Logo
१३ बैशाख २०८१, बिहीबार
(September 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कपिलवस्तुका डिल्लीराम राज्यको उपेक्षाका कारण अनाहकमा भारतको जेलमा

दुब्लाएर सिट्ठो भएको ज्यान । महिनौं नकाटिएको दाह्रीकपाल । नाम : डिल्लीराम थारू (दिलु) । उमेर : २८ वर्ष । ठेगाना : पिपरा गाउँ, वाणगंगा नगरपालिका, कपिलवस्तु, नेपाल । तर करिब अढाई वर्षयता उनको ठेगाना फेरिएको छ-भारत, पन्जाब राज्यको अमृतसरस्थित केन्द्रीय जेल । नाम पनि परिवर्तन भएको छ-डिलराम तरु ।

निमुखा र आवाजविहीनहरूप्रति राज्यले गर्ने उपेक्षा तथा बेवास्ताको सिकार भएकाहरूका प्रतिनिधि पात्र हुन्, उनी । सरकारको जिम्मेवार निकायको गैरजिम्मेवारीपनका कारण नागरिकले कुन हदसम्म दुःख पाउन सक्छन् भन्ने कुराको उदाहरणसमेत हुन् उनी । पत्रकार रेशराज न्यौपानेले अमृतसर जेलमा गएर भेटेपछि उनले आफ्नो कथा-व्यथा सुनाए ।

भारतको अमृतसरस्थित केन्द्रीय जेलमा रहेका डिल्लीराम थारू।

यसरी परे उनी जेल
करिब साढे दुई वर्षअघिको कुरा हो । घरमा हातमुख जोर्न मुस्किल थियो । सम्पत्तिका नाममा एउटा सानो घर र त्यसले चर्चेको जग्गा मात्र । अरू दुई दाजु छुट्टभिन्न भइसकेका थिए । आमा, श्रीमती, दुई छोरी र बूढी हजुरआमाको जिम्मेवारी डिल्लीकै काँधमा थियो । बुबा २०५८ सालमै बितेका थिए ।

दाजुहरू धनीराम र मणिराम आआफ्नो इलम गर्थे । बेग्लै बस्थे । आमा र श्रीमती दुवै मजदुरी गर्थे । त्यसले पनि राम्ररी घरखर्च नचलेपछि डिल्लीले निर्णय गरे, रोजगारीका लागि फेरि एक पटक पन्जाबको चण्डीगढ जाने । यसअघि दुई पटक गरी करिब तीन महिना उनले चण्डीगढमै ‘वेटर’को काम गरेका थिए ।

घर छाड्ने दिन श्रीमती छोरी लिई माइती गएकी थिइन् । गाडी भाडा थिएन । त्यसैले उनले आफ्नो साइकल र श्रीमतीका दुई जोर पाउजु बोकी हिँडे । र, झोलामा आफ्नो नागरिकता र केही जोर लुगा हाले । साइकललाई सीमावर्ती बजार कृष्णनगरका आफन्त सन्तोष दाइको पसलमा १८ सय रुपैयाँमा बेचे । अनि त्यहीँबाट चण्डीगढका लागि बस चढे ।

यसअघि पनि आएको हुँदा चण्डीगढ उनका लागि नयाँ ठाउँ थिएन । उनी पहिले काम गरेकै ठाउँमा रोजगारी माग्न गए । तर साहुले काम छैन भनी फर्काइदिए । त्यसपछि एकजना चिनेका दाइलाई खोज्न निस्किए अटोरिक्सामा । तर राति भएकाले ती दाइ भेटिएनन् । अटोरिक्सा केही पर रोकिराखेका थिए, फर्किंदा उनको झोला लिएर त्यो भागिसकेछ ।

उनको परिचय खुलाउने नागरिकतासमेत त्यही झोलामा थियो, हरायो । ‘त्यसपछि मेरो होसै हरायो– के गर्ने, कहाँ जाने ?’ थारूले सुनाए । केही सीप नलागेपछि उनले घरै फर्किने सोचाइ बनाए । भाडा तिर्ने पूरा रकम पनि थिएन, रेलवे स्टेसन पुगेर रेल चढे । नेपाल फर्कन उनी चढ्नुपर्ने थियो अम्बालाको रेल, थाहा नपाएर अमृतसरको रेल चढेछन् । अर्को रात करिब ११ बजे अमृतसरमा झरे । जीउ भोकप्यास र थकाइले लखतरान थियो । स्टेसनबाट बाहिरिएपछि केही परसम्म हिँड्दै गए ।

