Logo
७ बैशाख २०८१, शुक्रबार
(November 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीसँगको भेटपछि प्रचण्डले भने : ‘उहाँको डाइलाइसिस सकियो, आजै फर्किनुहुन्छ’

काठमाडौं :  पूर्व प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ग्राण्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । दिउँसो २ बजेपछि धापासी पुगेका अध्यक्ष दाहालले अस्पतालका निर्देशक चक्रराज पाण्डेसँग पनि भेट गरेका छन् ।

भेटपछि बाहिरिँदै अध्यक्ष दाहालले प्रधानमन्त्री आजै अस्पतालबाट डिस्चार्ज हुने जानकारी दिए । ‘दुई पटक डाइलाइसिस भइसकेको छ। चिकित्सकहरुले आजै डिस्चार्ज दिने भनेका छन्’, दाहालले भने, ‘मैले प्रधानमन्त्रीसँग पनि कुरा गरेँ । उनले छिटो छिटो समस्या देखिए पनि अहिले ठीक भएको बताउनुभयो ।’

अध्यक्ष दाहालका अनुसार डाइलाइसिस सएिकाले चिकित्सकहरुले केही समय आराम गराएर प्रधानमन्त्रीलाई डिस्चार्ज दिने तयारी गरेका छन् । दुई पटक डाइलाइसिस भइसकेकाले भोलि पर्सिको अवस्था हेरे थप निर्णय लिने जानकारी पाण्डेले दिएको दाहालले बताए ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका ओलीको स्वास्थ्यमा केही दिनदेखि गडबडी आएको थियो । ज्वरो तथा श्वासप्रश्वासमा समस्या भएपछि उनलाई बुधबार ग्राण्डीमा भर्ना गरिएको थियो ।

नेकपा अध्यक्षसमेत रहेका ओलीको अवस्था बुझ्न रक्षामन्त्री ईश्वर पोखरेल बिहानै ग्राण्डी पुगेका थिए । त्यसपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र अर्का नेता भीम रावल पनि ग्राण्डी पुगेका थिए ।

ग्राण्डीमा प्रमको उपचारमा संलग्न चिकित्सहरुसँग भेटेपछि नेकपा प्रवक्ता श्रेष्ठले प्रमको अवस्था ठीक रहेको जानकारी दिएका थिए । ‘मलाई चिकित्सकहरुले प्रमको अवस्था ठीक रहेको जानकारी दिए’, उनले भनेका थिए, ‘उपचार चलिरहेको छ । केही समस्या देखिएकाले त्यसको निराकरणमा लागिरहेको जानकारी चिकित्सकहरुले दिएका छन् ।’

त्यसैगरी ओलीको स्वास्थ्यअवस्था बुझ्न ग्राण्डी पुगेका नेकपा नेता रावलले अहिले डाइलाइसिस भइरहेको जानकारी दिए । ‘अहिले प्रमलाई डाइलाइसिसका लागि लगिएको रहेछ। त्यहीकारण भेट हुन पाएन। हिजोदेखि डाइलाइसिसको प्रक्रिया सुरु भएको रहेछ’, उनले भने, ‘आज डाइलाइसिस सकिएपछि चिकित्सकहरुले थप निर्णय लिने बताएका छन् ।’

आजै प्रमका प्रेस सल्लाहकार डा. कुन्दन अर्याल पनि ओलीको स्वास्थ्यअवस्था बुझ्न ग्राण्डी पुगेका थिए। अर्यालले थाहाखबरसँग कुरा गर्दै प्रमले चाँडै काममा फर्किने बताएको जानकारी दिएका छन् ।

प्रकाशित मिति: Oct 31, 2019

प्रतिक्रिया दिनुहोस्