Logo
October 3, 2019

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ज्येष्ठ नागरिकप्रति नेपाली समाज अनुदार

नेपाली समाज ज्येष्ठ नागरिकप्रति अनुदार रहेको गुनासो गरिएको छ ।“समाजका गहनाका रुपमा स्वीकार्नु गर्नुपर्ने ज्येष्ठ नागरिकप्रतिको सामाजिक भेद्भाव, परिवारको अपमानजनक व्यवहार र एकाङ्की जीवन कारुणिक हुने गरेको छ”, नेपालगञ्जका ज्येष्ठ नागरिक नारायण शर्माले भन्नुभयो ।

विसं २०६८ को जनगणना अनुसार बाँके जिल्लामा ३२ हजार ५०२ जना ज्येष्ठ नागरिक छन् । तीमध्ये पुरुष १६ हजार ११२ र महिला १५ हजार ७९१ जना छन् । यी ज्येष्ठ नागरिकमध्ये धेरैजसोले समाज र परिवारबाट सम्मान र संरक्षण पाउन सकेका छैनन् ।

नेपालगन्जस्थित सागर सेवा आश्रमका अध्यक्ष सरिता खनालको बुझाइमा बाबुआमाको सम्पत्तिमा गिद्देदृष्टि, छोराछोरी विदेशिनु, परिवारका सदस्यले ज्येष्ठ नागरिकको मनोदशा बुझ्न नसक्नु, राज्यको उपेक्षालगायतका कारणले ज्येष्ठ नागरिकप्रति नेपाली समाज सधैँ अनुदार र असहयोगी रहदै आएको छ । आधुनिकतासँगै अग्रजप्रति गर्नुपर्ने सामाजिक दायित्वसमेत खुम्चदै गएको हो कि भन्ने गुनासो पनि बढ्दै गएको छ ।

निम्न, मध्यम र उच्चवर्गका ज्येष्ठ नागरिकको पीडा उस्तै नै हुने गरेको बताउँदै अध्यक्ष खनालले भन्नुभयो,“यी सबै वर्गका ज्येष्ठ नागरिकले परिवारबाट पाउने सम्मानपाउन सकेका छैनन् । वर्गीय समस्या फरक भए पनि भोगाइ सबैको समान नै छन् ।”

सरकारले पनि ज्येष्ठ नागरिकलाई जति मात्रामा हेर्नुपर्ने हो त्यति हेर्न नसकेको बताउनुहुन्छ नेपालगञ्ज-१ धम्बोझी स्वावलम्बी ज्येष्ठ नागरिकसेवा समाजका उपाध्यक्ष लीलानाथ अधिकारी ।

राज्यले ज्येष्ठ नागरिकलाई सेवा सुविधा नदिएको होइन । सरकार स्थानीय तहले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, बजेट विनियोजन गर्ने, परिचयपत्र वितरण, ज्येष्ठ नागरिक भत्ता र स्वास्थ्य भत्ता वितरण गर्ने जस्ता काम गर्दैै आएका छन् ।

यसैगरी, ७० वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ्य बीमा, यातायात शुल्कमा छुटलागयतका सेवा पनि राज्यले प्रदान गर्दै आएको छ ।

“राज्यले ज्येष्ठ नागरिकलाई विभेद् गरेको छैन, नेपाली समाज नै ज्येष्ठ नागरिकमैत्री नभएकाले उनीहरुको जीवन कष्टकर हुने गरेको छ”, नेपालगञ्ज उपमहानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाहले भन्नुभयो ।

तर, राज्य तहवाट हुने यो सेवा, सुविधा पर्याप्त नभएको बताउनुहुन्छ स्वावलम्बी ज्येष्ठ नागरिक सेवा समाजका उपाध्यक्ष अधिकारी । उहाँको भनाइ छ, “परिवारबाट विभेदमा पारिएका ज्येष्ठ नागरिकको सबै दायित्व राज्यले ग्रहण गर्नुपर्छ ।”

प्रकाशित मिति: १६ आश्विन २०७६, बिहीबार १४:४८

प्रतिक्रिया दिनुहोस्