

यीमध्ये दलका दुई सय १७ र स्वतन्त्र ६४ जना छन्। भूमिगत रहेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले समेत रोल्पाको थवाङमा उम्मेदवारी दिएका छन्। धरान संवाददाता रोहित राईका अनुसार धरान उपमहानगरपालिकामा मेयरका लागि दलबाट १२ र स्वतन्त्र ११ जनाले मनोनयन दर्ता गराएका छन्।

धरानको मेयरमा निर्वाचित तारा सुब्बा र ७ नं. वडाका अध्यक्ष भुवन मोक्तानको मृत्यु भएपछि रिक्त दुवै पदमा उपनिर्वाचन हुँदैछ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपाबाट मेयरमा प्रकाश राईले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै कांग्रेसबाट मेयर पदमा तिलक राईले उम्मेदवारी दर्ता गराएका छन्।

समाजवादी पार्टीबाट गजेन्द्रबहाहुर लिम्बु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अम्बरबहादुर लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट कुमार बराइली, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन विश्वकर्माले पनि मेयर पदमा मनोनयन दर्ता गराएका छन्।

साझा पार्टीबाट राजनकुमार श्रेष्ठ, नेकपा मालेबाट एकराज सुब्बा, राष्ट्रिय जनमुक्ति पार्टीबाट गोकर्ण राई, नेपाल लोकतान्त्रिक पार्टीका नित्यराज काफ्ले, राप्रपा लोकतान्त्रिकका भीमबहादुर लिम्बु र आमुल परिवर्तन मसिहा पार्टीका छत्रबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराएका छन्। स्वतन्त्र उम्मेदवारी दिनेमा दावा शेर्पा, श्यामकृष्ण पहाडी भुजेल, विशाल थापा, हर्कराज राई, निदेश श्रेष्ठ ऐलिसा राई, कुमार भटराई, अमृतकुमार राई, जनार्दन कोइराला, मनराज राई र रुद्र बस्नेत छन्।

धरान-७ को वडाध्यक्ष पदका लागि नेकपाबाट जीवनराज सुवेदी, कांग्रेसबाट सुवर्णमोहन पलिखे, राप्रपाबाट दिनेश शाक्य र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट नीता राईले मनोनयन दर्ता गराएका छन्।

पाँचथर संवाददाता गिरिराज बाँस्कोटाका अनुसार फाल्गुनन्द गाउँपालिका अध्यक्षका लागि नेकपाबाट वीरबहादुर कुरुम्बाङ र कांग्रेसका जिल्ला सचिव बृजहाङ आङदेम्बेको मनोनयन दर्ता भएको छ। समाजवादीका विमला आङदेम्बे, राप्रपाका ससुहाङ चेम्जोङ, राप्रपा सयुक्तबम मोतीप्रसाद लिम्बु, लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट जितेन चेम्जोङ, राष्ट्रिय जनमुक्ति पार्टीका इच्छाबहादुर चेम्जोङ र मंगोल नेसनल अर्गनाइजेसनबाट उदय मुखियाको मनोनयन दर्ता भएको छ।

फिदिम नगरपालिका-१ मा नेकपाबाट गजाधार भट्टराई, कांग्रेसबाट शुभराज थापा, समाजवादीबाट गौरव लामा, राप्रपाबाट मिलन गिरी, राप्रपा संयुक्तबाट कल्पना राई, राप्रपा लोकतान्त्रिकाबाट जानुका थाम्सुहाङ, संघीय लोकतान्त्रिक मञ्चका वीरबहादुर केरुङको मनोनयन दर्ता भएको छ।

हिलिहाङ–७ मा नेकपाबाट गेह्रथान रिजाल, कांग्रेसबाट तिलबिक्रम इधिङ्गो समाजवादीबाट भुवानीप्रसाद लिम्बु, राप्रपा संयुक्तका मुक्तिनाथ खनाल, राप्रपाका तुलप्रसाद पन्दाक र लोकतान्त्रिक मञ्चबाट धनबहादुर थाम्सुहाङको मनोनयन दर्ता भएको छ। भोजपुर संवाददाता एक्सन राईका अनुसार संखुवासभाको मकालु गाउँपालिका अध्यक्षमा सात दलले उम्मेदवारी दर्ता गराएका छन्।

गाउँपालिका अध्यक्ष खड्ग कटुवालको सवारी दुर्घटनामा मृत्यु भएपछि रित्त अध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो। अध्यक्ष पदमा नेकपामा तेजबहादुर पोखरेल, कांग्रेसका विमन पराजुली, समाजवादी पार्टी नेपालका नुर्वु शेर्पा, संघीय लोकतान्त्रिक मञ्चका कविता राई, राप्रपा संयुक्तका मानबहादुर विक र राप्रपाका मेघनाथ राई रहेका छन्।

