Logo
६ चैत्र २०८०, मंगलबार
(November 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पर्यटन आगमनमा बृद्धि : १० महिनामा भित्रिए १० लाख पर्यटक

विगत १० महिनाको अवधिमा करिब १० लाख पर्यटक नेपाल भित्रिएका छन् ।

अध्यागमन विभागका अनुसार सन् २०१९ को अक्टोबरसम्म नौ लाख ७५ हजार ५५७ जनाले नेपाल भ्रमण गरेका छन् । यो सङ्ख्या गत वर्षको तुलनामा आठ प्रतिशतले बढी हो ।

नेपाल घुमघामका लागि मुख्य सिजन मानिने अक्टोबरमा पर्यटकको सङ्ख्यामा आएको वृद्धिले कुल पर्यटक सङ्ख्या बढाउन सहयोग पुगेको छ । विभागका अनुसार अक्टोबरमा मात्रै एक लाख ४३ हजार विदेशी नेपाल आएका छन् ।

अघिल्लो वर्षको अक्टोबरमा यस्तो सङ्ख्या करिब एक लाख ३१ हजार थियो । यस हिसाबले अक्टोबरमा भित्रिने पर्यटकको सङ्ख्यामा अघिल्लो वर्षको तुलनामा १० प्रतिशतको वृद्धि आएको छ ।

अक्टोबरमा सबैभन्दा धेरै चिनियाँ पर्यटक नेपाल आएका छन् । विभागका अनुसार १५ हजार चिनियाँ पर्यटक यस अवधिमा नेपाल भित्रिएका छन् । काठमाडौँ, पोखरा र सौराहा घुमघामसहित पछिल्लो समय पदयात्रामा चिनियाँ पर्यटकको रोजाइमा पर्न थालेको छ ।

चीनपछि करिब १३ हजार भारतीय पर्यटकले नेपाल घुमघाम गरेका छन् । यो समयमा भारतीय पर्यटकको मुख्य रोजाइ पोखरा र मुस्ताङ हुने गर्छ ।

भारतसहित सार्क क्षेत्रबाट २१ हजार सात सय पर्यटक यो अवधिमा नेपाल आएका छन् । गोरखापत्र दैनिकबाट साभार।

प्रकाशित मिति: Nov 9, 2019

प्रतिक्रिया दिनुहोस्