करिब ६ सय मिटर पुगेपछि खपिनसक्नुभयो । सडकछेउ पल्टिन खोजे । उनी सैनिक छाउनी क्षेत्रमा पुगेछन् । ‘खै के–कसरी हो, म त केही बेरमा सेनाको क्षेत्रभित्र पसेछु,’ उनले भने, ‘पर्खाल जस्तो थियो, यसो नाघेर भित्र गएको सेनाको क्षेत्र पो रहेछ ।’ बिनाअनुमति सैनिक क्षेत्रमा प्रवेश गरेको भन्दै उनलाई तत्काल सेनाले पक्राउ गर्‍यो । केरकार गर्‍यो ।

उनले सबै कारण बताए । तर सेनाले पत्याएन । किनभने उनीसँग नाम र ठेगाना खुल्ने कुनै कागजात थिएन । प्रमाण देखाउन नसकेपछि त्यो रात उनलाई छाउनीमै राखियो । र, भोलिपल्ट प्रहरीको जिम्मा लगाइयो । त्यसपछि १५ दिन प्रहरी थानामा राखिएको उनले बताए । प्रहरीले उनीमाथि ‘फरेनर्स एक्ट’अन्तर्गत कारबाही अगाडि बढायो ।

उनको पक्षमा बहस–पैरवी गर्ने कोही भएन । २२ मे २०१७ मा स्थानीय अदालतले विदेशी नागरिकसम्बन्धी कानुनको हवाला दिँदै थारूलाई नौ महिनाको सजाय सुनायो । भारतमा शंकास्पद गतिविधिका आरोपित कुनै पनि विदेशी नागरिकले आफ्नो परिचय खुलाउन नसकेको अवस्थामा यस्तो मुद्दा चलाउने गरिन्छ ।

यता घरमा भने उनी जेल परेको खबर कसैले पाएन । उनले पनि केही सन्देश पठाउन पाएनन् । यत्तिकै नौ महिना बित्यो । जेल सजाय पूरा गरेपछि घर जान पाइन्छ भन्नेमा ढुक्क थिए । किनभने जेल परेकाहरू सजाय सकिएपछि आआफ्नो घर लागेको उनले देखेका थिए । अदालतको फैसलाअनुसार उनले २०१८ फेब्रुअरी अन्त्यमा कैद पूरा गरे ।

भारतीय कानुनमा विदेशी नागरिकलाई सम्बन्धित देशको दूतावासलाई नै जिम्मा लगाउनुपर्ने व्यवस्था छ । जेल प्रशासनले भारतको विदेश मन्त्रालयलाई नेपाल सरकारसँग पत्राचार गर्न अनुरोध गर्‍यो । त्यसैअनुसार २६ जुन २०१८ मा विदेश मन्त्रालयले नयाँदिल्लीस्थित नेपाली दूतावासलाई थारूको राष्ट्रियता र ठेगाना प्रमाणीकरणका लागि पत्र पठायो ।

तर नेपाली दूतावासले एक वर्षसम्म त्यसको पहल गरिदिएन, जसकारण उनले अनाहकमा जेलबस्नुपरेको हो । कैद भुक्तान भइसकेको हुँदा उनलाई जेलभित्रैको ‘ट्रान्जिट सेन्टर’ मा राखियो । सेन्टरमै बसेको पनि १६ महिना बितिसकेको छ । दूतावासले भने भारतीय विदेश मन्त्रालयको पत्रबारे अनभिज्ञता प्रकट गरेको छ । ‘एक वर्षअघिको पत्रबारे हामीलाई जानकारी छैन,’ दूतावासका प्रवक्ता हरि ओडारीले भने ।

त्यसैबीच अमृतसरकै गुरविन्दर कौरोले डिल्लीराम थारूलाई कहिल्यै नबिर्सने गुन लगाए । केही दिन जेल पर्दा कौरोले थारूलाई त्यहीं भेटेका थिए । कुराकानी हुँदा थारूले आफ्नो कथा–व्यथा सुनाए । ‘धेरै बोल्दैनथे, एक पटक कुराकानी हुँदा कागजपत्र केही छैन, के गर्ने होला भने ? त्यही बेला नै मैले बाहिर गएपछि केही गर्छु भनेको थिएँ,’ कौरोले कान्तिपुरसँग भने । तिनै कौरो जेलबाट छुटेपछि कपिलवस्तु नै पुगे ।