खाँदबारी नगरपालिका–३ को वडा अध्यक्षमा नेकपाका भरतकुमार घिमिरे र नेपाली कांग्रेसले विक्रम गुरुङले उम्मेदवारी दर्ता गराएका हुन्।मकालु गाउँपालिकामा मकालुमा ९ हजार १ मतदाता रहेका छन्। खाँदबारी–३ मा १८ सय २२ मतदाता छन्। भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिका–१ मा हुने नेकपाका जितेन राई, नेपाली कांग्रेसका समरबहादुर कार्की र मंगोल नेसनल अर्गनाइजेसनबाट कला राईले उम्मेदवारी दिएको छ।

रोल्पा संवाददाता दिनेश सुवेदीका अनुसार थवाङ गाउँपालिका–१ मा अध्यक्षका लागि एक स्वतन्त्रसहित ३ जनाले मनोनयन दर्ता गराएका छन। नेकपाबाट जनकबहादुर बुढा, कांग्रेसबाट कलमबहादुर रोका र स्वतन्त्रबाट भद्रकुमार झाँक्रीले उमेदवारी दर्ता गराए। विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता समेत रहेका झाँक्री यसअघि स्वतन्त्रबाटै वडासदस्यमा निर्वाचित भएका थिए। सदस्यबाट राजीनामा दिएर अहिले अध्यक्षमा उम्मेवारी दिएका हुन्।

गुल्मी संवाददाता शिवलाल सुवेदीका अनुसार रूरू गाउँपालिका–६ मा नेकपाबाट गिरिप्रसाद सिञ्जाली, कांग्रेसबाट वेदप्रसाद दर्लामी र मनबहादुर दर्लामीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। नेकपाका सिञ्जाली यसअघिका निर्वाचित वडा सदस्य हुन्। कांग्रेसका दर्लामी वडाध्यक्षमा पराजित भएका थिए। निर्वाचित वडाध्यक्ष तत्कालीन नेकपाका पूर्णबहादुर रेगामीको निधन भएपछि उपनिर्वाचन हुँदैछ।

अर्घाखाँची संवाददाता लक्ष्मण घिमिरेका अनुसार मालारानी गाँउपालिका–३ वडाध्यक्षका लागि ३ जनाको उम्मेदवारी परेको छ। सत्तारूढ दनेकपाका यमलाल खनाल नेपाली कांग्रेसका शोभाखर खनाल र राप्रका रणबहादुर खनालले उम्मेदवारी दर्ता गराएका हुन्। निर्वाचित वडाध्यक्ष तत्कालीन एमालेका जीवन चौहानको गत मंसिरमा सडक दुर्घटनामा निधन भएको थियो।

चौहानसँग कांग्रेसका शोभाखर खनाल ३६ मतले पराजित भएका थिए भने नेकपाका यमलाल खनाल अहिले पहिलोपटक चुनावी मैदानमा उत्रेका हुन्। दाङ संवादाता देवेन्द्र बस्नेतका अनुसार घोराही उपमहानगरपालिका–१६ को वडाध्यक्षका लागि ७ जनाको उम्मेदवारी परेको छ। नेकपाका सुरेशबहादुर केसी, कांग्रेसका ताराबहादुर डिसी, समाजवादी पार्टीका विमला पुन, राप्रपका प्रकाश केसी र मंगोल नेसनलका पहलमान आले मगरले मनोनयनपत्र दर्ता गराएको निर्वाचन अधिकृत प्रेम खड्काले बताए। स्वतन्त्र उम्मेदवार जगलाल चौधरी नेकपाका बागी उम्मेदवार हुन्।

चौधरी साविक एमालेका स्थानीय नेता हुन्। नेकपाको जस्तै भीड उतारेर उम्मेदवारी मनोनयनका लागि पुगेका चौधरीले आफ्नो ब्यानरमै ‘नेकपाका स्वतन्त्र उम्मेदवार’ लेखेका थिए। अर्का स्वतन्त्र समीर वलीले पनि उम्मेदवारी दर्ता गराए। यो वडाका अध्यक्ष तत्कालीन एमालेका लक्षिण बुढाको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो।

कपिलवस्तु संवाददाता किरणमान बज्राचार्यका अनुसार किशवराज नगरपालिका १० लालपुरको वडा अध्यक्षका लागि १२ जनाको उम्मेदवारी परेको छ। नेकपाबाट अदालत मनिहार, कांग्रेसबाट देवराज भारती, समाजवादी पार्टी नेपालबाट तीर्थबहादुर रायमाझी, राजपाबाट मन्जु मिश्र, जनमत पार्टीबाट महोम्द हानिफ गद्दी, राप्रपाबाट बलभद्र मिश्र, राप्रपा संयुक्तबाट नुर महोम्मद मनिहारको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

