Logo
१५ चैत्र २०८०, बिहीबार
(November 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हाम्रो समाज : अस्पताल जान बिकट क्षेत्रकी बालिकाले जहाजको टिकट पाइनन्

कर्णाली प्रदेश स्थित मुगु जिल्लामा घरको छतबाट खसेर टाउकोमा गम्भीर चोट लागेकी मुगुकी एक बालिकालाई हवाई टिकट नपाउँदा उपचारका लागि अस्पताल लैजान समस्या भएको छ ।

चार दिनअघि छतबाट खसेर टाउकोमा गम्भीर चोट लागेकी मुगुको छायानाथ रारा नगरपालिका–६ रञ्जनमालाकी ९ वर्षकी बालिका ममता नेपालीलाई उपचारका लागि नेपालगञ्ज लैजानका लागि विमान टिकट नपाउँदा समस्या भएको हो ।

जिल्ला अस्पताल मुगुले चोट गम्भीर रहेकाले थप उपचारका लागि नेपालगञ्ज लैजान भनेको ममताका बुवा नन्द नेपाली र आमा वैदेवी नेपालीले बताएका छन् ।

तर ताल्चा विमानस्थलबाट नेपालगञ्ज उडान भर्ने तारा एयरको विमानले ठाउँ छैन भनेर उनीहरुलाई टिकट दिएको छैन । जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई उपचारका लागि नेपालगञ्ज लैजानका लागि टिकट दिन भन्दै पत्र काटेको भए पनि एयरलाइन्सले विमानमा ठाउँ नभएको भन्दै टिकट नदिएको नन्द नेपालीले बताएका छन् ।

सो पत्रमा प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले नै तोक लगाएका छन्। तर पनि उनीहरुले टिकट पाएका छैनन्। डाक्टरले ममताको टाउकोमा गम्भीर चोट लागेकाले बसमा लैजान नमिल्ने भनेकाले विमानमा जानुको विकल्प नरहे पनि आफूहरुले टिकट नपाउँदा छोरीको उपचारका लागि अस्पताल लैजान नसकिएको आमा वैदेवीले बताइन् ।

प्रकाशित मिति: Nov 4, 2019

प्रतिक्रिया दिनुहोस्