त्यहाँ पुगेर वाणगंगा नगरपालिका वडा नम्बर २ को कार्यालयमा गई थारूको अवस्थाबारे बेलिविस्तार लगाए । त्यसको केही दिनपछि गत फागुनमा एक छिमेकी रामलालको साथ लागेर उनकी आमा रीमा चौधरी छोरा भेट्न अमृतसर पुगिन् ।

आमाले पनि एक–दुई महिनाभित्रै लिन आउँछु भनिन् । ‘छोराले मलाई चाँडै निकाल्न भने । तर म एक्लैले के पो गर्न सक्थें र,’ घरमै रहेकी आमा रीमाले फोनमा कान्तिपुरसँग भनिन् । घर फर्केपछि छिमेकीलाई सबै बेलिविस्तार लगाइन् । कसैले पनि ठोस सहयोगको आश्वासन दिएनन् ।

अमृतसर गएका बेला उनलाई त्यहाँका वकिलले १० हजार भारु दिने हो भने छोरा छुटाइदिन्छु भनेका रहेछन् । तर उनीसँग त्यति पैसा कल्पनाबाहिरको कुरा थियो । ‘गाडी भाडा त खोजेर गएकी थिएँ, मसँग अरू पैसा कहाँबाट हुनु,’ उनले सुनाइन् । बिस्तारै डिल्लीराम थारूका विषयमा गाउँघरमा गाइँगुइँ चल्न थाल्यो ।

गृहजिल्ला भएकाले भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्यायले पनि थाहा पाए । खबर अमृतसरमा रहेका अखिल भारत नेपाली एकता मञ्चमा पुग्यो । त्यसका केन्द्रीय सदस्य राजु पौडेललगायत प्रवासी नेपालीले थारूलाई छुटाउन सक्रियता बढाए ।

पूर्वराजदूत उपाध्याय र प्रवासीहरूले नै थारूका विषयमा दिल्लीस्थित दूतावासलाई पुनःसूचित गरे । त्यसैबीच भारतको विदेश मन्त्रालयले नेपाली दूतावासलाई गत जुलाईमा दोस्रो पटक पत्र पनि लेख्यो । त्यसलाई पनि दूतावासले गम्भीरतापूर्वक लिएको छैन । ‘खै कस्तो लापरबाही हो, एउटा नेपालीले अनाहकमा दुःख पाउनुपर्‍यो,’ उपाध्यायले कान्तिपुरसँग भने ।

भारत सरकारले पत्राचार गरेपछि दूतावासले समयमै सूचना निकाल्नुपर्नेमा त्यसो हुन नसक्नु ‘गम्भीर लापरबाही’ भएको उनको भनाइ छ । उपाध्याय र प्रवासी नेपालीले ताकेता गरेपछि बल्ल गत ५ अगस्टमा दूतावासले काठमाडौंस्थित कन्सुलर विभागलाई थारूको नाम र ठेगाना प्रमाणित गरिदिन पत्राचार गर्‍यो । त्यसको पनि तीन साता बितिसक्यो, विभागले जवाफ पठाएको छैन । विभागले जवाफ नपठाए पनि दूतावासले सीधै वाणगंगा नगरपालिका र स्थानीय प्रहरीसँगको समन्वयमा आवश्यक कागजात मगाउन पहल गरिरहेको छ ।

डिल्लीराम थारूका फुपाजु गणेश थारूले आवश्यक कागजात जुटाइदिए । त्यसका लागि पनि उनले ठूलै सास्ती भोग्नुपर्‍यो । ‘नागरिकताको अभिलेख खोज्नसमेत सहयोग भएन । विधवा भत्ताका लागि वाणिज्य बैंकमा खाता खोल्दा राखेको डिल्लीको नागरिकताको प्रतिलिपिसमेत दिएनन्,’ गणेशले भने ।

नागरिकताको प्रतिलिपि नपाएपछि केही उपाय नलागेर वडाको सिफारिस र फोटो पठाइदिएको उनले बताए । ‘उनलाई सकेसम्म चाँडै घर फर्काउने प्रयास भइरहेको छ । सम्बन्धित जिल्लाबाट परिचय खुल्ने कागजात मागेर दूतावासबाट गर्नुपर्ने आवश्यक सहयोगका लागि पहल भइरहेको छ,’ दूतावासका प्रवक्ता ओडारीले भने । डिल्ली जेल परेपछि घरमा आर्थिक अवस्थामा सुधार भएन । केही नलागेपछि श्रीमती सीता दुई छोरी लिई काठमाडौं गइन् ।

