Logo
११ बैशाख २०८१, मंगलबार
(October 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चर्चित गायक दुर्गेश थापा विवादमा, जरिवानासहित २ वर्ष जेल पर्न सक्ने

गायक तथा मोडलका रुपमा चिनिएका दुर्गेश थापा अहिले विवादमा परेका छन् । तीजको समयमा ‘बिच्च बिच्चमा’ बोलको गीत गाएर चर्चामा आएका उनी दशैँमा दीपक-दीपाको चलचित्रको लागि प्रोमोशन गीत गाएर चर्चामा आए ।

चलचित्र ‘छ माया छपक्कै’को प्रोमोशनल गीत गाएका दुर्गेशको दशैँकै समयमा एउटा तिहार गीत सार्वजनिक भयो । सामान्यतया तिहार गीत भन्नेबित्तिकै परम्परागत भेषभुषामा सजिएर कुनै गाउँको घरमा सुटिङ हुने देउसी-भैलो बुझिन्छ । तर, दुर्गेशले ‘ह्याप्पी तिहार’ बोलको गीत क्लबमा सुटिङ गरेका छन् भने वियरको प्रचारप्रसार गरेका छन् ।

यसरी तिहारमा वियर खाउँ भन्ने सन्देश दिएको भन्दै उनीमाथि कारवाही हुनसक्ने एक अधिवक्ताले बताएका छन् । अधिवक्त यज्ञमणि न्यौपानले एक अन्तर्वार्तामा उनीमाथि २ वर्षको जेल वा २० हजार रुपैयाँ जरिवाना वा दुवै सजायँ हुनसक्ने बताए ।

दुर्गेश थापको गीतले रक्सी, गाँजा, बियर सेवन गरेर तिहार मनाऔं भन्ने सन्देश दिएको अधिवक्ता न्यौपानेको तर्क छ । ‘दुर्गेश थापाको तिहार गीतले नेपाली सनातन धर्म र संस्कृतिमाथिको प्रहार गर्दै परम्परा र संस्कृतिमाथि धावा बोलेको छ,’ अधिवक्ता न्यौपाने भन्छन्, ‘यो एकदमै गलत हो, यस्ता गीतहरुलाई निरुत्साहित गर्नुपर्छ ।’

यस्तै उनले मदिराजन्य पदार्थको विज्ञापन सार्वजनिक हु्नु पनि गलत भएको उनको तर्क छ । दुर्गेशको गीतमा अर्ना बियरको खुलेआमा प्रचार गरिएको छ ।

अधिवक्ता न्यौपानेले यदि राज्यले गीत र सर्जकविरुद्ध कारवाही नगरे आफूले उनीविरुद्ध मुद्दा हाल्ने अवस्था आउनसक्ने बताए । ‘विचार अभिव्यक्तिको स्वतन्त्रता भन्दैमा सामाजिक शिष्टाचार र संस्कृतिमाथि प्रहार हुने शब्द प्रयोग गर्न पाइँदैन,’ उनले भने, ‘गाँजा र मादकपदार्थको प्रचारप्रसारको लागि कुनै कार्य गरेमा त्यो कानुनविपरित हुन्छ र यो कदमर दण्डनीय छ ।’

अधिवक्ता न्यौपानेले दुर्गेश थापा सच्चिने र गीतका शब्दहरु परिमार्जन गर्ने आशा राखेका छन् । यदि त्यसो नभएमा आफूले मुद्दा हाल्ने योजनामा न्यौपाने छन् ।

धर्ममाथिको प्रहार गरेको पुष्टि भएमा दुर्गेशमाथि २ वर्षको जेल र २० हजार रुपैयाँ जरिवानाको सजायँ हुने कानुनी व्यवस्था छ । यस्तै गाँजाजन्य पदार्थ खानको लागि प्रोत्साहित गरेमा १५ दिनको जेल सजायँ हुनसक्ने देवानी संहितमा उल्लेख गरिएको छ ।

अधिवक्ता न्यौपानले यसअघि नेपाल आइडलको पहिलो सिजनका विरुद्ध पनि मुद्दा दायर गरेका थिए । नेपाल आइडलको पहिलो सिजनमा दुई हप्तासम्म भोटिङ गर्ने व्यवस्था गरेपछि न्यौपानले एक हप्ताको मात्र भोटिङ गणना गर्नुपर्ने भन्दै मुद्दा दायर गरेका थिए । मुद्दाको विषयमा अदालतले न्यौपानेको पक्षमा फैसला गरेको थियो ।

प्रकाशित मिति: Oct 18, 2019

प्रतिक्रिया दिनुहोस्