Logo
६ बैशाख २०८१, बिहीबार
(November 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बङ्गलादेशका राष्ट्रपतिकाे काठमाडौँ आगमन, विमानस्थलमा जे देखियो (फोटोफिचर)


राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बङगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई स्वागत गर्दै ।

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणका क्रममा आज अपराह्न यहाँ आइपुग्नुभएको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीले बङ्गलादेशी समकक्षी हमिदलाई स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चारदिने नेपाल भ्रमणमा आउनुभएका बङगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ ।

विमानस्थलको सोही कक्षमा राष्ट्रपति हमिदलाई पञ्चकन्याले पुष्पहारद्वारा स्वागत गरेका थिए । यसअघि राष्ट्रपति हमिद सवार विमान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले स्वागत गर्नुभएको थियो ।

सो अवसरमा राष्ट्रपति हमिदको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो । विशिष्ट पाहुनाको स्वागतार्थ विमानस्थलमा सातवटै प्रदेशका जीवन्त कला र संस्कृतिको झाँकी प्रदर्शन गरिएको थियो ।

विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली उपस्थित हुनुहुन्थ्यो ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीसँग बङ्गलादेशी समकक्षी हमिदले राष्ट्रपति भवन, शीतल निवासमा बुधबार अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले आफ्ना बङ्गलादेशी समकक्षी तथा उहाँले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलको सम्मानमा सोही दिन साँझ रात्रिभोजको आयोजना गर्नुहुनेछ ।

बुधबार नै बङ्गलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुहुनेछ ।

राष्ट्रपति हमिदसँग नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा तथा राजनीतिक दलका वरिष्ठ नेताहरूले पनि शिष्टाचार भेट गर्नुहुनेछ ।

नेपाल बसाइका बेला बङ्गलादेशका विशिष्ट अतिथिले भक्तपुर दरबार क्षेत्र, पोखराका साथै काठमाडौँको चन्द्रगिरि भ्रमण गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: Nov 12, 2019

प्रतिक्रिया दिनुहोस्