Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गीत चोरेको भन्दै देउडा गायक नन्दकृष्ण विरुद्ध भोजराज भट्टलेले कानुनी उपचार खोज्ने

देउडा गायक भोजराज भट्टले अर्का गायक देउडा गायक नन्दकृष्ण जोशीविरुद्ध कानुनी उपचारमा जाने बताएका छन् । ‘बम्बै जाने रेल गाडीका पैया गुडनलाग्या’ बोलको गीतलाई नन्दकृष्णले आफूले रेकर्ड गराएको गलत प्रचार गरेको भन्दै भट्टले कानुनी उपचारमा जाने बताएका हुन् ।

भोजराज भट्टको ‘पैया गुडनलाग्या’ गीतलाई आफूले रेकर्ड गराएको दाबीसहित कार्यक्रममा अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा नन्दकृष्ण जोशीको आलोचना भइरहेको छ । धेरैले उनीमाथि गाली वर्षाएका छन् ।

आफ्नो गीतबारे कुप्रचार गरेको भन्दै गायक भट्टले पनि कानुनी उपचारमा जाने बताएका छन् । ‘श्रोताले अत्यधिक रुचाएको मेरो गीतलाई आफ्नो भन्ने नन्दकृष्णले नैतिकता गुमाएका छन्, गीतको इतिहास मेट्न खोज्ने उनीविरुद्ध म कानुनी उपचारमा जाँदैछु’, भट्टले भने ।

२०४६ सालमा रेडियो नेपालको फुलवारी कार्यक्रममा आफूले ‘पैया गुडनलाग्या’ गीत रेकर्ड गराएको गायक भट्टको भनाई छ । भट्टका बहुचर्चित गीतहरु मध्ये ‘पैया गुडनलाग्या’ सबैभन्दा धेरै रुचाइएको गीत हो ।

तर एपिवान टेलिभिजनको नेपाल लोक स्टार कार्यक्रममा अर्का गायक नन्दकृष्ण जोशीले उक्त गीत आफूले रेकर्ड गराएको दाबी मात्रै गरेनन् रेकर्डिङका क्रममा स्वर सम्राट नारायण गोपाल उक्त गीत सुनेर भावुक भएको जिकिर समेत गरे ।

‘यो गीत तालमा पनि छ, सुरमा पनि छ, र ठाडी भाकासँग पनि यसले मेल खान्छ, अलि भाग्न पनि खोज्छ, अत्यन्त विरह र वेदनाको गीत हो यो’, नन्दकृष्णले कार्यक्रममा भनेका छन् ।

उनले अघि भने, ‘२०४१ सालमा, अब कुरा गर्दा यो बढी कुरा गरे जस्तो होला, स्वर सम्राट नारायण गोपाल निकै भावुक बन्नुभएको थियो यो गीत मैले रेडियो नेपालमा रेकर्ड गर्दा खेरी, निकै भावुक, म पनि निकै भावुक बने ।’

यता गायक नन्दकृष्ण जोशीले पनि उक्त गीत भोजराज भट्टकै भएको स्वीकार गरेका छन्, तर लय भने आफ्नो रहेको उनको दाबी छ। ‘रेडियो नेपालमा मैले यस्तै लयमा गीत रेकर्ड गराएको थिएँ, त्यो गीत म्युजिक नेपालसँग सुरक्षित पनि होला’, तर ‘पैया गुडनलाग्या’ बोलको गीत भोजराज भट्टकै हो, यसमा दुई मत छैन, मेरो पुरानो गीतसँग लय भने मिल्छ’, जोशीले भने।

आफूले गाएको ‘अगाडि छन् रामचन्द्र पछाडि छन् सीता, मन भन्दो घरमै बसौँ कर्म भन्दो बिता’ बोलको गीतसँग पैया गुडनलाग्या बोलको गीतको लय मिल्ने जोशीको दाबी छ ।

उनले अगाडि भने, ‘लोकस्टार कार्यक्रमको रेकर्डिङका क्रममा आफूले उक्त गीतबारे बाँधेको भूमिका सम्पादन हुँदा काटिएछ, मैले भनेका सबै कुरा सुनाइएको भए विवाद हुन्थेन होला ।’

आफूले कार्यक्रममा भोजराज भट्टको नाम नलिएर गल्ती गरेको नन्दकृष्णले बताए। ‘मैले भोजराज भट्टको नाम लिएको भए मेरो कद घट्ने थिएन त्यसमा गल्ती भयो,’ जोशीले भने।

प्रकाशित मिति: Sep 29, 2019

प्रतिक्रिया दिनुहोस्