Logo
१३ बैशाख २०८१, बिहीबार
(October 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वतमान कप्तान पारस खड्कालाई राजीनामाबारे प्रस्ट पार्न क्यानको आग्रह

काठमाण्डौ : नेपाली राष्ट्रिय क्रिकेट टिमका निर्वतमान कप्तान पारस खड्कालाई नेपाल क्रिकेट संघ क्यानले राजीनामाबारे प्रस्ट पार्न आग्रह गरेको छ । क्यानको पहिलो बैठकमै कप्तान पदबाट पारसले राजीनामा दिएको खबर मिडिया र सामाजिक सञ्जालबाट थाहा भएको भन्दै यसबारे लिखित रुपमा जानकारी गराउन आग्रह गरेको हो ।

पारसलाई क्यानले औपचारिक रुपमा बिहीबार पत्र पठाएको स्रोतले जनाएको छ । पारसले नयाँ कार्यसमिति आएपछि काम गर्न सजिलो वातावरण बनाउने भन्दै सामाजिक सञ्जालमार्फत कप्तान पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । क्यानमा भर्खरै नयाँ नेतृत्व आएकाले यस विषयमा क्यानले पारसले औपचारिक निर्णय नगराएकाले राजीनामा स्वीकृत गर्ने कुरै नआउने पनि स्रोतले जनाएको छ ।

पारसलाई पठाएको पत्रमा भनिएको छ, ‘तपाईँले कप्तान पदबाट राजीनामा दिएको कुरा हामीले सामाजिक सञ्जाल र मिडियाबाट थाहा पायौं, यसमा क्यानको गम्भीर ध्यानाकर्षण भएको छ, त्यसैले जतिसक्दो चाँडो यस विषयमा आफ्नो लिखित जवाफ दिनुहोला ।’ अहिले तिहार पर्व पनि सुरु भइसकेकाले तिहार पछि पारसले जवाफ पठाउने क्यानले अपेक्षा गरेको छ ।

अब क्यानको अर्को बैठक भने नोभेम्बर २० तारिख पछि मात्रै बस्ने पनि जनाइएको छ । क्यानलाई हालै मात्र आईसीसीले सशर्त निलम्बन फुकुवा गरेको हो । त्यसैले क्यान अहिले संक्रमणकालीन अवस्थाबाट गुज्रिएकाले आर्थिकलगायतका कार्ययोजना बनाउन आईसीसीका प्रतिनिधि आउन लागेका हुन् ।

प्रकाशित मिति: Oct 25, 2019

प्रतिक्रिया दिनुहोस्