५ जनाले स्वतन्त्र उम्मेदवारी र्ता गराए। वडाध्यक्षमा स्वतन्त्रबाट जितेकी सकुन्तला भारतीको केही समयअघि निधन भएको थियो। अहिले कांग्रेसका तर्फबाट उठेका देवराज भारती सकुन्तलाकै छोरा हुन्।

बुटवल संवाददाता रेखा भुसालका अनुसार प्युठान जिल्लाको तीन वडाको अध्यक्षका लागि ८ जनाको उम्मेदवारी परेको छ। प्यूठान नगरपालिका २ र ऐरावती गाउँपालिकाका १ र २ को उपचुनाव हुँदैछ। प्यूठान नगरपालिका २ को वडाध्यक्षका लागि नेकपाका मुक्ति पोखरेल र कांग्रेसका मोहनसिंह विष्टले उम्मेदवारी दर्ता गराए।

ऐरावती गाउँपालिकाको वडा नम्बर १ मा नेकपाका दोर्णप्रसाद पाण्डे र कांग्रेसका अमरबहादुर रेश्मी र अर्जुन थापाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। ऐरावती–२ मा राष्ट्रिय जनमोर्चाका भक्तबहादुर विश्वकर्माको उम्मेदवारी परेको छ। नेकपाले राजमोलाई सघाउने छ। कांग्रेसका भुपाल जिसी र स्वतन्त्रबाट भीमसेनकुमार घर्तीले उम्मेदवारी दर्ता गराए।

सुर्खेत संवाददाता गणेश विशुका अनुसार हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदमा तीनजनाको उम्मेदवारी परेको छ। नेकपाबाट रूपा शाही, नेपाली कांग्रेसबाट ताराकुमारी शाही र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबाट दीपबहादुर शाहीले उम्मेदवारी दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ। उपाध्यक्ष सिन्दु हमाल शाहीको असार ३ गते कर्णाली नदीमा जिप दुर्घटना हुँदा मृत्यु भएको थियो।

सल्यान कुमाख गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्ष पदमा पाँचजनाको उम्मेदवारी दर्ता भएको छ। नेकपाबाट धर्मे बुढाथोकी, कांग्रेसबाट खड्कबहादुर बोहरा, राप्रपाबाट गोपाल शाह र स्वतन्त्रबाट चित्रप्रकाश गिरी र बलजित बस्नेतले उम्मेदवारी दर्ता दिएका छन्।

अछाम संवाददाता खम्म खत्रीका अनुसार मेल्लेख गाउँपालिका–५ मा नेकपाबाट रमेशबहादुर खड्का र नेपाली कांग्रेसबाट वीरबहादुर बोहराले उम्मेदवारी दर्ता गराए।

बैतडी संवाददाता पुस्कर भण्डारीका अनुसार पुर्चौडी नगरपालिका वडा नम्बर ४, मा नेकपाबाट शैलेन्द्र धानुक, कांगे्रसबाट गोविन्दबहादुर धामी र स्वतन्त्रबाट चन्द्र बोहराले उम्मेदवारी दर्ता गराएको छन्।

बैतडीकै दोगडा केदार गाउँपालिका–४ मा नेकपाका तर्फबाट नरेन्द्रप्रसाद भट्ट, कांग्रेसबाट सुरेन्द्रप्रसाद भट्ट र राप्रपाबाट देवसिंह खत्रीले मनोनयन दर्ता गराएका हुन्। बैतडीकै सुर्नया गाउँपालिका–१ मा नेकपाका तर्फबाट धनबहादुर चन्द र नेपाली कांग्रेसका तर्फबाट गजेन्द्र चन्दले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

डोटी संवाददाता अरुण बमका अनुसार आदर्श गाउँपालिका–२, को वडाध्यक्ष पदका लागि चारजनाको उम्मेदवारी परेको छ। नेकपाबाट रामबहादुर बोहरा, नेपाली कांग्रेसका तर्फबाट महादेव साउँद, राप्रपाका काशीराम ओझा र स्वतन्त्र उम्मेदवार भूमिसिंह खड्काको मनोनयन परेको छ।

