Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुरधाँममा यस्तो छ, दशैं रौनककता (फोटो फिचर)

नेपालकै प्रसिद्ध धार्मिक शहर तथा प्रदेश २ को राजधानी जनकपुरमा यतिखेर बडादसैंको रौनक छाएको छ। जनकपुरको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरलगायत एक दर्जनभन्दा बढी स्थानमा शक्ति स्वरुपा दुर्गाको प्रतिमा निर्माण गरी श्रद्धा तथा उल्लासपूर्वक दसैं मनाइँदैछ।

प्रमुख शक्तिपीठ राजदेवी मन्दिरलाई बेहुली झैं सजाइएको छ भने प्रतिमा स्थापना गरी पूजा गरिने स्थानमा भव्य पण्डालको व्यवस्था गरिएको छ। राजा जनकका कूलदेवता भनिएको प्रसिद्ध राजदेवी मन्दिरमा फूलैफूलको गेट बनाई झिलिमिली बत्ती जडान गरिएको छ।

यस्तै, नगरको विभिन्न चोकमा दुर्गाको प्रतिमा बनाएर पूजापाठ गरिदैं छ। नेपालमै चर्चित रहेको जनकपुरको दुर्गा पूजा हेर्न पर्यटकको समेत घुइँचो देखिन थालिएको छ।

दुर्गा पूजा गरिने विभिन्न स्थानमा बिहानैदेखि श्रद्धालुको घुइँचो रहने गरेको छ। श्रद्धापूर्वक मनाइने दसैंको अवसरमा विशेषगरी महिलाहरूले एकाबिहानै शक्तिपीठहरूमा पुगेर पूजाअर्चना गर्ने गरेका छन्।

दसैंमा राममन्दिरसँगै रहेको राजदेवी मन्दिर, बौधी मन्दिर, अमरखाना मन्दिर आकर्षणको केन्द्र बने पनि जनकपुरको मुरलीचोकमा वर्षौंदेखि भगवतीको प्रतिमा बनाएर पुजा गरिँदै आएको छ भने भ्रमरपुरचोक, रामानन्दचोक रजौलमा समेत दुर्गाको प्रतिमा बनाएर पुजा गरिन्छ।

दैनिक २ हजारदेखि ३ हजारसम्म पर्यटक आउने जानकी मन्दिरमा दसैंका बेला झन् भीड बढेको देखिएको छ। जनकपुरका बासिन्दाहरू समेत पर्वको बेला घर आउँदा जनकपुर अहिले भरिभराउ देखिएको छ।

युवा क्लबको सक्रियता

जनकपुरमा दसैंलाई भव्यता प्रदान गर्न यहाँका युवा क्लबहरूबाट मात्र करिब १ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। दसैंको रमझम बढाउन यहाँका मुख्य–मुख्य युवा क्लबहरूको खर्च मात्र करिब १ करोड रुपैंयाँ पुग्ने अनुमान छ। प्रमुख शक्तिपीठ राजदेवी मन्दिरलाई आकर्षक र झकिझकाउ बनाउन महावीर युवा क्लबले  लाखौं रकम खर्च गरेको छ।

दशमीमा यसपालि रावण वधका साथै लंका दहन कार्यक्रमको समेत आयोजना गरिने क्लबका अध्यक्ष सन्तोष साहले बताए। पुजामा करिब २५ लाख रुपैंयाँ खर्च हुने उनले बताए। ‘देश विदेशका दर्शनार्थीलाई जनकपुरको विजयादशमीमा आकर्षित गर्न यति रकम खर्च गरिएको हो,’ उनले भने।

प्रतिष्ठित व्यापारीका साथै सदस्यता नवीकरण, चन्दा बोकाबली लगायतका स्रोतबाट रकम संकलन हुने गरेको साहले जानकारी दिए। बौद्धिमाई मन्दिर र अमरखाना माई मन्दिरको सजावट तथा पुजाको व्यवस्थापन गर्दै आएको राम युवा कमिटीले पनि मन्दिर सजावटमा लाखौँ रकम खर्चेको छ।

दर्शनार्थीलाई आकर्षित गर्न मन्दिर सरसजावटका लागि पुजामा करिब २५ लाख रुपैंया खर्च हुने क्लबका अध्यक्ष उपेन्द्र ठाकुरले बताए। सँगै क्लबले दर्शनार्थीका लागि निःशुल्क भोजनको समेत व्यवस्था गरेको छ।

अष्टमीको दिन बोकाबलीका लागि राजदेवी मन्दिरमा लाइनमा बसेका करिब २० हजार श्रद्धालुलाई राम युवा कमिटिले निःशुल्क भोजन गराउँदै आएको उनले बताए।

रामानन्द चोकमा दुर्गाको प्रतिमा स्थापना गरी भव्यताका साथ पूजाको आयोजना गर्दै आएको रमानन्द युवा क्लबले यसपालि पनि लाखौँ खर्च गरेको छ।

मूर्ति निर्माण, पंडाल, रंगीचंगी बल्बका साथै पुजापाठमा करिब १२/१४ लाख खर्च हुने क्लबका अध्यक्ष मनमोहन साहले बताए। यसका साथै जनकपुरको मुरली चोक, भ्रमरपुरा चोक, पिडडीया माइस्थान, रजौल लगायत क्षेत्रका युवा क्लब पनि दसैंको तयारीमा जुटेका छन्।

रजौलमा दुर्गा पुजा संरक्षण समितिले समेत लाखौं खर्च गरी मन्दिर झकिझकाउ बनाएका छन्। पुजामा करिब १० लाख रुपैयाँ खर्च हुने समितिले जनाएको छ। यसका अलावा चोक चोकमा समेत स-साना क्लबले लाखौं खर्च गरी जनकपुर झकझकाउ पारेका छन्।

 

प्रकाशित मिति: Oct 3, 2019

प्रतिक्रिया दिनुहोस्