Logo
७ बैशाख २०८१, शुक्रबार
(September 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झरीले तरकारीको उत्पादन घट्यो, मुल्यमा दोब्बरले वृद्धि

सर्लाही : झरीले उत्पादन घटेपछि सर्लाहीमा तरकारीको मूल्य दोब्बरले वृद्घि भएको छ।

दुई साताको लामो झरीले किसानले लगाएको तरकारीको उत्पादन घटेपछि बजारमा आउने सबै खाले तरकारीको मूल्य दोब्बर भएको हो। केही दिनअघि भन्दा अहिले सबै तरकारीको भाउमा भारी वृद्धि भएको छ।

जिल्लाको सबै हाटबजारमा यतिखेर खुद्रा मूल्य खुर्सानी प्रतिकिलो २४० रुपैयाँ, फूलकाउली प्रतिकिलो २०० रुपैयाँ, बोडी प्रतिकिलो १३० रुपैयाँ, करेला प्रतिकिलो १०० रुपैयाँ, भिन्डी प्रतिकिलो ८५ रुपैयाँ, भान्टा प्रतिकिलो ७० रुपैयाँ, अन्य हरियो तरकारी सरदर ६० रुपैयाँमा बिक्री भइरहेको सोल्टीका तरकारी व्यापारी रामविश्वास महतो (कोइरी)ले बताए।

झरीका कारण तरकारीको उत्पादनमा कमी हुने भएकोले बजारमा स्थानीय तरकारी पर्याप्त नआउँदा मूल्य बढ्दै गएको व्यापारी कोइरीको भनाइ छ। उनका अनुसार उत्पादनमा कमी भएपछि दैनिकजसो तरकारी बेच्न ल्याउने किसानले समेत तरकारी नै ल्याएका छैनन्।

तरकारीको किनबेच हुने जिल्लाको लालबन्दीसहित नवलपुर, हरिवन, नयाँरोड, कर्मैया, सोल्टी, हरिपुर, बरहथवा, बयलवास, गोडैता मलंगवालगायत सबैजसो ग्रामीण बजारमा तरकारीको मूल्य बढेको उपभोक्ताले बताएका छन्।

स्थानीय स्तरबाट पर्याप्त तरकारी नआउँदा सर्लाहीबाट देशका विभिन्न स्थानमा निर्यात हुने तरकारीको परिमाणमा कमी आएको नवलपुर कृषि उपज बजार सञ्चालक समितिले जनाएको छ।

अन्य समयभन्दा चाडपर्वमा तरकारीको खपत बढी हुने भएकोले दशैंमा तरकारीको मूल्यमा अझ वृद्घि हुने सम्भावना रहेको व्यापारीहरू बताउँछन्।

प्रकाशित मिति: Sep 29, 2019

प्रतिक्रिया दिनुहोस्