कञ्चनपुर संवाददाता राजेन्द्र भट्टका अनुसार पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाअध्यक्ष पदका लागि ५ दलले मनोनयन दर्ता गराएका छन्। नेकपाका तर्फबाट कृष्णबहादुर तामाङ, नेपाली कांग्रेसबाट दीपबहादुर तामाङ (डीबी लामा), समाजवादी पाटीबाट भीमबहादुर पाख्रिन, राप्रपाबाट पदमबहादुर शाही र राप्रपा संयुक्तबाट धनबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन्।

बाजुरा संवाददाता कृष्ण ओलीका अनुसार त्रिवेणी नगरपालिका–१, मा हुने उपनिर्वाचनमा तीन जनाले मनोनयन दर्ता गराएका छन्। वडाध्यक्ष पदका लागि नेकपाका तर्फबाट मनराजे बुढा, नेपाली कांग्रेसका तर्फबाट खगेन्द्र चदारा र राप्रपाका तर्फबाट मीनबहादुर ढोलीले मनोनयन दर्ता गरेका हुन्।

बाग्लुङ संवाददाता संगम घर्तीमगरका अनुसार बडिगाड गाउँपालिका—२ को वडाध्यक्षका लागि बुधबार मनोनयन दर्ता भएको छ। वडाध्यक्ष विष्णु भुषाल जिल्ला समन्वय समिति उपप्रमुखमा निर्वाचित भएपछि रिक्त रहेको वडाध्यक्ष पदमा नेकपाका ढालप्रसाद शेरचन, कांग्रेसका डिलबहादुर राना र समाजवादीका हरिलाल रानाले उम्मेदवारी दिएका छन्। नेकपा र राष्ट्रिय जनमोर्चाबीच उपनिर्वाचनमा पनि गठबन्धन गरेर जाने सहमति अनुसार बडिगाड–२मा राष्ट्रिय जनमोर्चाले नेकपा उम्मेदवारलाई समर्थन गरेको छ।

खोटाङ संवाददाता दमन राईका अनुसार साकेला गाउँपालिका–३ खिदिमाको रिक्त वडाध्यक्ष पदका लागि नेकपाका शिवकला राई, कांग्रेसका शुक्रबहादुर तामाङ, समाजवादीका रमेश राई र राप्रपाका इन्द्रबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन्। तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित मणिकुमार राईको मृत्यु भएपछि निर्वाचन हुँदैछ। शिवकला मणिकुमारकै श्रीमती हुन्।

सर्लाही संवाददाता टंक क्षत्रीका अनुसारी हरिपूर्वा नगरपालिका–१ मा नेकपाका दोस मोहम्मद अंसारी, कांगे्रसका रामपृत पासवान, राजपाका रामविश्वास राय, समाजवादीका श्यामबाबु राय, जनमत पार्टीबाट दिनेश राय यादव तथा मनोजकुमार राय र मनोजकुमार यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

सप्तरी संवाददाता जितेन्द्रकुमार झाका अनुसार छिन्नमस्ता गाउँपालिका ७ मा वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा नेकपाका अच्छेलाल यादव, कांग्रेसका शिवनारायण मण्डल र राजपा र समाजवादीको संयुक्त प्यानलबाट प्रमिलादेवी यादवले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै राप्रपाबाट गजेन्द्र मण्डल, नेपाल लोकतान्त्रिक पार्टीबाट सकलदेव साह र जनमत पार्टीबाट दिनेशकुमार यादवले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै नुरहसन मंसुरी, धिरेन्द्र कुमार यादव र रञ्जित कुमार यादवले स्वतन्त्र उम्मेदवारी दर्ता गराए।

विराटनगर संवाददाता विनोद सुवेदीका अनुसार मोरङको धनपालथान गाउँपालिका–२ मा ७ जनाले मनोनयन दर्ता गरेका छन्। कांग्रेसका तर्फबाट नारायणप्रसाद साहले उम्मेदवारी दिएका छन्। समाजवादी पार्टीसँग चुनावी तालमेल गरी साहलाई उम्मेदवार उठाइएको हो।

यस्तै नेकपाका तर्फबाट पंकजकुमार मण्डल, मंगोल नेसनल अर्गनाइजेसनका मेगनाथ पासवान, नेपाल लोकतान्त्रिक पार्टीका देवनारायण मण्डल, राप्रपा संयुक्तकी ज्योति पासवान, राजपा नेपालका चरानन्द मण्डल र जनमत पार्टीबाट चरनदेवी मण्डलले मनोनयन दर्ता गरेका छन्। यसअघिको निर्वाचनमा धनपालथान– २ मा नेकपाका बलिराम भगतले १ हजार १ सय ४६ मत ल्याएर विजयी भएका थिए।

नागरिक दैनिकबाट

प्रकाशित मिति: Nov 14, 2019

प्रतिक्रिया दिनुहोस्