Logo
७ बैशाख २०८१, शुक्रबार
(October 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गौतम बुद्ध विमानस्थलको निर्माणकार्य अन्तिम चरणमा, ८२ प्रतिशत काम सम्पन्न

भैरहवा : नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी काम भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । सन् २०२० देखि सञ्चालनमा ल्याउने गरी उक्त विमानस्थलको निर्माणकार्य तीव्र भइरहेको जनाइएको छ ।

विमानस्थलको भौतिक पूर्वाधार तर्फ ८२ प्रतिशत काम सम्पन्न भइसकेको छ । ३ किलोमिटर धावनमार्ग निर्माण सकिनुका साथै प्रशासनिक भवन पनि अन्तिम चरणमा पुगेको छ ।

मार्वल बिछ्याउने तथा टायल्स लगाउने काम भइरहेको छ । टर्मिनल भवनमा मार्वल, टायल, सीसीटिभी, एक्स-रे मेसिन जडानलगायत काम सुरु भइसकेको छ ।

आगमन तथा प्रस्थान भवनको छानो लगाउने काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थल सञ्चालनका लागि आवश्यक संरचना निर्माणअन्तर्गत भौतिक संरचना निर्माण अन्तिम अवस्थामा छ । टर्मिनल भवन फिनिसिङ र केही उपकरण जडानको काम भइरहेको छ ।

विशेष गरी उपकरण जडानको काम मात्र बाँकी रहेको आयोजना प्रमुख अधिकारीको बताए । उपकरण जडान भएपछि भौतिक प्रगती बढ्ने उनले बताए ।

पछिल्लो समय ओभरहेड ट्यांकी निर्माण, टर्मिनल भवनमा छानो लगाउने काम एकसाथ अगाडि बढाइएको छ । ‘अब स-साना काम मात्र बाँकी छ । सबै उपकरण नआएकाले उपकरण जडान कार्यलाई अगाडी बढाउने सकिएको छैन’, आयोजना प्रमुख अधिकारीले भने, ‘युरोपेली देश, अमेरीका तथा चीनबाट आउने उपकरण बाटोमै छ ।’ उपकरण आइपुगेपछि सम्भवतः सन् २०१९ डिसेम्बरसम्ममा विमानस्थलको काम सम्पन्न हुने अपेक्षा गरिएको छ ।

सबै काम सकेर नेपाल भ्रमण वर्ष २०२० को पहिलो त्रैमासिकसम्ममा विमानस्थल सञ्चालनमा ल्याउने गरी प्रयास भइरहेको आयोजनाले जनाएको छ । आयोजनाले जनाएअनुसार विमानस्थल सञ्चालनको लागि आवश्यक पर्ने अध्यागमन, क्वारेन्टाइन, भन्सार, मौसम शाखा, सुरक्षा निकायलगायतका पदाधिकारीसँग छलफल अगाडी बढाइएको छ ।

सरकारले २०१४ नोभेम्बरमा चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनसँग गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सम्झौता गरेको थियो । सम्झौताअनुसार सन् २०१७ डिसेम्बर ३१ सम्म विमानस्थलको आइसीपी एकअन्तर्गतका भौतिक पूर्वाधारको सबै काम सक्नुपर्ने थियो । तर, विभिन्न कारणले निर्माण कम्पनीले समयमा काम नसकेपछि सन् २०१९ को डिसेम्बरसम्ममा निर्माण कार्य सम्पन्न गर्ने गरी थप म्याद पाएको हो ।

प्रकाशित मिति: Oct 17, 2019

प्रतिक्रिया दिनुहोस्