उनी त्यहीँको एउटा अनाथ आश्रममा बस्छिन् । आश्रममा खाना पकाएर उनले गुजारा चलाएकी छन् । यसबारे जेलमा रहेका डिल्लीराम थारूलाई थाहा छैन । आफूलाई घर फिर्ता गराउन भइरहेको पहलबारे पनि थारू बेखबर छन् । उनी अझै अमृतसरको जेलमै छन् । पंक्तिकारले त्यहीं गएर उनीसँग कुरा गरेको थियो ।

आमा आएर गएको यतिका महिना भइसक्दासमेत बाहिर निस्कन नपाएपछि उनले जेलबाहिर निस्कने आस नै मारिसकेका रहेछन् । ‘अब सधैं यहीँ बस्नुपर्छ कि भन्ने लाग्न थालेको थियो, आस मर्दै गएको थियो,’ उनले कान्तिपुरसँग भने, ‘जीवनमा एउटा ठूलो हन्डर खाइयो । चाँडै घर जान पाए हुन्थ्यो । परिवारको निकै याद आइरहेको छ ।’

आमाछोराको मिलन गराएँ, त्यसमै खुसी छु : गुरविन्दर कौरो
प्रहरीसँग झगडा परेपछि केही दिनका लागि म जेल परेको थिएँ । त्यही बेला डिल्लीसँग भेट भयो । जेल एउटै भए पनि उनी र म बस्ने ठाउँ भिन्न थियो । बाहिर निस्कँदा देखभेट हुन्थ्यो । पछि कुराकानी पनि हुन थाल्यो । एक दिन उनले आफूसँग कुनै कागज नभएकाले जेल सजाय काटेर पनि घर जान नपाएको बताए । सुनेर मलाई निकै दुःख लाग्यो । बाहिर निस्केपछि केही गर्छु भनें । र जेलबाट निस्किएपछि म कपिलवस्तु गएँ । त्यहाँको नगरपालिकाको वडा कार्यालयमा गएर घटनाबारे सबै बेलिविस्तार लगाएँ । त्यसपछि एक जना छिमेकीलाई लिएर डिल्लीकी आमा अमृतसर आउनुभयो । यहाँ आएको बेला तीन दिनसम्म मेरै
घरमा बस्नुभयो । बल्लतल्ल उनीहरूबीच भेट भयो । बिछोड भएका आमाछोराको मिलन गराउन पाएकोमा म निकै खुसी छु । तर यस्तो दुःख कसैलाई नपरोस् ।

मन थाम्नै सकिनँ : रीमा चौधरी, डिल्लीकी आमा
गएको फागुनमा छोरा भेट्न भनेर अमृतसर गएकी थिएँ । जेलमै गएर भेटें । छोरासँग १५ मिनेट जति कुरा भयो । दुई वर्षपछि छोरालाई भेट्दा धेरै गाह्रो भयो । उसलाई भेट्नुभन्दा अघिल्लो दिन फोनमा कुराकानी भएको थियो । त्यति बेला त थाम्नै सकिनँ । निकै रोएँ । भेट पनि निकै मुस्किलले भएको थियो ।

भेटमा उसले श्रीमती र छोरीहरूबारेसोधेको थियो । निकै चिन्ता गर्दै थियो । मैले सबै ठीक छ भनें । गाउँमै छन् भनें । काठमाडौंमा आश्रममा बस्छन् भनिनँ । खेतीपाती केही छैन । मजदुरी गर्छु । ७० वर्षकी सासू पनि हुनुहुन्छ । यता नातिनीहरू पनि बुबा कहिले आउनुहुन्छ भनेर सोध्छन् । तर मसँग त्यसको केही जवाफ हुँदैन ।

अब बुबा नआएसम्म घर नआउने भनेर घुर्क्याउन थालेका छन् । कागजात नहुँदा छोराले निकै दुःख पायो । पहिले सरदारजीको हातमा पनि कागज पठाएकी थिएँ । पछि पनि तीन पटकसम्म कागज पठाएँ । तर पनि मानेन । एम्बेसीकै नै कागज चाहिन्छ भने । तर अब चाँडै छुट्छ कि भन्ने आस पलाएको छ । एम्बेसीले पनि सहयोग गरिरहेको छ भन्ने सुनेकी छु ।

#कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: Sep 3, 2019

प्रतिक्रिया दिनुहोस्