Logo
१३ बैशाख २०८१, बिहीबार
(October 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

2G र 3G सिमलाई 4G बनाउन शुल्क नलाग्ने, २ सय एमबी डाटा बोनस

नेपाल टेलिकमले टुजी र थ्रीजी सिमकार्ड प्रयोग गरिरहेका ग्राहकलाई निःशुल्क फोरजी अपग्रेड गर्ने योजना ल्याएको छ। टेलिकमले काठमाडौं उपत्यका र पोखरामा फोरजी सेवा सुरु गरेको ३२ महिनापछि ३२ जिल्ला अर्थात् सातै प्रदेशको प्रतिनिधित्व हुनेगरी फोरजीको सेवा विस्तार गर्दै यस्तो योजना ल्याएको हो। फोरजी‍/एलटिई सिम परिवर्तन गर्दा अर्को सूचना नभए कुनै शूल्क नलाग्ने टेलिकले जनाएको छ।

ग्राहकले यसका लागि *४४४# डायल गरी सिम परिवर्तन गर्नुपर्ने वा नपर्ने थाहा पाउन सक्नेछन्। यसैगरी, टेलिकमले पहिलो पटक फोरजी/एलटिई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई २ दिनको समयावधि सहितको २ सय एमबी डाटा बोनसको रुपमा उपलब्ध गराइने भएको छ।

यो छुट पनि कम्पनीले अर्को सूचना प्रकाशित गरी सूचित नगरेसम्म जारी रहनेछ। हाल टुजी र थ्रिजी नेटवर्कमा सिम चलाइरहेका ग्राहकले *४४४# डायल गरी फोरजी नेटवर्कमा आबद्ध हुन सक्नेछन्।

टेलिकमको फोरजी/एलटिई नेटवर्क विस्तार परियोजना अन्तर्गत करिब ६५ लाख फोरजी ग्राहक थप हुने अनुमान छ। साथै टेलिकमले सेवा विस्तार गरेसँगै फोरजी सेवा लिनेको संख्या पनि बढेको जनाएको छ।

टेलिकमले गत माघमा फोरजी विस्तारका लागि उपकरण आपूर्तिकर्ता चिनियाँ कम्पनीहरूसँग सम्झौता टुंगो लागेपछि मात्र परियोजना अगाडि बढाएको थियो।

सम्झौता भएको आठ महिनापछि टेलिकमले पहिलो चरणमा बुधबार ५९ वटा साना तथा ठूला सहरमा यो सेवा सुरु गरेको हो। कूल १ सय ३३ वटा बिटिएस स्थापना गरेर विस्तारित योजनाको पहिलो चरणको औपचारिक कार्यक्रम गरेरै टेलिकमले सेवा सुरु भएको घोषणा गरेको थियो।

टेलिकमले सम्झौताअनुसार माघभित्रै देशभर फोरजी सेवा विस्तार गर्ने घोषणा बुधबार पनि दोहोर्‍याएको छ। कम्पनीले सातै प्रदेशमा फोरजी/एलटिई सेवाको शुभारम्भ गरेको अवसरमा फोरजी सेवा प्रयोग गर्ने ग्राहकहरुका लागि आकर्षक इन्टरनेट प्याकेज पनि प्रदान गर्ने निर्णय गरेको छ।

यसअघि नै मोबाइलका उपभोक्ताहरुलाई प्रदान गरिएका केही अल टाइम डाटा अफरमा शतप्रतिशत डाटा भोल्युम थप गरी साविकको मूल्यमै प्रदान गरिएको छ।

यसअघि जम्मा २५ रुपैयाँमा २ सय एमबी डाटा प्रदान गरिरहेकोमा फोरजी/एलटिई सेवाका ग्राहकहरुलाई सोही दरमा २०० एमबी थप गरी जम्मा ४०० एमबी डाटा उपलब्ध गराइनेछ। यो प्याकेज लिइएको २४ घण्टासम्मा प्रयोग गर्न सकिनेछ।

यसैगरी जम्मा १ सय रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सकिने हाल उपलब्ध भइरहेको ५०० एमबी डाटा प्याकेज फोरजी/एलटिईका सेवाग्राहीलाई थप ५०० एमबी डाटा बोनसस्वरुप प्राप्त हुनेछ। यसको प्रयोग ७ दिनसम्म गर्न सकिनेछ।

साथै २८ दिनसम्म प्रयोगमा ल्याउन सकिने २ सय ४० रुपैयाँमा उपलब्ध डेढ जिबी डाटा प्याकेज फोरजी एलटिई मोबाइल प्रयोगकर्तालाई सोही मूल्यमा ३ जिबी डाटासहित प्राप्त हुनेछ। यी तीनवटै डाटा प्याकेजहरु एनटी फोरजी/एलटिई अफरका रुपमा कम्पनीका फोरजी ग्राहकहरुले १५ असोज २०७६ देखि अर्को सूचना जारी नभएसम्म जारी रहनेछ।

प्रकाशित मिति: Oct 4, 2019

प्रतिक्रिया दिनुहोस्