Logo
८ बैशाख २०८१, शनिबार
(September 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ को राजधानी जनकपुरमा एकाबिहानै गोली चल्यो, चार जना पक्राउ

प्रदेश २ को राजधानी जनकपुर स्थित प्रहरीले गोली चलाउँदै डकैती गर्ने एक गिरोहलाई पक्राउ गरेको छ । उपमहानगरपालिकाको मूलगेटमै रहेको एउटा पसलमा सटर फुटाएर डकैती गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

जनकपुर उपमहानगरपालिकाको मूलद्वारसँगै टाँसिएर रहेको जनकपुर फर्निसिङको सटर फुटाएर भित्र पसेका डाँकालाई गोली हानेर प्रहरीले पक्राउ गरेको हो । आज बिहीबार बिहान करिब साढे तीन बजे तिनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा रौतहटको गौर घर भई जनकपुरधाम –४ मा डेरा गरी बस्ने ५५ वर्षीय विनोद सिंह, रौतहटकै वृन्दावन नगरपालिका –१ रमौलीका ३५ वर्षीय गगनदेव पटेल, भारत बिहारस्थित सीतामढी जिल्ला बैरगनीया –७ का ३९ वर्षीय ओजिर अन्सारी र सीतामढी जिल्लाकै रिगा थाना पिपराढी ग्रामपञ्चायत घर भई जनकपुरधाम –४ मा डेरा गरी बस्ने ४० वर्षीय इलियास राइन छन् ।

सिंहलाई गोली लागेको छ । उनलाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले ३ राउण्ड गोली फायर गरेको छ ।
ग्रामीण क्षेत्रमा गस्ती गरी जिल्ला प्रहरी कार्यालय फर्किरहेको सादा पोसाकमा रहेको प्रहरी टोलीले डाकालाई समातेको हो ।

बिहान करिब साढे तीन बजे उपमहानगरपालिकाको कार्यालय गेट अगाडि सटर दुई फिटजति उठेको र भित्र बत्ती बलिरहेको देखेपछि प्रहरीले गाडी रोकेको थियो ।

मान्छे आएको थाहा पाउने बित्तिकै सटरभित्रबाट चार जना निस्केर दुई जना शिव चोकतर्फ र दुई जना भानु चोकतर्फ भागेका थिए । प्रहरीले लखेट्न सुरु गरेपछि दुई जना जनकपुर उद्योग वाणिज्य संघको कार्यालयतर्फ भागे ।

सो कार्यालयको मोडमा पुगेपछि एउटाले प्रहरीलाई पेस्तोलले ताकेपछि प्रहरीले गोली चलाएको थियो । जिल्ला प्रहरी कार्यालय, क्राइम ब्रान्चका इन्चार्ज सई सन्तोष झाको कमाण्डमा रहेको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

झाले भने, ‘मलाई नै पेस्तोलले ताकेपछि सुरुमा एक राउण्ड हवाइ फायर गरें । फेरी उसले निसाना बनाउन थालेको देखेपछि तीन राउण्ड गोली चलाएको हुँ ।

सबै गोली ती चोरको घुँडा आसपासमा लागेको छ ।’ त्यसतर्फ गोली लागेर घाइते भएका विनोद सिंहसमेत दुई जनालाई त्यही पक्राउ गरियो भने अर्को दुई जनालाई लखेटेरै पुलचोकबाट पक्राउ गरी ल्याइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Sep 26, 2019

प्रतिक्रिया दिनुहोस्