Logo
१५ चैत्र २०८०, बिहीबार
(September 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौँमा मनाइयो जनगणतन्त्र चीन स्थापनाको ७० औं वार्षिकोत्सव

काठमाडौँ :   नेपालको राजधानी काठमाडौँमा पनि जनवादी गणतन्त्र चीन स्थापनाको ७० औं वार्षिकोत्सव मनाइएको छ । चाइना कल्चर सेन्टर काठमाडौँले बिहीबार एक भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै ७० औं वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले नेपाली नागरिकको तर्फबाट जनवादी गणतन्त्र चीन स्थापनाको ७०औं वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गरे । नयाँ चीन स्थापना भएपछि गरिबी निवारणमा पाएको सफलता र अनुभव नेपालले पनि अवलम्बन गर्नुपर्ने उनले बताए ।

चीनको हुनान प्रान्त प्राचीन कला, संस्कृति र सभ्यतासँगै आधुनिक विकासमा अघि बढेकोले नेपालजस्तो बहुसांस्कृतिक देशले यो पनि अनुशरण गर्न योग्य रहेको उल्लेख गरे । यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि चिनिया राजदूत हौ यान्छीले नेपालमै मनाइएको ७० औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको विचार व्यक्त गरिन् ।

चिनिया कलाकारहरु नेपाल आएर र नेपालका कलाकारहरु चीनमा गएर कला प्रदर्शन गर्दा दुई देशबीच सांस्कृतिक आदानप्रदानमा ठूलो योगदान पुगेको उनले बताइन् । सांस्कृतिक र प्राकृतिक रुपमा धनी रहेको हुनान प्रान्तका कलाकारहरु यहाँ आएर प्रदर्शन गर्दा सिंगो हुनान नेपाल आएको अनुभव भएको उनले बताइन् ।

जनगणतन्त्र चीन स्थापनाको वार्षिकोत्सव लगत्तै नेपालमा पनि महान चाड दशैं आउने भएकोले दुवै पर्वको अवसरमा उनले शुभकामना व्यक्त गरिन् ।

हुनान प्रान्तका संस्कृति तथा पर्यटन विभागका अन्वेषक ख वेइ मियाओले जनगणतन्त्र चीन स्थापनाको ७० औं वार्षिकोत्सवका अवसरमा सम्पूर्ण नेपालीमा हुनानका नागरिकको तर्फबाट शुभकामना व्यक्त गरे । उनले नेपाल स्थित चिनिया सांस्कृतिक केन्द्रसँग मिलेर हुनान प्रान्तले संस्कृति आदानप्रदानका कार्यक्रम सुरु गरेको बताए ।

जनवादी गणतन्त्र चीनका महान नेता माओ जन्मेको ठाउँ भएको र सांस्कृतिक तथा प्राकृतिक रुपमा पनि समृद्ध प्रदेश भएकोले नेपालीहरुलाई हुनान घुम्न आउन उनले आग्रह पनि गरे । आर्मी अफिसर्स क्लबमा आयोजित भव्य कार्यक्रममा चीनको हुनान प्रान्तको कला, संस्कृति, लोकवाजासहितको सांस्कृतिक प्रस्तुती पनि देखाइएको थियो ।

हुनान सङ एण्ड डान्स थिएटर कम्पनी लिमिटेड र हुनान पपेट एण्ड स्याडो आर्ट प्रोटेक्सन एण्ड इनहेरिटेन्स सेन्टरका कलाकारहरुले विभिन्न किसिमका नृत्य, वाद्यवादन, कला तथा खेलकुद प्रदर्शन गरेका थिए । जसमा ‘ब्रिलियन्ट डान्स स्याओस्याङ’ नामक सामूहिक नृत्य, ‘ब्लोसम इन द इष्ट नामक समूह नृत्य, ‘लभ इन हुनान’ नामक सोलो बासुरी बादन, ‘हुक हुक अम्रेला’ नामक म्याओ जातिको सांस्कृतिक नृत्य, ‘द मुनलाइट फेरी’ नामक पोपेट शो, ‘ह्वाट द पिपा सेज’ र ‘गिभ यु अ रोज’ नामक पिपा नामक चिनिया पुरानो बाजाको सोलो वादन प्रस्तुति, ‘हुआयाओ वमन’ नामक नृत्य, ‘जस्मीन फ्लावर’ र ‘हर्स रेस’ नामक चिनिया पुरानो वाद्य यन्त्र अर्हुको सोलो वादन प्रस्तुति, ‘वेभिङ एण्ड सिङ्गिङ’ नामक थुच्या नामक आदिवासी जातिको परम्परागत नृत्यआदि प्रस्तुत गरिएको थियो ।

चिउ थाओउ नामक कलाकारले ‘स्काई रोड’ चिनिया गीत र ‘तिरिरी मुरली बज्यो…’ नेपाली गीत गाउँदा दर्शकहरुले हुटिङ गरेका थिए ।

यसैगरी ‘अल्टिमेट फुटबल’ नामक फुटबलको चामत्कारिक कला देखाउँदा र ‘फेस चेन्जिङ’ कला देखाउँदा दर्शक आश्चर्य चकित बनेका थिए । सो कार्यक्रमलाई हुनान पर्फर्मिङ आर्ट ग्रुपले आयोजना गरेको हो । कार्यक्रमलाई नेपाल स्थित चाइना कल्चर सेन्टर र हुनान प्रान्तको संस्कृति तथा पर्यटन विभागले संयुक्त रुपमा प्रायोजन गरेका हुन् ।

प्रकाशित मिति: Sep 27, 2019

प्रतिक्रिया दिनुहोस्